२६ औं जनयुद्ध दिवस र जनयुद्धका शिक्षाहरु

२६ औं जनयुद्ध दिवस र जनयुद्धका शिक्षाहरु

“क्रान्तिका अझसम्म हल नभइसकेका समस्याहरुमाथि ध्यान केन्द्रीत गर्नु नै महान क्रान्तिको बर्षगाँठ मनाउने सबभन्दा राम्रो उपाय हो । जव क्रान्तिले समाधान गरिनसकेका आधारभूत समस्याहरु अझ कायम रहन्छन्, समस्याहरुको समाधानको लागि जव कुनै नयाँ (अहिलेसम्म क्रान्तिले पूरा नगरिसकेका कामहरुको दृष्टिकोणले कुरा सिक्ने आवश्यकता देखा पर्दछ, त्यसवेला यस किसिमले क्रान्तिको बर्षगाँठ मनाउनु उपयुक्त र आवश्यक ठहरिन जान्छ ।”

— लेनिन संकलित रचना (भाग–८ पृष्ठ १९४), अक्टुवर क्रान्तिको चौथो बर्षगाँठको सन्दर्भमा ।

फागुन १ गते नेपालमा पूर्व माओवादी घटकहरुले २६ औं जनयुद्ध दिवस विभिन्न रुपमा मनाए । यसलाई कसैले औपचारिक रुपमा मनाए, कसैले हृदयदेखि । कसैले दश वर्षको जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने र जनयुद्धले समाधान गर्न नसकेका समस्याहरु समाधान गर्ने प्रतिबद्धताकासाथ महान जनयुद्धका सहिद–बेपत्ता योद्धाहरुको स्मरणका रुपमा मनाए भने कसैले खुइलिन लागेको कम्युनिष्ट र¨मा फेरी नक्कली कम्युनिष्ट र¨ भर्न (स्प्रे गर्न । जसले जुनसुकै रुपमा मनाए पनि जनयुद्ध नेपालको इतिहासमा एक गौरवमय इतिहास बनेको छ । श्रमिक जनताले फागुन १ गतेलाई सामन्तवादमाथि सशस्त्र धावा बोलेर आफ्नो अधिकार खोसेको दिनको रुपमा मात्र नभएर माथि क. लेनिनले भन्नु भए झैं ‘जनयुद्धले (क्रान्तिले , समाधान गरिनसकेका समस्याहरुको समाधान गर्न र केही नयाँ कुराहरु सिक्नको लागि स्मरण स्मरण गर्दछन् । क्रान्तिकारीहरु जनयुद्धका महान शिक्षाको दियोमा अपुरो र अधुरो क्रान्ति सम्पन्न गर्न र अवको क्रान्तिको बाँकी कार्यभार पूरा गर्न नयाँ कुराहरु सिक्न यसलाई एउटा उर्जाको श्रोतको रुपमा संझीरहन्छन् र वर्षगाँठ मनाउँछन् । यथार्तमा फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउनुको अर्थ नेपालमा नयाँ ढंगले क्रान्ति सम्पन्न गर्ने, जनयुद्धको अधुरो कार्य पूरा गर्ने प्रतिबद्धता हो र यसका महत्वपूर्ण शिक्षाहरुलाई आत्मसाथ गर्नु हो ।

यहाँ जनयुद्ध भन्नुको अर्थ बिशेषतः नेपालमा २०५२ फागुन १ गतेदेखि नेकपा (माओवादी)को नेतृत्वमा चलेको १० बर्षको जनयुद्धको हो । जनयुद्ध चिनियाँ क्रान्तिको दौरानमा, माक्र्सवाद–लेनिनवादलाई चिनियाँ समाजको बिशिष्टतामा प्रयोग गर्ने दौरानमा क. माओले विकास गर्नु भएको, प्रयोगद्वारा सफल– सिद्धभएको सर्वहारा वर्गको मुक्तिको नयाँ सिद्धान्त हो । त्यसैले माक्र्सवाद–लेनिनवादलाई माओवादको उचाईमा ल्याइदियो । नेपाली वर्ग संघर्षमा २०५२ साल फागुन १ गते देखि यो सिद्धान्तलाई नेपालको बिशिष्टतामा प्रयोग गर्न खोजियो । नेकपा (माओवादी)को नेतृत्वमा यसले दश बर्ष नेपालको वर्गयुद्धको नेतृत्व गर्यो । नेतृत्वको असफलता र रचनात्मक प्रयोगको र विकासको अभावमा दश बर्षको जनयुद्धले प्रतिधक्का बेहोर्न पुग्यो र यसले पूर्ण सफलता हासिल गर्न सकेन तथापि वर्गसंघर्षका सफल र असफल अनुभव र शिक्षाबाट महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन् । २६ औं जनयुद्ध दिवसको स्मरणमा यसपाली “जनयुद्धका शिक्षाहरु” शीर्षकमा उपहार स्वरुप यो सानो आलेख पस्कन चाहन्छु ।

के क्रान्ति र युद्ध एउटै हुन् ?

क्रान्ति र युद्धको नाम सुन्ने बितिकै धेरै मान्छेहरु तर्सिने गर्छन् किन ?

मानिस शान्तिप्रिय प्राणी हो । शान्ति, समृद्धि, स्वतन्त्रता र समानता मानिसको स्वभाविक चाहाना र प्रवृत्ति हुन्छ । स्वभावैले एउटा मानिस कहिल्यै पनि हिंसा र अशान्ति चाहँदैन, युद्ध त झन उसले मनै पराउँदैन । हामी पनि चाहँदैनौ यो कसैको चाहाना होइन ।

क्रान्ति या युद्ध भन्ने बितिकै सबैले भयंकर हिंशा र रक्तपात बुझ्दछन् र तर्सन्छन् । यो उसको अज्ञानताको कारण हो किन कि डर अज्ञानताबाट जन्मन्छ । यसलाई अस्वभाविक मानिदैन किन भने क्रान्तिको दौरानमा बलिदान पनि हुन सक्छ, रगत पनि बग्न सक्छ । क. माओले ‘राजनीतिलाई अहिंसात्मक युद्ध र युद्धलाई हिंसात्मक राजनीति’ भन्नु भएको छ । राजनीति पूर्ण अहिँसात्मक हुँदैन, राजनीति आफै हिँसात्मक पनि हुँदैन तर राजनीतिमा हिँसाको अंश पनि हुन्छ । जसरी एउटा महिला र एउटा पुरुष आफै महिला र पुरुष मात्रै होइनन् ती दुवैमा बिपरित लि¨ पनि अन्तरनिहित हुन्छ । दुबैमा महिला र पुरुष जन्माउने गुण अन्तरनिहित हुन्छ । युद्ध र राजनीति, क्रान्ति र युद्ध यी एक अर्कामा फरक पनि छन् र एक अर्कामा अन्तरनिहित पनि छन् । राजनीति, युद्ध र क्रान्ति वर्ग समाजको अनिवार्य उपज हुन् । वर्ग समाजको चरित्र बदलियो र निवर्गीय भयो भने यी तीनै चीज स्वतः हराउँछन्, यिनको कुनै अस्तित्व रहँदैन । यसरी वर्ग समाजको गर्भमा क्रान्ति लुकेको हुन्छ । तर राजनीति र युद्ध भने बाहिर जताततै छताछुल्ल, असरल्ल हुन्छन् र सवैले देख्छन् । क्रान्ति देखिदैन तर यो यसैबाट जन्मिने अनिवार्य प्रक्रिया हो, तर क्रान्ति आफै युद्ध चाहिँ होइन । क. माओले ‘युद्धले क्रान्ति जन्माउँछ, क्रान्तिले युद्ध रोक्छ’ भन्नु भएको छ । पहिलो विश्वयुद्धले रुसमा अक्टुवर क्रान्तिलाई जन्मायो र त्यो क्रान्तिले रुसको युद्ध रोक्यो । अझ भनौ विश्वयुद्ध नै रोकियो । दोस्रो बिश्वयुद्धले चिनियाँ क्रान्ति लगायतका थुप्रै क्रान्तिहरुलाई जन्म दियो । यसरी क्रान्ति आफै युद्ध होइन तर क्रान्तिभित्र हिंसाको मात्रा अन्तरनिहित भने हुन्छ त्यो न्यायपूर्ण, वर्ग पक्षधरतामा आधारित र प्रतिरोधात्मक चरित्रको हुन्छ जो आफै युद्ध चाहिँ होइन । युद्धको चरित्र ध्वंसात्मक हुन्छ, यसमा हिँसा र आवेगको मात्रा बढी हुन्छ तर क्रान्तिको चरित्र रचनात्मक हुन्छ, यसमा आवेगभन्दा बिचार र संयमताको मात्रा बढी हुन्छ । यसले ध्वंश मात्र होइन निर्माण गर्दछ ।

युद्धले अनिवार्य हिँसाको बाटो लिन्छ यो सहि हो तर क्रान्तिले अनिवार्य हिँसाको बाटो लिन्छ भन्ने कुरा सवै सहि नहुन सक्छ तर समाजमा हुने खाने वर्गले गरिरहेको सबै प्रकारका वर्ग उत्पीडनको अन्त्य गर्नु क्रान्तिको अनिवार्य प्रबृत्ति हुन्छ । क्रान्तिको चरित्र प्रतिरोधात्मक हुने भएकोले दमनको बिरुद्ध प्रतिरोधको क्रममा हिँसा हुने कुरालाई यसले अस्वीकार गर्दैन । अहिँसाको नाममा र शान्तिको नाममा कुनै पनि प्रकारको उत्पीडनलाई क्रान्तिले स्वीकार गर्दैन । शान्तिको नाममा यसले आत्मसमर्पण गर्न पनि जान्दैन । यहाँ जनयुद्ध भनिएकोले स्वभाविक रुपमा हिँसाको गन्ध आउनु स्वभाविक हो । युद्ध वर्ग समाजको अनिवार्य उपज हो । यो उत्पीडक र उत्पीडितको बीचमा त स्वभाविक रुपले नै हुने कुरालाई सायद कसैले नकार्न सक्दैन तर उत्पीडक र उत्पीडकका बीचमा पनि युद्धहरु हुने गर्दछन् । यस्ता प्रकारको युद्धहरु ब्यक्तिगत स्वार्थमा गरिने युद्ध हुन् । यसलाई साम्राज्यवादी अर्थात पुँजीवादी युद्ध भन्ने गरिन्छ । पहिलो र दोस्रो विश्वयुद्ध तथा कुनै दुई देश बीच हुने गरेका साना–ठूला युद्धहरु यसैका रुप हुन् ।

भनिन्छ, मानव समाजले आज जति युगहरु गुजारेर आएको छ, त्यसको ९० प्रतिशत समय मानव जातिले युद्धमा गुजारेको छ । बाँकी १० प्रतिशत समय पनि कुनै न कुनै रुपमा युद्धको तयारी वा शीत युद्धमा खर्चेको छ । आज पनि मानिस कुनै न कुनै रुपमा सानो वा ठूलो, प्रत्यक्ष वा अप्रत्यक्ष युद्धमा छ वा युद्ध भोगिरहेको छ । यो त्यो अवस्थासम्म रहन्छ, जवसम्म यो समाजमा वर्ग सहन्छ । त्यसैले वर्गसमाज युद्ध र हिँसाको श्रोत हो । यदि समाजलाई युद्ध र हिँसाबाट मुक्त गर्ने हो भने क्रान्ति अनिवार्य छ । किन कि क्रान्ति मात्र युद्ध अन्त्य गर्ने एक मात्र साधन/प्रक्रिया हो । त्यसैले क्रान्ति युद्ध नभएर युद्धलाई सधैंको निम्ति अन्त गर्ने अचुक औषधि पनि हो । जनयुद्ध क्रान्तिको एउटा सिद्धान्त भएकोले जनयुद्ध हिंसा नभएर हिँसाको अन्त गर्ने क्रान्तिको एउटा प्रक्रिया/औषधि हो । यसबाट मानव जातिले तर्सिनु जरुरी छैन । अझ उत्पीडितहरुले त झन तर्सिनु हुँदैन वरु छिटोभन्दा छिटो उत्पीडनबाट मुक्त हुन क्रान्तिमा भाग लिनु पर्छ वा नजिकबाट सहयोग गर्नु पर्छ ।

दोस्रो, नेपालमा जनयुद्ध दश बर्ष चल्यो । जनयुद्धका दुई पक्ष छन् । एउटा सकारात्मक र बिजयको पक्ष, दोस्रो नाकारात्मक र पराजयको पक्ष । १० बर्षको जनयुद्धको सकारात्मक र बिजयको पातो थियो । यसले नेपालको इतिहासलाई उलटपालट बनाइदिएको छ । श्रमिक जनतामा महान आशावाद जगाइ दिएको छ । यसले जनतालाई जनताको सेना दिएको छ, जनतालाई ‘जनसत्ता’ जनताको आफ्नै सत्ता दिएको छ । राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, साँगठनिक, अग्रगामी चेतना र बिचार तथा प्रतिरोधात्मक संघर्ष, विकास निर्माण आदि सबै हिसावले सि¨ समाजलाई नै एक प्रकारको परिवर्ततन (रुपान्तरण) दिएको छ । साँच्चै नै यो इतिहासको एउटा अनुपम घटना थियो । यसले जनतालाई साँच्चै नै कहिल्यै नसोचेको आशा जगाइदिएको थियो । यो जनयुद्धको सकारात्मक पातो थियो । यसले अर्को पातोलाई पनि जन्म दियो ।

जव जनयुद्धले बिजयका ठूलठूला किर्तिमानहरु खडा गर्दै अघि बढ्न थाल्यो । प्रतिक्रियावादी र शासकहरुको मुटुले ठाउँ छाड्न थाल्यो, उनीहरुमा छडपटी शुरु भयो, के गरौं, कसो गरौं, कता जाऔं, भयो । जसको परिणाम उनीहरु वार्तामा आउन वाध्य भए । यसको धक्काले साम्राज्यवादी शक्तिकेन्द्रहरुमा पनि भूकम्प गयो । यसपछि उनीहरु जनयुद्ध सिध्याउन र नेपाली क्रान्ति असफल पार्न ठूल–ठूला षड्यन्त्रका तानावाना बुन्न शुरु गरे । यसमा अन्तराष्ट्रिय हिसावले शक्तिकेन्द्रहरु, राष्ट्रिय रुपमा दलाल शासकहरु, राजनीतिक हिसावले प्रतिगामी र संसदवादी राजनीतिक दलहरु सहभागी बने । तिनको संयुक्त प्रयास र षड्यन्त्रको शिकार क. प्रचण्ड र बाबरामहरु बन्न पुगे । पछिल्ला सबै घटनाक्रमहरुले के पुष्टि गरेको छ भने उनीहरु नजानेर÷नबुझेरभन्दा पनि जानी–जानी सचेततापूर्वक साम्राज्यवादसामु आत्मसमर्पण गरेर साम्राज्यवादसंग मिलेर उनीहरुले योजनावद्ध रुपमा जनयुद्धको घाँटी रेटे । शान्तिप्रक्रियाको नाममा जनता, कार्यकर्ता, जनमुक्तिसेना र पार्टीका क्रान्तिकारीहरुको आँखामा संविधानसभा र बिद्रोहको छारो हालेर नेतृत्वबाटै जनयुद्धका उपलब्धिहरु सबै खरानी पारियो, जनयुद्धको समापनको घोषणा गरे । जनमुक्तिसेना र जनसत्ताको विघटन गरियो र अन्तरिम सरकारमा सहभागी हुने नाममा पार्टी पुरानो सत्तामा सहभागी बन्न पुग्यो । यसपछि एकपछि अर्को गर्दै क्रान्तिका उपलब्धिहरु गुमाउँदै गएपछि पार्टीभित्र क्रान्तिकारी र संसदवादी धारा बीच ७ बर्ष निकै पेचिलो दुई लाइन संघर्ष चल्यो । अन्तमा माओवादी पार्टीमा क्रान्तिकारीहरुले बिद्रोह गर्नुको बिकल्प रहेन र २०६९ आषाढमा गएर पार्टी बिभाजन भयो । यसले माओवादी आन्दोलन संसदवादी र क्रान्तिकारी धारमा ध्रुवीकरण बन्न पुग्यो । यो अवधि २०७१ सम्म कायमै रह्यो । यो ७ बर्ष जनयुद्धको नकारात्मक पातोको रुपमा अंकित छ, २०६९–७१ मंसिरसम्मको दुई बर्षको अवधि पनि उकुसमुकुस, अकमण्र्यता र सुसुप्त अन्तरसंघर्षका बीच अत्यन्त संक्रमणकालिन स्थितिबाट गुज्रियो तर यो धेरै समय रहन सकेन । अन्ततः यसले पनि सकारात्मक निकास खोज्यो र किरण कमरेडबाट पनि सम्बन्ध बिच्छेद गरियो । माथि भनिए झैं यो करीव १० बर्षको अवधि शान्तिपूर्ण भनिए पनि आन्तरिक हिसावले निरन्तर अन्तरसंघर्ष र निकै पेचिलो दुई लाइन संघर्षको बीचबाट गज्रियो । यो संघर्ष पार्टीभित्रका अवसरवाद, नवसंशोधनवाद र छद्म संसदवादलाई ना¨ संशोधनवाद र संसदवादमा उजागर गर्ने दृष्टिले महत्वपूर्ण रह्यो । यसले एकीकृत जनक्रान्तिको कार्यदिशालाई जन्म दियो । पार्टी फेरी नवीकृत भएर क्रान्तिको नयाँ दियो बाल्दै अगाडि बढ्यो । यो पाटो नकारात्मक भएर पनि महिलाको प्रशव बेदना जस्तै बन्यो ।
जनयुद्धका शिक्षाहरु :

युद्धले अनिवार्य हिँसाको बाटो लिन्छ यो सहि हो तर क्रान्तिले अनिवार्य हिँसाको बाटो लिन्छ भन्ने कुरा सवै सहि नहुन सक्छ तर समाजमा हुने खाने वर्गले गरिरहेको सबै प्रकारका वर्ग उत्पीडनको अन्त्य गर्नु क्रान्तिको अनिवार्य प्रबृत्ति हुन्छ । क्रान्तिको चरित्र प्रतिरोधात्मक हुने भएकोले दमनको बिरुद्ध प्रतिरोधको क्रममा हिँसा हुने कुरालाई यसले अस्वीकार गर्दैन ।

यहाँ जनयुद्धका दुई पाता छन् । एउटा भीषण युद्धकाल र दोस्रो शान्तिपूर्ण प्रक्रियाको काल । पहिलो पातो वर्गसंघर्षको काल थियो र दोस्रो पातो दुई लाइन संघर्षको काल थियो । पहिलो पातो चानचुन १० बर्ष रह्यो भने दोस्रो पनि चानचुन १० बर्ष नै रह्यो । पहिलो १० बर्षका पनि दुई चरणहरु छन् — पुलिसंगको लडाईको चरण र शाहीसेनासंगको लडाईको चरण । यो २०५२—२०५३ सम्मको ५ बर्षहरु पुलिससंग र २०५८—२०६२÷६३ सम्मको ५ बर्षहरु सेनासंगको भीषण सशस्त्र लडाई थियो । यो अवधिका दुबै चरणहरु उत्साह र बिजयका बर्षहरु थिए । क्रान्ति र जनताले जितिरहेको उभारको अवस्था थियो । यसबाट जनता कार्यकर्ता निकै उत्साहित र वर्गदुश्मन हतोत्साहित र निरास हँुदै गएको अवस्था थियो ।

दोस्रो पातो जसलाई शान्तिप्रक्रिया भनिएको छ, यो अवधि २०६३—२०७२/७३ को दशक थियो । २०६३—२०६५ सम्मको अवधि प्रचण्ड– बाबुरामसंग करीव ३ बर्षहरु र २०६९ — ७१ सम्मका करीव २ बर्षहरु क. किरण र वादलहरुसंग गरी करीव ५ बर्षहरु अन्तरसंघर्षका चरण थिए भने २०६५—६९ सम्म प्रचण्ड–बाबुरामसंगको र २०७१ को उत्तरार्धतिरको क्षणिक समयहरु क. किरणसंगका तीब्र दुई लाइन संघर्षका बर्षहरु थिए । बाहिर हेर्दा हामी वर्ग संघर्षमा थिएनौं तर बाहिरको वर्ग संघर्षको सबै रुपहरु दुई लाइन संघर्षमा बदलिएका थिए र पार्टीभित्र भित्रिइसकेका थिए । त्यसैले यो अवधिमा पार्टीभित्रको दुई लाइन संघर्षहरु निकै पेचिला बनेका थिए । प्रचण्ड–बाबुरामहरुका बिरुद्धमा त एउटै पार्टीमा रहँदा रहँदै पनि चक्का जाम र पुतला जलाउनेसम्म भएका थिए भने किरण–बादलका पालामा कार्वाही र लिखित–मौखिक स्पष्टिकरण दिनेसम्म पुगेको थियो । जसले गर्दा पहिलो पटक प्रचण्ड–बादलसंग २०६९ मा र दोस्रो पटक क. किरण र वादलसंग २०७१ मा संम्बन्ध बिच्छेद गर्नु परेको थियो । यो त्यो बेलाको बाध्यात्मक स्थिति थियो । यी रमाइला–नरमाइला तर बाध्यत्मक घटनाहरु इतिहासका सकारात्मक र नकारात्मक शिक्षा बनेका छन् ।

जनयुद्धका सकारात्मक र नकारात्मक परिघटनाहरुबाट प्राप्त शिक्षालाई बूँदागत रुपमा यसरी राख्न सकिन्छ —

१. जनयुद्धबाटले माक्र्सवादलाई समाज बदल्ने विज्ञान हो भन्ने वैज्ञानिक तथ्य पुष्टि गरेको छ । यो यसकारणले कि जनयुद्धले माक्र्सवादका ३ आधारभूत सिद्धान्तहरु (सशस्त्र (वर्ग संघर्ष, वर्ग अधिनायकत्व र वर्ग पक्षधरता)लाई लागु गरेको थियो । पहिलो सशस्त्र संघर्षको अनिवार्यतालाई पुष्टि गरेको छ । दोस्रो वर्ग अधिनायकत्वको अनिवार्यतालाई पुष्टि गरेको छ । तेस्रो वर्ग पक्षधरताको अनिवार्यतालाई पुष्टि गरेको छ । यी तीन आधारभूत सिद्धान्त छोड्दा क. प्रचण्ड, महान स्तालिनले भन्नु भए जस्तै ‘सिद्धान्त बिनाको ब्यवहार दिशाबिहिन हुन्छ र अँध्यारोमा छामछामछुमछुम गर्न पुग्छ’ भने जस्तै बन्न पुग्यो । नेतृत्व (प्रचण्ड) दिशाबिहिन भयो, यसैको परिणाम उ बिचलनको शिकार बन्यो । जनमुक्तिसेना, जनसत्ता र जनता जस्ता क्रान्तिका महत्वपूर्ण साधनहरु छोड्न पुगे र अन्ततः यी सबै गुम्न पुगे, जसले गर्दा जनयुद्धले पराजय बेहोर्नु पर्यो । यो नेतृत्वले वर्गसिद्धान्त(माक्र्सवाद) वर्गसंघर्ष, वर्गअधिनायकत्व र वर्गपक्षधरता छोड्दा बिचलनको शिकार हुनु परेको गंभीर शिक्षा हो ।

२. जनयुद्धले अभूतपूर्व रुपले जनतालाई जागृत गरेको थियो । यसले चेतनागत रुपले दास र दविएका मानसिकतामा रहेका जनतालाई बिद्रोहको चेतना दियो र दुश्मनका बिरुद्ध बिद्रोह गर्न सिकायो । दोस्रो संगठित र एकतावद्ध हुन सिकायो । चारैतिर फर्केका, छरपस्त जनता र हजारौं बर्षदेखिको उत्पीडनबाट थिलोथिलो भएका जनतालाई क्रान्तिको झण्डा मुनी एकताबद्ध हुन प्रेरित गर्यो । यहि एकताको बलमा जनसत्ताहरु निर्माण गरे । आफ्नो सत्ता आफै निर्माण गरी आफै सत्ताका मालिक बने । तेस्रो हजारौं तातो रगतले भरिपूर्ण युवाहरुले आफ्नो तागत र औकात चिनेका थिएनन् जसरी रामायणमा हनुमानलाई आफ्नो तागत आफैलाई थाहा थिएन र बानरसेनाको एकजना पाका सेनापति ज्याम्वाण नाम गरेको सेनापतिले भनिदिएपछि मात्र उसलेथाहा पायो र लङ्का जित्यो । त्यसरी नै नेपालका सचेत युवाहरुले आफ्नो तागत थाहा पाएपछि हजारौंको संख्यामा जनमुक्तिसेनामा भर्ति भए र पुरानो सत्ताका सेनालाई हावाकावा पारे । अन्ततः बादशाहलाई घोडाबाट झार्न सफल भए ।

३ं जनयुद्धले पहिलो यो व्यवस्थाको (संसदीय व्यवस्थाको असफलता र नाकामपना सावित गरिदियो । यो केवल व्यवस्थाको असफल मात्र होइन, यो प्रतिगामी र मानव समाजको प्रगतिको बाधक, विकासको तगारो र युद्ध र हिँसाका श्रोत, सवै प्रकारका उत्पीडनहरुको संरक्षक पनि रहेको तथ्य पुष्टि गरिदिएको छ । दोस्रो यसले नयाँ बिकल्पको अनिवार्यतालाई पनि पुष्टि गरेको छ । तेस्रो यसले वैज्ञानिक समावादी ब्यवस्थाको बिकल्पलाई अगाडि ल्याइदिएको छ ।

४. जनयुद्धको बिजय र पराजयको परिणाम क्रान्तिको नयाँ खोज र अनुसन्धानलाई जन्मायो जसले हिजोको बिचारलाई नयाँ बिकास गर्ने चरणमा उकालिदियो । यसले बिचारको विकासको चरणलाई पनि जन्म दियो । यसले नयाँ कार्यदिशा — एकीकृत जनक्रान्तिलाई जन्मायो । नयाँ बिचार र कार्यदिशाको मात्र जन्म भएन यसको नेतृत्व गर्ने नयाँ नेतृत्वलाई पनि जन्म दिएको छ । यो ज्यादै महत्वपूर्ण उपलब्धि हो ।

५. दश बर्षको जनयुद्ध र दश बर्षको शान्तिप्रक्रियाले नकारात्मक रुपमा के पनि शिक्षा दियो भने पहिलो — बिचार र कार्यदिशामा बिचलन आएपछि कार्यकर्ता र जनताले ठूलो बिश्वास गरेको नेतृत्वबाट पनि नसोचिएको धोका पाइदो रहेछ, मै हुँ भन्नेहरु पनि लुरुक्क र लुसुक्क आत्मसमर्पण गर्दा रहेछ्रन्, दोस्रो, सिद्धान्तबाट बिचलित भएपछि, बिचारबाट स्खलित भएपछि र व्यक्तिगत स्वार्थको लाभमा गएपछि आफैले जन्माएको बच्चा (जनयुद्ध, जनसेना, जसत्ता)लाई पनि कसरी निर्मम र निर्लज्ज हत्या गर्न सक्दा रहेछन्, तेस्रो — वर्ग बिचलनमा पुगेपछि र वैरीको क्याम्पमा पुगेपछि आफैलाई नजिकबाट सहयोग गर्ने र जीवन मरणको लडाईमा आफू मरेर पनि नेतृत्वलाई बचाउने सहयोद्धाहरुप्रति पनि कसरी निर्मम हुँदा रहेछन् र दमन र हत्या गर्नसम्म पछि नपर्दा रहेछन् भन्ने तथ्य जनयुद्धको नकारात्मक घटनाबाट प्राप्त शिक्षा हो । यसले नेतृत्वलाई हेर्ने दृष्टिकोणलाई पनि तिखारी दिएको छ, द्वन्दात्मक बन्न सिकाएको छ ।

यी समग्र शिक्षाले क्रान्तिकारीहरुलाई आगामी दिनमा अगाडि बढने प्रेरणा र शिक्षा दिएको छ । जसले क्रान्तिकारीहरुलाई जनयुद्धको बाँकी कामहरु जो १० बर्षको जनयुद्धमा समाधान भएका थिएनन् र त्यसमा अझ जटिलताहरु थपिएका छन् तिनको समाधान गर्ने काममा थप उर्जा दिइरहेको छ । हामीले देखिरहेका छौ । जसले जनयुद्धलाई यो गतिमा पुर्याए, तिनले पनि आज जनयुद्ध दिवस मनाइरहेको खवरहरु सुन्दा लेनिनले भन्नु भएझैं क्रान्ति पूरा भइसक्यो, अव क्रान्तिको आवश्यकता छैन भन्नेहरुका लागि हाँसो उठ्दो र निरर्थक लाग्नु स्वभाविक छ । यसको एक मात्र उद्देश्य यति मात्र हुन सक्छ ‘उत्रिसकेको कम्युनिष्ट रंग फेरी भर्नु’ अर्थात ’कुनै नाजायज काम गर्दा पोतेको मुखको कालो पोतो पसिनाले पुछिन लाग्दा फेरी दोहोरो मोसो दल्नु जस्तै भएन र ? खैर ठिकै छ ‘गोहीले आँसु चुहाए जस्तो रुपमा भएपनि जनयुद्धलाई संझने प्रयास गरेकोमा सकारात्मक ठान्नु पर्छ ।

जे होस जनयुद्धका यी शिक्षा क्रान्तिकारीहरुका लागि ज्यादै महत्वपूर्ण छन् र आत्मसाथ गर्न योग्य छन् । जनयुद्धको २६औं जनयुद्ध दिवसको अवसरमा जनयुद्धमा ज्यान गुमाउने सहिद, बेपत्ता योद्धाहरुको बिशेष स्मरण गर्न चाहन्छु र घाइते योद्धा तथा सहिद र बेपत्ता परिवार, सहयोग मित्र तथा समस्त जनतामा हार्दिक सम्मान छ र सबै जनयुद्धप्रेमीहरु, क्रान्तिकारी र परिवर्तन चाहने मित्रहरु तथा सहयोगी आम जनतामा एकता, प्रगति र सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :