इमानदार कामदार

निबन्ध

इमानदार कामदार

लकडाउन, निषेधाज्ञा, कोरोना महामारीको चपेटामा परेपछि ऋण र बेरोजगारीले निम्न मध्यम वर्गका प्रायः सबैलाई थिल्थिल्याएर आर्थिक रूपमा जर्जर बनाइसकेको छ । झन् मजस्तो दैनिक काम गरेर मात्र हातमुख जोड्न सक्नेको अवस्थाका कस्तो होला ? खासमा निम्न मध्यम वर्गका नागरिकसँग केही हुँदैन तर उनीहरूले सबैथोक भएको महसुस गर्दा रहेछन् । त्यही वर्गको एउटा सदस्य भएकोले म र मेरो परिवार फरक हुने कुरै भएन । यथार्थतः समस्या र समाधानको मेलजोल गराउन असमर्थ नै भइयो भन्दा फरक पर्दैन । बैंकको खाता नम्बर त छ तर खातामा पैसो भने छैन । लकडाउनभन्दा अगाडि गरेको केही कामको पारिश्रमिक र केही साथीभाइलाई बेलाबखत चलाएको सरसापटको रकम मागेर भए पनि गर्जाे टार्ने जमर्काे गरेँ । आखिर जेजस्तो भए पनि जीवनको रथ अगाडि गुडाउनु नै पर्ने रहेछ ! अपेक्षितहरूबाट मेरोभन्दा खराब अवस्था दर्शाएपछि के पो लाग्दो रहेछ र ! अन्ततः तेरा लागि जस्तो सहयोग पनि गर्न तयार छु भन्ने अलि उपल्लो वर्गमा पुगेका साथी र आफन्तहरूसँग ऋण लिने विचार गरेँ । अवस्था सहज नहुन्जेल त हो ! फेरि यो पनि सम्भावनाको कुरा न हो । कोरोना कहर सकिनेबित्तिकै पुनः काममा सहजता आउने र ऋण तिर्न कठिन नहुने कुरामा म ढुक्क थिएँ । परिस्थितिमा ‘खोला तर्यो, लौरो फाल्यो’ उखान लागु भइसकेको रहेछ । सम्झन सकेजति धेरैलाई फोन गरेँ । कतिले फोन उठाएनन्, उठाउनेले मेरो भन्दा दयनीय अवस्था बताए । हैट, कतिले त मेरो नम्बर नै ब्लक गरेछन् ! अब ऋण लिने कुराको अध्याय पनि समाप्त भयो । अथवा यसो भनौँ, ऋण लिएर तत्कालीन समस्या समाधान गर्ने योजना बन्दाबन्दै मर्यो । अनि त्यसपछि राहत मागेरै भए पनि हातमुख त जोड्नैपर्ने बाध्यतामा पुगेको जस्तो आभास भयो । सबैले चपाउने दाँत कमजोर भए पनि देखिने दाँत बलियो नै देखिरहेको महसुस गरेँ । राहत लिन जाने योग्यता नै नपुगेको आभास भइरह्यो । राहतको कल्पनामा आहतको राँको झन् बढेको महसुस भयो । राहत माग्न जान पनि सकिनँ ।

अभावै अभावका बिच मभन्दा पनि तन्नम अवस्था रहेको अभिव्यक्ति दर्शाएर घरबेटीले गरेको ताकेताले झन् तनावमाथि तनाव थपिन थाल्यो । पेन्टिङ र डिजाइनको काम कोरोना कहरका कारण लगभग ठप्प नै भइसकेको थियो । आफ्नै वर्गसँग मेल खाने साथीभाइले यो अवस्थामा कुनै पनि काम गराउन सक्ने अवस्था नै रहेन । अलि उपल्लो वर्गमा पुगिसकेका साथीभाइ र सानोभन्दा सानो कामका लागि पनि मलाई नै सम्झनेहरूको वर्ग फेरिएसँगै हाउभाउ र व्यवहारमा परिवर्तन आइसकेको रहेछ, जुन कुराको भेउसम्म पाउन सकेको रहेनछु । ऊनीहरूको अभिव्यक्तिबाट मजस्ताको सामान्य मान्छेको सामान्य कार्यालयमा बसेर काम गराउनु पनि आफ्नो इज्जतको दोहन गर्नु हो भन्ने मानसिकता बनाएको आभास हुन थाल्यो । उनीहरू बिगहाउसतिरै धाउन थाले, जहाँ एकाध वर्षयता भीड दिनानुदिन बढ्दो छ ।

फेरि पनि समस्या त समस्या नै हो र थियो । जसरी भए पनि समाधान त खोज्नैपथ्र्यो । अब सानोतिनो जेजस्तो काम भेटिए पनि गर्नैप¥यो भन्ने मानसिकता बनाएर कामको खोजीमा लागेँ । प्रायःजसो कामदाताहरूले आफ्ना श्रमिक र कर्मचारीहरूलाई विभिन्न बहाना बनाएर निकालिरहेको अवस्थामा मैले चैँ काम पाउने कुरा आठौँ आश्चर्य हुन्थ्यो नै । मान्छेको जात न हो, सास रहेसम्म आश रहन्छ, म कामको खोजीमा लागिरहेँ । यस्तै एकदिन बाटोमा भौँतारिरहेको थिएँ । डिल्लीबजारमा बिजुलीका खम्बाहरूमा टाँसेको ‘इमानदार कामदार चाहियो’ फोन नम्बरसहितको विज्ञापनमा आँखा ठोकियो । ‘डुब्तेको तिन्केका सहारा’ भन्ने हिन्दी उखान सम्झेँ । यो मन पनि कस्तो कस्तो ! यसले साँच्चै नै मलाई अलिकति भए पनि सहारा दिए जस्तो लाग्यो । केहीबेर मेरो मन त्यही खम्बा वरिपरि अलमलियो । कता–कता त्यो खम्बाप्रति स्नेह जागृत भए जस्तो भयो । अनि मनलाई आनन्दित बनाउँदै विज्ञापनमा लेखिएको फोन नम्बरमा डायल गरेँ । फोन उठेन । पटक–पटक डायल गरे फेरि पनि फोन उठेन । फोन नउठेपछि सोचेँ, सायद कामदार राखिसके होलान्, त्यसैले फोन नउठाएका होलान् ! झल्याँस्स सम्झेँ, आज शनिबार पो त ! तिर्खातुरलाई केको बार र महिना । भोलि आइतबार आउनु नै थियो । त्यो आइतबारको फेरोमा काम पाउने झिनो आशाको टुसो पलाएर आयो । सन्तोक मान्दै मनन् गरेँ, यो मेरो लायकको काम हुनुपर्छ ! मैले काम पाएँ भने शनिबार त बिदा पाइने रहेछ । शनिबार बिदा पाउने कुरो सम्झिँदा नै मन आनन्दित भएर आयो । भोलि फस्टआवरमै फोन गरेर कामको बारेमा बुझ्ने र काम पाइयो भने सुरु गरिहाल्ने सोच बनाएँ ।

तर पनि मनमा कुरा खेलिरह्यो । सोच्न थालेँ, काम त पाइएला तर काम कस्तो हो ! मैले गर्न सकूँला कि नसकूँला ! महिनावारीमा राख्ने हुन् कि ज्यालादारीमा ! ज्यालादारीमा भए दैनिक कति देलान्, महिनावारीमा भए महिनाको कति आऊला । मेरो महिना दिनको खर्च धानिएला कि नधानिएला । साहु कस्ता छन, समयमा तलव दिने हुन कि हैनन् ! महिनाभरि काम गरेर तलवका लागि फेरि थोत्रेजुत्ता त घिसाउनुपर्ने पो हो कि !

मनै त हो, चाहिने–नचाहिने तर्क–वितर्क आइरहने । फेरि विज्ञापन नियालेर हेरेँ, उही लेखिएको थियो, ‘इमानदार कामदार चाहियो ।’ अठोट गरेँ, एकपटक फोन चैँ पक्कै गर्छु । फेरि सोच्न थालेँ, इमानदार कस्तो हुन्छ ? इमानदार कस्तालाई भन्ने ? कोप्रति इमानदार हुने ? राजनीतिक पार्टीप्रति, काम लगाउने साहुप्रति वा आफ्नो परिवारप्रति कि आफूप्रति ! हैट, आफैँले आफैँलाई ओइरो प्रश्न पो लगाए जस्तो भयो त !

आफू र आफ्नो परिवारप्रति त म इमानदार जँचिन सकेकै छैन भने कसरी अन्यका लागि इमानदार हुन सक्छु ! अरूले आराम र मनोरञ्जनमा समय कटाइरहँदा म भने आफूलाई हातमुख जोड्न र परिवारको झिना–मसिना आवश्यकता पूरा गर्न १८ घन्टा त आफैँलाई घोटाइरहन्छु, खटाइरहन्छु । आफ्नो र परिवारको सानोभन्दा सानो आवश्यकता पूरा गराउन नसक्ने म कसरी इमानदार हुन सक्छु ? अब आफूप्रति नै शङ्का उत्पन्न भयो ।

अहिलेसम्म इमानदारीपूर्वक सबैले काम गरेका भए हाम्रो देशको अवस्था यति निम्न हुन्थ्यो र ! दुईचार दिन काम गर्न नपाउँदैमा निम्न वर्गका मजदुरहरू भोकभोकै मर्नुपर्ने थिएन होला ! हामीले आदर्श मानेका सबै नेतागणहरूले इमानदारीपूर्वक भूमिका निभाएका छन् त !? हामीले विश्वास गरेका र आदर्श मानेका कैयौँ नेता, सङ्घ–संस्थाको नेतृत्वमा रहेका वरिष्ठ व्यक्तित्व र उपल्लो दर्जाका कर्मचारीहरूको इमानदारितालाई हेर्ने हो भने ‘इमानदार’ भन्ने शब्दको सही अर्थ खुट्याउन निकै गाह्रो पर्छ ।

निर्वाचनअगाडि नेता र तिनका आसेपासे, हुक्के, चिलिमे, नाता–गोता, नजिकका कार्यकर्ता भनिएकाहरूको सामान्य अवस्था कसैका सामु लुकेको हुँदैन । जनताको मत पाएर निर्वाचनमा विजयी भएपछि तिनीहरूको अवस्था पूर्णरूपमा फेरिन्छ । अझ भनौँ, मन्त्री भएपछि तिनको शान, हैकम र तिनले प्राप्त गर्ने तलवभत्ता अनि तिनीहरूले लगानी गरेका विभिन्न आम्दानीका स्रोततिर दृष्टि लगायो भने पनि इमानदारिताको परिचय स्पस्ट देखिन्छ । त्यस्तै, संस्थान र सरकारी कार्यालयका खरदार, सुब्बालगायत सामान्य कर्मचारीहरूको तामझाम र टोपी खस्ने आलिसान महल हेरेर नै उनीहरूका हाकिमहरूको पनि इमानदारिता बुझ्न गाह्रो पर्दैन ।

धेरैअघिका कुरा त यो जाबोले के भ्याउँथ्यो र ! तैपनि सुनेका, देखेका र भोगेका केही घटनाहरूमा इमानदारिता खोज्न थालेँ । महाकाली सन्धिमा निहुरिएको मुन्टोदेखि कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको चुच्चेनक्साको सवालमा बाघको गर्जनभित्रको म्याउ र अयोध्याको रोदन पनि देखियो । राष्ट्रको ढुकुटी दोहन गराएर अरबौँको पाठ्यपुस्तक छपाउने र रछ्यानमा फ्याकेर राष्ट्रवादी दरिएको पनि देखियो । भ्रष्ट्राचारीको अनुहारै नहेर्ने तर काखैमा सुताएर संरक्षण गर्दै इमानदारलाई पाखा लगाएको पनि त देखियो । धमिजादेखि वाईडबडी, मेलम्ची, यति, ओम्नी, बालुवाटार, सेक्युरिटी प्रेसलगायत विभिन्न राष्ट्रिय लगानीका ठेक्कापट्टाभित्रको चलखेल र कमिसन पनि देखियो । अनि देखियो, मदन भण्डारी र दरबार हत्याकाण्डका हत्यारा पत्ता लगाउने सवालमा देखाएको बेवास्ता पनि । जनयुद्धका सहिद, बेपत्ता योद्धा परिवार र घाइते योद्धाको व्यवस्थापनमा होस् या कुमार पौडेलको हत्याभित्र लुकेको इमानदारिता पनि देखियो । संविधानको धज्जी उडाउँदै आस्थामा लगाएको प्रतिबन्ध पनि देखियो । कवि, लेखक, कलाकारलगायत सामान्य जनतालाई बिनाकारण गिरफ्तार गरेर थुन्ने र आस्था परिवर्तन गराउन दिइएको दबाब पनि देखियो । उपचार गराइरहेका सामान्य नागरिकलाई अस्पतालको शय्याबाटै गिरफ्तार गरी विभिन्न झुटा मुद्दा लगाएर न्यायालयले दिएको आदेशको अवहेलना गर्दै जिल्ला–जिल्ला दौडाउने र मानव अधिकारको पूर्ण उल्लङ्घनको कुरूप दृश्य पनि त देखिएकै छ । कोरोना महामारीका विरुद्ध जनताले देखाएको सजगता र हुट्हुटीलाई एकातिर पन्छाएर सरकारमा रहेकाको छलकपट र कमाउधन्दामा राम्रै ‘इमानदारिता’ छ्याङछ्याङ्क्ति देखिएकै छ ।

न मैले राजनीतिक पार्टी बुझ्न सकेँ, न राजनीतिक पार्टीहरूले मलाई बुझ्न सके, न त मैले राजनीति नै बुझेँ । राजनीतिज्ञहरूको दाउपेच झन् कता हो कता ! सायद नेताले अह्राएको हरेक राम्रा–नराम्रा सबै कामको चुपचाप समर्थन गर्नु, भ्रष्टाचारलाई समृद्धि ठान्नु, नेताका कटुवचनलाई आशीर्वाद मान्नु नै इमानदारी त होला ! यहाँ नेता र पार्टीगत स्वार्थलाई नै उपलब्धि मान्न सके राजनीतिमा इमानदार भइने रहेछ । आजको जमानामा खराबलाई खराब भन्ने कसरी इमानदार हुन सक्छ ! राजनीतिमा इमानदार हुनका लागि ‘हो’, ‘छ’, ‘हुन्छ’, ‘हस्’ भन्दा अरू शब्द बिर्सिदिन सक्नुपर्ने रहेछ ! तर के गर्नु नचाहँदा–नचाहँदै पनि मुखबाट ‘होइन’, ‘छैन’, ‘हुँदैन’ फुत्किहाल्छ । मलाई पक्का विश्वास भयो, म राजनीतिक पार्टी र नेताहरूका लागि इमानदार हुनै सक्दिनँ ।

काम पाउने आसामा खुसी हुनुको साटो म के–के हो के–के पो सोच्न थालेछु । अनि आफैँदेखि रिस उठेर आयो । बूढापाकाले भन्ने गरेको सम्झेँ, कुनै पनि कार्य गर्नुअघि सकारात्मक सोच बनाएर अघि बढ्यो भने काम पक्का बन्छ । यो कुरा मलाई सही लाग्यो । नानाथरी नसोची काम कसरी हात पार्ने, त्यहीबारेमा मनन् गर्न थालेँ । पढाइ कति चाहिने हो, अनुभव पनि त खोज्लान्, कस्तो काम होला ! विज्ञापनमा नै सबै खुलाइदिएको भए पनि त हुन्थ्यो ? मनले पटक्कै माने पो, काम त चाहिएकै छ । यो काम जसरी भए पनि हात पार्नैपर्छ ! पुनः फोन गरेँ ! घन्टी गयो, नेपाल टेलिकमले कोरोनासम्बन्धी जनहितको सन्देश सुनाइरह्यो तर फोन उठेन । शनिबार भनेर थाहा पाउँदा पाउँदै पुनः किन फोन गर्नू, आफैँलाई धिक्कारेँ ।

विज्ञापनमा इमानदार कामदार चाहियो भनेको छ । इमानदार नहुने हो भने काम कहाँ पाइन्छ र ! इमानदार त हुनैपर्छ । इमानदार भएर नै काम गर्ने अठोट गरेँ । हुन त म कहिले पो बेइमानी थिएँ र ! आफैँसित गन्थन–मन्थन गर्दै योजना बनाएँ, भोलि कार्यालय खुल्नेबित्तिकै फोन गर्छु, कार्यालयमा नै गएर चिप्लोचाप्लो घसेरै भए पनि काम हात पार्छु र साहुले अह्राएको काम इमानदारीपूर्वक गर्छु ।

फेरि पनि ढुक्क हुन कहाँ सकिन्थ्यो र ! साहुले केका लागि कामदार खोजेका हुन् ? कस्तो काम लगाऊलान् ! राम्रो काम अह्राए त ठिकै छ, खराब काम अह्राए भने के गर्ने ! साहुजीलाई त मेरो माध्यमबाट पैसा कमाउनु छ । उनले त जस्तो पनि काम लगाउन सक्छन् । बदनामी र सङ्कट त मलाई आइपर्छ । म चाहेर पनि उनले अह्राएको खराब काम गर्न सक्दिनँ । साहुले अह्राएको काम नगरेपछि म कसरी इमानदार हुन सक्छु !

म आफूलाई इमानदार नै छु जस्तो लाग्थ्यो । के म इमानदार छु त ? अहिलेसम्म इमानदारीपूर्वक नै सबै काम गरेँ त ! आफैँमाथि शङ्का लागेर आयो । इमानदार केलाई भन्ने ? मैले कुनै अनुचित कार्य त गरेको छैन र गराएको पनि छैन । तर, उचित कार्य गराउन पनि कर्मचारीहरूलाई टेबुलमुनिबाट पैसा दिएको छु । आफूले गरेको मिहिनेतको पारिश्रमिक लिँदा सम्बन्धित कार्यालयका कर्मचारी र बिचौलियालाई कमिसन नदिई पारिश्रमिक नआउने भएपछि केही रकम छुट्याएर दिनुपरेको तितो यथार्थ धेरैपटक व्यहोरेको छु । कुनै गैर–कानुनी काम नगरे पनि घुस र कमिसन दिने मान्छे कसरी इमानदार हुन सक्छ ? अनि खासमा म आफैँप्रति शङ्का लागेर आयो । म कसरी इमानदार हुन सक्छु । यदि म इमानदार हुँदो हु त मैले नगरेको कामको अपजस र नगरेको अपराधको सजाय पाउँथेँ त !? म देश, जनता र समाजप्रति गद्दारी गर्न सक्दिनँ । आफ्नो आस्थालाई बन्धकी राखेर छलकपट, बेइमानी गर्न र झुटो बोल्न पनि सक्दिनँ, त्यसैले उनीहरूका लागि म इमानदार हुनै सक्दिनँ । अहिले चलिआएको राज्यव्यवस्था, यहाँका ठुला–ठुला राजनीतिक पार्टी र कामदाताहरूको हाँमा हाँ मिलाउँदै मुन्टो निहुर्याएर काम पाउने इच्छा ममा रहेन । सोच्दा–सोच्दै अब मैले काम नपाउने पक्काजस्तै भयो । खम्बामा टाँसिएको विज्ञापनलाई पुरै बिर्सिने निधो गरेर इमानदार कामदाताको खोजीमा लागेँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :