नयाँ क्रमभङ्गको आवश्यकता

नयाँ क्रमभङ्गको आवश्यकता

फाल्गुन ८ गते नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले निकालेको ३८ शब्दले बनेको दुई वाक्यको वक्तव्यले नेपालको राजनीतिमा फेरि अर्को तरङ्ग उत्पन्न भएको छ । गत पौष ५ गते केपी सरकारले संसदीय व्यवस्थाको प्रतिनिधिसभा भङ्ग गरेपछि उद्येलित राजनीति संसदिय गालीगलौज, आग्रह र प्रतिशोधमा अल्मल्याउने प्रयत्न भने जारी नै छ । उज्यालो भविष्यको खोजिमा संघर्षमा हेलिन तयार हुदै गरेको नेपाली समाजलाई संसद पुनस्थापना कि चुनाव भनेर विभक्त गराउने कोसिस भइरहेको बेला आएको विप्लवको वक्तव्यले राजनीतिक जगतमा बहुआयामिक प्रभाव देखिएको छ । तथापी सर्वोच्च अदालतले फाल्गुन ११ गते संसद पुनस्थापन गरेपछि संसदीय सरकार गठनको जोडघटाउमा जनतालाई भुलाउने अर्को प्रयत्न सुरु भएको छ ।

साविकमा चलिरहेको व्यवस्थाले जनताको जीवन नबदलिएपछि समाजमा नयाँ विकल्पको बहस जोडताडेले चल्ने गर्दछ । समाजिक अन्तरविरोधहरुको हल गर्ने नारा र नेतृत्व समाजले निरन्तर खोजि नै रहन्छ । गतिशिल समाजको अग्रगामी नारा र ऐजेण्डाले मात्र नागरिकहरुलाई एकिकृत गरेर आन्दोलनमा सरिक बनाउँछ । समयक्रमले मागेका नारा बोकेर संघर्षमा हेलिन जोखिम मोल्न तयार हुने राजनैतिक नेतृत्व र पार्टीले मात्र अग्रगमनको रथ हाक्न सक्छ ।

संकटको मूल जरो

नेपाली समाज आर्थिक, सामाजिक सांस्कृतिक विभेदले सृजना गरेका अनेकौं समस्यासँग लगातार जुधिरहेको छ । ७० वर्षको नेपालको लोकतान्त्रिक आन्दोलनले राजनैतिक व्यवस्थामा फेरबदल गरेपनि केहि राजनैतिक अगुवाहरुको जीवन बदल्यो तर कुनै पनि तन्त्रमा जनताको जीवन बदलिएन । २००७ सालको जनक्रान्तिमा सामन्त जमिन्दार वर्गसँग गरिएको अनुचित सम्झौताले गर्दा कांग्रेसका नेता विपि कोइरालाले सामन्त जमिन्दारको विरोध गर्दागदै पनि पार्टीमा सामन्त जमिन्दारहरुले नै प्रभुत्व कायम गर्दै गएपछि पार्टी तिनै वर्गको हिस्सेदारीमा चल्न थाल्यो । विपीको प्रजातान्त्रिक समाजवाद सामन्त जमिन्दारको कब्जामा पुग्यो । ७० वर्षको यो कालखण्डमा कांग्रेस धेरै पटक सत्तासिन भएको छ । जनताका लागि विपीले प्रस्ताव गरेको प्रजातान्त्रिक समाजवाद कांग्रेसले अवलम्बन गरेको नवउदारवादी विचारले खर्लप्पै निलिदिएको छ । विदेशीले बनाइ दिएका विभिन्न कलकारखाना, उद्योगधन्दा समेत कौडिको भाउमा बेचेर नेपाललाई बेरोजगारहरु उत्पादन गर्ने उद्योग बनाउने कांग्रेसको अर्थ राजनीतिको मारमा बस्न अभिसप्त बनाइएको यूवा जमात कामको खोजिमा संसारभरि भौतारिरहेको तथ्यले यसलाई आफै प्रष्ट्याइ दिएको छ । कांग्रेसी समाजवाद दलाल पुजिवादको हिस्सेदार, साझेदार मात्र बनेको छैन उसको विश्वासिलो संरक्षक बनेको छ । तथापि कांग्रेस आफूलाई लोकतन्त्रको असली पहरेदार सम्झिन्छ । लोकतान्त्रिक आन्दोलनको पर्यायको रुपमा चिनाउने गर्दछ । ७ सालदेखि हालसम्म मात्रिका प्रसााद कोइराला, सुवर्ण समशेर, विश्वेश्वर प्रसाद कोइराला एकएक पटक, कृष्ण प्रसाद भट्टराई दुइ पटक, गिरिजा प्रसाद कोइराला ४ पटक, सुशिल कोइलाला एक पटक, शेर बहादुर देउवा ३ पटक गरि तेह्र पटक त कांग्रेसले आफ्ना नेतालाई प्रधानमन्त्री बनाइसकेको छ । मन्त्री र सांसदहरुको लस्कर त झन् कति हो कति, आफूलाई कम्युनिस्ट पार्टीको सदस्य भनाइराखेकाहरु पनि विगत २९ वर्षदेखि अकन्टक सत्तामै छन् । मनमोहन अधिकारी, पुष्प कमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र केपी ओली प्रधानमन्त्री भइसक्दा मन्त्रीहरुको ताती त यहाँ लेखेर पनि साध्य छैन ।

बरु लोकतन्त्रको नाममा चलेको दलाल पुजिवादी अर्थव्यवस्थाले निम्त्याएको समस्याले आज एउटा आमाले आफ्ना बच्चालाई राम्रोसँग खुवाउन नसकेको पिडामा उनीहरुलाई विष खुवाएर मारेकी र आफूले पनि विष खाएर मरेको दृश्य कम दर्दनाक छैन । बच्चाहरु भोकले किलकिल गरेको देखेपछि सहन नसकेर आमाले त्यस्तो पिडादायी काम गरेकी छन् । तीन करोड जनसंख्या भएको देशमा पौने एक करोड युवाहरू विदेश पलायन हुन बाध्य बनाइएका छन् । छुवाछुत, गरिबी विभेद झन् नयाँ रूप रङ्गमा विस्तार भइरहेको छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकताहरु समेत बजारका किनबेचका वस्तु बनाइएका छन् । पैसा छ, राम्रो शिक्षा लेऊ, उपचार गर, छैन चुपचाप बस भन्ने रमिते सरकार र व्यवस्थाले लादेको अर्थ राजनीतिक अन्तरविरोधको घर्षणले नयाँ संकट पैदा भइरहेको तथ्यलाई व्यक्तिको आचरण कार्यशैली, नीजि महत्वकांक्षा उसको वायोलोजी वा मनोविज्ञानमा मात्र खोजेर अहिलेको पूजीवादले निर्माण गरेको सामाजिक आर्थिक व्यवस्थामा भएको विभेद र असमानताको दुष्चक्रलाई यथावत राख्ने संसदवादी पाखण्डलाई गहिरो गरी बुझ्नै पर्छ ।

आखिर अर्थ राजनीति नबदलेर जनक्रान्ति र जनमतको दबाबमा छोडेको कुर्सिमा टक्रक्क बस्न जाँदा १७ सालमा दुई तिहाइको जनमतबाट निर्वाचित भएका विपी कोइराला प्रधानमन्त्री हुदाहुदै कारावास पुग्नु पर्यो । महेन्द्रको प्रतिगमनले ३० वर्ष राज गर्यो, सामन्ती अर्थ राजनीतिले राजा महाराजा, शासक प्रशासक सामन्त जमिन्दारहरु सत्ताका मालिक बने । राजनैतिक अधिकारको लागि फेरि लामो संघर्षमा हेलिन जनता बाध्य भए । ४६ सालको जनआन्दोलनले यो अन्तरविरोधलाई हल गर्ने प्रयत्न गरेको थियो तर सामन्ती अर्थ राजनीतिमा नवउदारवादी अर्थ राजनीतिका बीचमा मिलापत्र भयो र अर्थ राजनीतिमा नयाँ वर्णसंकरले प्रवेश पायो । नवउदारवादको वैचारिक निर्देशनमा सामन्ती अर्थराजनीतिबाट जनतालाई केहि समय अल्मल्याउने कोशिस भयो । बहुदलीय प्रजातन्त्रको नाममा सत्तासिन भएकाहरु नवउदारवादका असली नोकरको रुपमा विकसित हुन पुगे । जसले गर्दा जनताको जीवन बदलिएन । सत्तासिनहरुको जीवन बदलियो । यहाँसम्म कि चप्पल पट्काउदै काठमाण्डौँ छिरेका कांग्रेस, एमालेका नेताहरु पजेरो संस्कृतिमा रमाउन सुरु गरे, आलिनशान बंगालाका मालिक बने, विभिन्न कम्पनीका सेयर होल्डरमा बदलिए । पञ्चायत विरोधी आन्दोलनमा साथ दिएका जनतालाई धोका दिए । विभिन्न जनविरोधी काण्डैकाण्डका नयाँनयाँ रेकर्डले जनतामा व्यापक असन्तुष्टि र आक्रोश बढ्दै गयो । यो आक्रोश र असन्तुष्टि २०५२ सालदेखि विद्रोहमा रुपान्तरण हुन पुग्यो ।

विद्रोहले वर्णसंकर भइसकेको सामन्ती अर्थराजनीतिको जग हल्लायो, सामाजिक जागरणले नयाँ उचाइ ग्रहण गर्यो । जनयुद्धको घर्षणले राजा र संसदवादी पार्टीहरुलाई दुइ विपरीत ध्रुवमा उभिन्नै पर्ने बाध्यात्मक स्थितिमा पुर्यायो । राजाले आफ्नो संकट हल गर्न एकपछि अर्को प्रतिगामी कदम चाल्दै गए परन्तु सामन्ती अर्थ राजनीति असफल भयो । ०६२/६३ को जनआन्दोलनले नयाँ अर्थ राजनीतिक प्रणालीको विकास गर्ने म्यान्डेड दियो ।

शासकीय प्रणालीमा बदलाब आयो राजतन्त्रलाई विदा गरियो गणतन्त्रको आगमन भयो । अर्थ राजनीतिक प्रणाली बदल्ने प्रयत्न गर्दैगर्दा संविधानसभा भङ्ग गरियो, नेपाली जनताको सपना विघटन भयो । ६० वर्षको लोकतान्त्रिक आन्दोलन मुलत: १० वर्षे जनयुद्धको बलिदानको जगमा प्राप्त भएको ऐतिहासिक अवसरलाई दलाल पुजीवादले कब्जामा लियो । १० वर्षे जनयुद्धमा अमरत्वको गाथा कायम गरेको जनमुक्ति सेनालाई अपमानपूर्वक बलजफ्ती विघटन गरेर दलाल पुजीवादले आफ्नो प्रभुत्व कायम गरिसकेको थियो । खागीको पाइन्ट सट लगाएर काठमाडौं छिरेका प्रचण्ड बाबुराम लगायतका नेताहरु टाइसुटमा ठाटिदै आफैले घृणा गरेको संसदीय व्यवस्थाको असल सारथी बन्दै पुजीपतिहरुका कारिन्दामा बदलिए । कांग्रेस, एमालेको संसदीय रस्सातालमा चुर्लुम्म डुबे । दोस्रो जनआन्दोलनपछिको प्रतिगमन यहि बिन्दुबाट सुरु भइसकेको हो । दलाल पुजीवाद र यसले निम्त्याएका आर्थिक सामाजिक विभेद र सत्ताको भ्रष्ट चरित्रको विरुद्ध आन्दोलन गर्दा विगत दुई वर्ष पहिले नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएर सुरु गरिएको प्रतिगमनको अर्को यात्रा फासिवादमा बदली सकेको छ । प्रतिबन्धको पक्षमा धाप मार्ने संसदीय पाखण्डले अहिले प्रतिगमन र अग्रगमनको गीत गाउनुको कुनै तुक छैन । अग्रमनको गीत गाउन शब्द संगीत पनि अग्रगामी नारामा ऊनिनु पर्छ । शब्द संगीतमै दलाल पुजीवादको स्तुति गान भएपछि मिठो स्वर दिदैमा त्यो अग्रगमनको गीत किमार्थ हुन सक्दैन । केपी ओलीले संसद विघटन गर्दा रोइकराई गर्नु र अदालतले संसद पुनस्थापन गरिदिए पछिको हर्ष बढाई, नेपाली जनताको लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भने जस्तै हो । केपी वली, प्रचण्ड, नेपाल, देउवा या बाबुराम जोसुकै प्रधानमन्त्री बने पनि जनताको दैनिकीमा कुनै बदलाव आउनेवाला छैन । सत्ता लिप्सा र भ्रष्ट जनविरोधी काण्डैकाण्डले लपेटिएका यी सबै पात्र र प्रवृतिसँग विगत ३० वर्षदेखि नेपाली जनता साक्षात्कार हुँदै आइरहेका छन् । समस्या अर्थ राजनीतिक व्यवस्था र प्रणालीको छ, सामाजिक उत्पीडनको छ, जातीय विभेदको छ, बेरोजगारीको छ, महिला हिंसाको छ राजनीतिक आर्थिक र सांस्कृतिक प्रतिक्रान्तिको छ । समस्याको मूल जरो दलाल पुजीवादको साझेदार र संरक्षक व्यवस्थाको छ । त्यसैले अमुक व्यक्तिको प्रधान्मन्त्री, मन्त्रीबाट बहिरगमन र अमुक व्यक्तिको आगमनले अग्रगमनको पुनरागमन हुनै सक्दैन । बरु राष्ट्रघात र जनघातको पुनरोदय दोहरिरहन्छ ।

वार्ता, संवाद र अग्रगमनको प्रश्न

राजनीतिमा कहिलेकाही आकस्मिक ढंगले केही घटनाक्रम प्रकट हुने गर्दछन् । तथापि तिनको निश्चित कारण भने पक्कै हुन्छ, कारण विनाको परिणाम संम्भव छैन । नेकपाका महासचिव विप्लवले फाल्गुन ८ गते उपयुक्त वातावरण बनेमा वार्ता र संवादको लागि तयार रहेको भन्ने वक्तव्य दिएपछि सरकार र नेकपाको वार्ता प्रसङ्गले संकटग्रस्त राजनीतिलाई उज्यालो पार्ने संकेत देखिएको छ । यो क्रम अदालतले संसद पुनस्थापन गरेपछि केही ओझेल परेको जस्तो देखिएको छ । संसदीय व्यवस्थामा लगातार आइरहेको संकट र ७ साल देखिका जनक्रान्तिले हल गर्न नसकेको अर्थ राजनीतिक प्रणालीको समिक्षा गर्दै नयाँ राजनैतिक मार्ग प्रस्तुत गर्नैपर्ने आवश्यकताका बीच वस्तुपरिस्थितिले पैदा गरिदिएको यो एउटा नयाँ राजनैतिक परिघटना हो, वार्ता र संवादको प्रसङ्ग । यसकारण यो ओझेलमा पर्ने वा असम्भव हुने विषय होइन । नयाँ अर्थ राजनीतिको भरपर्दो विकल्प प्रस्तुत गर्ने हैसियत र सामर्थ्य नयाँ विचार र गतिशील ऐजेण्डा बोकेको राजनैतिक पार्टी र नेतृत्वले मात्र राख्दछ जुन कुरा समयक्रमले नेपाल कम्युनिस्ट र यसको नेतृत्वलाई प्रदान गरेको छ । वस्तुगतस्थिति जहिले पनि आत्मिक चेतना भन्दा अगाडि हुइकिरहेको हुन्छ । आत्मिक चेतनाहरुले वस्तुगत गतिअनुसार आफुलाई परिपक्व र गतिशिल बनाएर अगाडि बढ्ने सामर्थ्य राख्न सक्नु पर्छ । गतिशील चेतनाका नाराले वस्तुपरिस्थितिलाई नेतृत्व प्रदान गर्न सकेपछि सामाजिक अन्तरविरोधहरुको हल हुने प्रक्रिया सापेक्षित हिसाबले सुरु हुन्छ । योसँगै पुराना गएगुज्रिएका कुरालाई सृजनशील ध्वंस गरेर नयाँ बनाउन सकिन्छ । जुन कुरा आज नेपाली समाजले खोजिरहेको छ ।
  वार्ता क्रान्तिकारीहरुले देश र जनताका तत्कालिन र रणनीतिक समस्याहरुलाई निश्चित सहमति र सम्झौताको तरिकाबाट हल गर्न गर्ने एउटा इमान्दार प्रयत्न हो भने सत्तासिनहरुका तर्फबाट दाउपेच, षडयन्त्र, धोका र छलछामका लागि गरिने राजनीतिक स्टनवाजी हो । तथापि बलसाली समयक्रमले दाउपेच, तिकडम, धोका र बेइमानीलाई निस्प्रभावी बनाउन सक्छ । जनदबाब, जनअभिमत र जनसरोकारका ऐजेण्डाले सत्तासिनहरुलाई क्रान्तिकारीहरुसँग सम्झौता गर्न बाध्य पार्छ ।

नयाँ विकल्पको खोजिमा समाजिक सञ्जालका भित्तादेखि चियापसल, चोक, चौतारा र सडकसम्म प्रकट भइरहेको नागरिक अभिमतलाई उज्यालो विकल्प प्रस्तुत गर्न सक्ने सबभन्दा सहज माध्यम भनेकै वार्ता, संवाद र अन्तरक्रिया नै हो । विभिन्न लेखक, बुद्धिजीवि, नागरिक अगुवाहरुले विकल्पका अनेकौं बुद्धिविलास प्रकट गरेपनि श्रमिक वर्गले भरपर्दो राजनैतिक नेतृत्व खोजिरहेको छ । अग्रगामी चेतनाका नाराले सामाजिक जागरण पैदा भएपनि वैचारिक, राजनैतिक, संगठनात्मक, सांस्कृतिक र व्यवस्थापकीय नेतृत्वको प्रत्यक्ष सहभागिता विना राजनैतिक आन्दोलन सफल हुन सक्दैन ।

अतः गतिशील समाजका प्रगतिशील नारा र ऐजेण्डाको नेतृत्व प्रदान गर्ने सामर्थ्य राख्नु नै सबैभन्दा अग्रगामी र क्रान्तिकारी कदम हुन सक्छ । त्यसैले यसमा कोही अल्मलिनु पर्ने, तर्सिनु पर्ने, डुब्नु पर्ने र भागदौड गर्नुपर्ने जरुरी छैन । वैचारिक, राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक जीवनलाई अध्यावधिक गर्दै सिद्धान्तनिष्ट गतिशिलता कायम गर्न सके जस्तोसुकै चुनौतिलाई पनि पन्छाउन सकिन्छ ।

पुजीवाद भर्षेस समाजवाद

विगत ७० वर्ष देखिका राजनैतिक क्रान्तिहरुले बदल्न नसकेको जनताको जीवनलाई कसरी बदल्न सकिन्छ ? आजको सर्वाधिक महत्वको केन्द्रीय प्रश्न यही हो । कुनै विचारप्रतिको बनिबनाउ निरपेक्ष आग्रह या स्तुतिगायनले आजको दुनियाँको अन्तरविरोध हल गर्ने ल्याकत राख्न सक्दैन । हरेक पुस्ताले आफ्नो युगको लडाई आफनो पौरखले लड्छ । इतिहास त्यही भन्छ तर परम्परागत लडाइको तरिकाले हैन विल्कुल नयाँ तरिकाले लडेर मात्र लडाई जितिन्छ । अब समाजमा रहेका सबै समाजवादीहरुलाई एकिकृत गर्न जोडबल लगाउने समय आइपुगेको छ । तिनीहरुलाई प्रेरित गर्नुपर्छ । समाजको सबै उत्पीडित तहसम्म कम्युनिस्ट पार्टीले विकसित गरेका समाजवादका अवधारणाहरुलाई वेरोकटोक पुर्याउने वातावरणमा अभ्यस्त भएर मात्र दलाल पुजिवादलाई जनताबाट अलगापमा पार्न सकिन्छ । नागरिकहरुका नसानसामा धुसेर लठ्याइरहेको दलाल पुजिवादलाई खोजिखोजि भन्डाफोर गर्नु पर्दछ । आवश्यक शल्यक्रिया गर्नु पर्दछ ।

लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको पुजिवादले जतिसुकै नागरिक स्वतन्त्रताको कुरा गरेपनि स्वतन्त्रतालाई नै निषेध गर्दछ । त्यसले जहिले पनि आफ्ना निर्णयहरु, क्रियाकलापहरु कालाकोठरीमा पर्दा पछाडिबाट गरेर जनतामाथि जबरजस्ति थोपर्दछ । यी र यस्ता विषयमा नागरिकलाई सचेत बनाएर मात्र दलाल पुजिवादको बहुपासाबाट नागरिकलाई मुक्त गर्न सकिन्छ । सबैभन्दा उन्नत प्रकारको लोकतान्त्रिक अभ्यास समाजवादी व्यवस्थामा गर्न सकिन्छ, समाजवादका प्रत्येक अन्तरवस्तुलाई संसारको सर्वमान्य लोकतान्त्रिक अभ्यासले छनौट गर्ने अधिकार जनतालाई दिने विषयले समाजवादको सर्वस्वीकार्यतालाई झन् व्यापक बनाइदिने छ । मानवतावादी समाजवाद ठीक कि मानवताविरोधि पुजिवाद ठिक भनेर फैसला गर्ने अधिकार जनतालाई प्रदान गर्ने कुरामा सत्तासिनहरुलाई बाध्य पार्ने कुराले देश जनताको भविष्य उज्यालो बनाउने छ । नयाँ विकल्पको खोजिमा छरपष्ट भइरहेका नागरिकहरुको जीवन समाजवादी चेतना र अर्थ व्यवस्थाले मात्र प्रज्वलित बनाउन सक्छ । यसको लागि संसदीय चर्खे पिङको घुमाउरो बाटोमा घुमिरहने राजनीतिक गोलचक्करलाई सृजनशील तरिकाले भंग गर्न नयाँक्रमको सुरुवात गर्नै पर्दछ । यथास्थितिवादी क्रमलाई नयाँ क्रममा विकसित गर्न सक्ने गतिशील अवधारणा, नेतृत्व र योजनाले मात्र पुरानो क्रमभंग गर्ने सामर्थ्य राख्न सक्छ । यस्तो स्थितिको भरोसायोग्य शक्तिको रुपमा विप्लव नेकपाले आफुलाई उभ्याउन सक्षम बनाउदै अघि बढेको छ ।

१७ फाल्गुन २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :