रुपन्देहीमा अखिल नेपाल शिक्षक संगठनको जिल्ला सम्मेलन

रुपन्देहीमा अखिल नेपाल शिक्षक संगठनको जिल्ला सम्मेलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य श्याम श्यान्चुरी, शिक्षक वेलप्रसाद शर्मा, रामजी आचार्य, अखिल नेपाल जनसांस्कृतिक महासंघका लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगर, अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक इन्दु वली लगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सम्मेलनको उद्घाटन गर्दै संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले शिक्षकहरुको पेशागत हकहितको लागि क्रान्तिकारी एवम् जनपक्षीय शिक्षकहरु एकजुट भएर अगाडि बढ्न अनुरोध गरे । प्रमुख अतिथि पाठकले बौद्धिक श्रमिकहरुले श्रमिकको पक्षमा आवाज उठाउनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराईले शिक्षकहरुलाई पेशाप्रति इमानदार हुँदै आफ्नो वर्गको हितको लागि समेत ऐक्यबद्द हुन आग्रह गरेका थिए । यसैगरी वक्ताहरूले नेपालको शैक्षिक तथा पेशागत आन्दोलनमा परिवर्तनका पक्षधर शिक्षक, कर्मचारीहरुको नेतृत्वदायी भुमिका खेल्दै आएको संगठनको इतिहासमा ३५२ शिक्षकहरुले शाहदत प्राप्त गरेको प्रसङ्ग स्मरण गर्दै नेपालको राजनीतिक परिवर्तनमा शिक्षकहरूको महत्वपूर्ण योगदान रहेता पनि राजनीतिक नेतृत्वले शैक्षिक र पेशागत मुद्दाहरूको सम्बन्धमा भने उदासिनता देखाउँदै आएको भन्दै वक्ताहरुले शिक्षकहरूको बलिदानी पूर्ण योगदानलाई निरन्तर स्मरण गरिरहने पर्ने कुरामा जोड दिएका थिए ।

जिल्ला सम्मेलनले रेशम चालिसेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनबाट उपाध्यक्ष अर्जुनप्रसाद पौडेल, सचिव दिपक बन्जाडे, सह–सचिवमा शेरचन्द्र गीरी, कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल सहित २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । कमिटीलाई रामजी आचार्यको संयोजकत्वमा बनेको निर्वाचन मण्डलले निर्वाचित गरेको थियो ।

संगठनका जिल्ला अध्यक्ष रेशम चालिसेको अध्यक्षता र सचिव झलकप्रसाद पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अर्जुन पोख्रेलले राखेका थिए । सम्मेलनमा विभिन्न भुमिकामा रही योगदान पुर्याएका ६ जनालाई सम्मानितसमेत गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :