सहिदका रक्तआफन्तहरु हो

सहिदका रक्तआफन्तहरु हो

सहेर प्रसव पीडा
व्यहोर्दै अनेक दुःखकष्ट
जीवन भन्दा प्रिय ठानी
उसकै पालन पोषणमा
उनकै शिक्षादिक्षामा
बोक्दै भय र प्रताडना
तड्पिएर पल–पलमा
हुर्काइएको मुटुको टुक्रालाई
रक्तपिपासुहरुले
जंगलीराजका दानवहरुले
निलेको सुन्दा
आपनो काख रित्तिएको सुन्दा
सिन्दुर पुछिएको सुन्दा
बुढेसकालको सहारा मेटिंदा र
आफुहरु टुहुरा भएको सुन्दा
निश्यय नै पीडा हुन्छ
छाती पोल्न थाल्छ
सम्झनामा आँसुका भेल बहन्छन्
अनि,
हृदयभरी संगालेर राखेका आकांक्षाहरु
र फर्केर आउला कि भन्ने आस मेटिदा
भावविह्वल होइन्छ
सिङ्गो पृथ्वी निस्तब्ध लाग्छ
तर यो युद्ध हो
समानताको निमित्त चलाइएको
न्यायिक तथा कष्टकर अभियान हो
तसर्थ यसमा रगत बग्नेगर्छ
अहिले रेवती र राजेन्द्रको रगत बगेकोछ
राम्चेको पाखामा
अनि कयौं वीर योद्धाको
रगत पोखिएकोछ
देशै रक्त आहाल बनेकोछ
नरभक्षीहरुको नरसंहारले
भोली हाम्रो रगत बग्न सक्छ
तसर्थ
तपाईहरु महान हुनुहुन्छ
किनकि उहाँहरु मर्नुभएकोछैन
बरु, इतिहासलाई निरन्तरता दिँदै
सच्चा सपूत बन्नु भएकोछ
अमर सहिद बन्नु भएकोछ
त्यसैले,
कायरहरुले उहाँहरुलाई निले तापनि
आज हामी जिउँदा छाैँ
शोकलाई शक्तिमा बदलेर
युद्ध मैदानमा छाैँ
मुक्ति अभियानमा सामेल भएका छाैँ
हामी जे जति छाैँ तपाईकै सन्तान हाैँ ।

(महान् सहिद निर बहादुर बि.क. ‘सागर’ वर्गीय र जातिय उत्पीडनका विरुद्ध लडेको सशक्त योद्धाको नाम हो । उहाँको जन्म सिन्धुपलाञ्चोक जिल्लाको इखुमा भएको थियो । उहाँलाई २०५५ साल कार्तिक २७ गते इखुमा गाउँकै सेल्टरमा बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरी गोली हानी हत्या गरेको थियो ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :