सहिदका सपनालाई अलपत्र पारिएको छ

अन्तर्वार्ता

(जनयुद्धमा बुवा र दाइ सहादत हुनुभएका (रुकुम) हाल दाङमा बस्दै आउनु भएका अजय नेपालीसँग सहिद सप्ताहको सन्दर्भमा गरिएको कुराकानी प्रस्तुत छ ।)

जनताको मुक्तिका लागि भनेर तपाईंंको परिवार युद्ध लड्नुभयो, सहादत हुनुभयो, अहिले कस्तो महसुस गर्नुहुन्छ ?

हो, नेपाली जनताको मुक्तिका लागि तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ गते जनयुद्धको शंखघोष गर्यो । जनवादी राज्यसत्ता स्थापनाको महान् यात्रामा हाम्रो परिवार मात्र नभई नेपाली आमाका हजारौँ छोराछोरीले उच्च बलिदानीको कोटा चुक्ता गर्नुभयो । लडाइँको मोर्चामा मेरो आफ्नो परिवारबाट बुबा र दाइको सहादत भयो । त्यो दश बर्से महान् यात्रामा सहादत हुनुभएका मेरा बुबा र दाइलगायत सम्पूर्ण

नेपाली आमाका महान् सपूतहरूप्रति म उच्च सम्मान एवम् भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । तर, अहिले जनयुद्धका मुख्य नेतृत्व प्रचण्ड–बाबुरामले जनतालाई धोका दिएर सहिदका सपनालाई अलपत्र पारेर पुरानै संसदीय व्यवस्थामा अहिले कुर्सीको तछाड मछाडको घीनलाग्दो हर्कतले हामीलाई लज्जित तुल्याएको महसुस गरिरहेको छु ।

जनयुद्धका सहिद परिवारहरूको तर्फबाट जनयुद्धका नेता र सहयोद्धाहरूलाई के भन्न चाहनुहुन्छ ?

सहिद परिवारको तर्फबाट भन्नुपर्ने त धेरै कुराहरू छन् । हिजो आफू भोको रहेर हामीले उहाँहरूलाई खुवाउँथ्यौँ, आफूलाई जोखिममा राखेर उहाँहरूको सुरक्षामा रात–दिन खटिन्थ्यौँ तर विडम्बना आज सहिद परिवार, घाइते अपाङ्ग योद्धाहरूको जीवन निकै कष्टपूर्ण छ । हिजो जुन सपना देखाइएको थियो, त्यो पूरा नगरी उहाँहरू महान् सहिदहरूको लासमा आलिसान बङ्गला खडा गर्नुभयो, त्यो नै अत्यन्त दुःखद पक्ष हो । म जनयुद्धका इमानदार नेता र सहयोद्धालाई हाम्रो सपनामाथि धोका दिने, जितको सँघारमा पुगेको क्रान्तिलाई समाप्त पार्नेहरूका विरुद्ध एकपटक फेरि मुठ्ठी कस्न आह्वान गर्न चाहन्छु ।

जनयुद्धका तत्कालीन नेतृत्वले क्रान्तिलाई धोका दिएको भनेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति सञ्चालन गरेको छ । यसबारे जनयुद्धका सहिद परिवारको धारणा के रहेको छ ?

सर्वप्रथम क. विप्लवलाई सलाम गर्न चाहन्छु, जसले जनयुद्धका तत्कालीन नेतृत्वले धोका दिएको क्रान्तिलाई फेरि नयाँ विचारसहित दृढसंकल्प लिएर अगाडि बढिरहनुभएको छ । विप्लवले अघि सारेको एकीकृत जनक्रान्तिप्रति सहिद परिवारहरू निकै आशावादी त हुनुहुन्छ नै तर फेरि धोका हुन्छ कि भन्ने डर कता–कता रहेको पाइन्छ तर हामी विश्वस्त छौँ कि क. विप्लवले सहिदको सपना वैज्ञानिक समाजवादी राज्यव्यवस्था नेपाली जनताको सुन्दर भविष्य निर्माण गर्ने कुरामा धोका हुनेछैन ।

जनयुद्धका सहिद परिवारबारे राज्य वा सरकारको कस्तो नीति या व्यवहार पाउनुभएको छ ?

जनयुद्धका सहिद परिवारप्रति राज्यको केही नीति नै छैन । मलाई लाग्छ, सहिदहरूको सपना पूरा गर्ने मार्गतर्फ राज्य अघि बढेकै छैन, बरु सहिदहरूको सपनालाई कुल्चिएर सहिदको सपनालाई बेवास्ता गरेर राज्य सहिदहरूप्रति गैरजिम्मेवार बनेको छ । राज्यले सहिदका परिवारलाई सम्मान गरेर निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्नुपर्दथ्यो तर त्यसो हुन सकेन ।

सहिद सप्ताह २०७७ को सन्दर्भमा सहिद परिवारको तर्फबाट सम्पूर्ण सहिद, बेपत्ता परिवारहरूलाई के सन्देश दिन चाहनुहुन्छ?

सहिद सप्ताह २०७७ को सन्दर्भमा सहिद, बेपत्ता, घाइते–अपाङ्ग योद्धाका परिवारहरूलाई सर्वप्रथम यस अवसरमा हार्दिक शुभकामना दिन चाहन्छु । जनयुद्धमा तपाईंं हाम्रो परिवारको ठूलो त्याग, तपस्या, बलिदानको उच्च मूल्यांकनको साटो हामी अपहेलित र अपमानित हुनुपरेको छ । तपाईंं हामी पुनः फेरि सडकमा बेवारिसे अवस्थामा छोडिएको क्रान्तिको झन्डालाई उठाउने साहस गरौँ ।

अन्त्यमा रातोखबरमार्फत् केही भन्न चाहनुहुन्छ कि ?

सर्वप्रथम सहिद सप्ताह २०७७ को सन्दर्भ पारी तपाईंको जनपक्षीय पत्रिका रातोखबरमार्फत् सहिद परिवारको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु । जनताको मुक्तिका लागि भनेर लडिएको युद्ध विजयोत्कर्षमा पुगेको थियो तर जनयुद्धको मुख्य नेतृत्व प्रचण्ड–बाबुरामको कारण नेपालमा प्रतिक्रान्ति भयो । हाम्रा सपनाहरूलाई खरानी पारियो । पुरानै संसदीय व्यवस्थामा देशलाई पुर्याइयो । तसर्थ, अपुरो क्रान्तिलाई पूरा गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :