एकीकृत जनक्रान्तिका ६ वर्षहरू

एकीकृत जनक्रान्तिका ६ वर्षहरू

“कार्यदिशा सही वा गलत हुने कुराले सबै कुराको छिनोफानो गर्दछ ।” — क. माओ

एकीकृत जनक्रान्तिको कार्यदिशाका ७ विशेषताहरू :

नगर समाजको विकास
नयाँ श्रमिक वर्गको विकास
विज्ञान र प्रविधिको विकास
मिश्रित सामाजिक चरित्र
भूपरिवेष्ठित देश
देशभक्त शक्तिको उपस्थिति
सत्ताको पुँजीवादी चरित्र

– (आठौँ महाधिवेशनबाट पारित राजनीतिक दस्तावेजबाट)

इतिहासको शिक्षा

सिद्धान्त कुनै जड्सूत्र हुँदैन, यसले वैज्ञानिक प्रयोगको माग गर्दछ । कुनै बेला कुनै देशमा सफल कार्यदिशालाई जस्तातस्तै अर्को देशमा लागु गर्नु जड्सूत्र हो, यसरी क्रान्ति हुँदैन । क्रान्ति आयात हुने चीज पनि होइन, यो त सम्बन्धित देशको परिस्थितिले सिर्जना गर्ने कुरा हो । क्रान्ति कुनै आकाशबाट बर्सिने र भुइँबाट उम्रिने वस्तु पनि होइन । यो त त्यो देशको वर्गसंघर्षले निक्र्योल गर्ने कुरा हो । क्रान्ति अरूले गरिदिने कुरा पनि होइन, क्रान्ति त सचेत वर्ग आफैँ गर्ने कुरा हो । क्रान्ति केवल भोका नाङ्गाहरूको लागि गरिने कुरा पनि होइन, यो त समग्र मानव जातिको उन्नत र विकसित सभ्याता निर्माण गर्ने प्रश्न हो । कुन कुरा सत्य हो भने सबभन्दा बढी, तुलनात्मक रूपले तत्काल सबभन्दा उत्पीडित वर्गको हितको निम्ति क्रान्ति लाभदायक छ तर यसो भन्नुको अर्थ अन्य वर्गका मानिसहरूका लागि होइन भन्ने अर्थमा बुझ्नु बिल्कुल गलत हुन्छ । सामान्य बुझाइमा– हुनुपर्ने के हो भने क्रान्तिमा अग्रपंक्तिमा, सबभन्दा धेरै, सबैभन्दा उत्साहित रूपले उत्पीडित वर्ग नै लाग्नुपर्ने हो तर नेपालको सन्दर्भमा, सायद यो विश्व परिवेशमा पनि सही हुन सक्छ कि सबभन्दा उत्पीडित र सबभन्दा पछि परेका मानव समुदाय विचार, चेतना र संस्कृतिमा सबभन्दा पछि छ र उसले माक्र्सवादलाई हम्मेसी बुझ्दैन, अझ क्रान्ति भनेपछि त ऊ तर्सिन्छ किनकि समाजका, देशका, परपरका ठुला–बडा भन्नेहरूले उसको दिमागमा त्यही भरिदिएका छन् ।

कहिलेकाहीँ त पुँजीपति वर्गले, नेपालको सन्दर्भमा सामन्ती, फटाहा, अहिले भन्नुहुन्छ भने दलालहरूले त्यही उत्पीडित वर्ग–समुदायलाई कम्युनिस्टहरूको विरुद्ध, उनीहरूकै मुक्तिको निम्ति लड्ने वर्ग, जनसेनाका विरुद्ध सिआईडी, सुराकी गर्नमा प्रयोग गर्दै आएका छन्, संसदीय दलहरूले उनीहरूलाई भोटबैंक बनाएका छन्, एक बोटल सक्सी, एक बुट्को जाँड र चुनावहरूमा १,००० रूपैयाँमा एक भोटमा बिक्छन् र क्रान्तिलाई हानी– नोक्सानी पुर्याउँछन् । यो उनीहरूको दोषभन्दा पनि सत्ताले बनाएको सामाजिक बाध्यताका कारणले हो । त्यसैले हरेक युगका, हरेक देशका र हरेक क्रान्तिहरूको अगुवाइ निम्न मध्यम, मध्यम वर्गीय सचेत तप्काले गर्दै आएको छ । यो वर्ग यदि विचार र सिद्धान्तमा सर्वहारा वर्गप्रति दृढ भएन भने आफ्नो वर्ग चरित्रले गर्दा विचलनको बाटो पनि पकड्छ जसले गर्दा क्रान्तिले ढोका खाने र क्रान्तिहरू तुहिने पनि गरेका छन् । सही ढंगले नेतृत्व गर्दा क्रान्तिको सुनिश्चितताको दुरी पनि घटेको छ । यसमा सबभन्दा सचेत वर्गको कम्युनिस्ट पार्टीले मात्र यो भूमिका पूरा गर्न सक्दछ । नेपालमा यो भूमिका पूरा गर्न हजारौँ हण्डर–ठक्करबाट पुनर्गठित हुँदै आज नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशाको जन्म भएको छ । यो कार्यदिशाले आज छैटौँ वर्ष पूरा गरेर सातौँ वर्षमा प्रवेश गरेको छ । यो नेपालको वर्तमान सन्दर्भमा नयाँ र नौलो कार्यदिशा हो । यसले केही सफलता र सकारात्मक परिणामहरू हात पार्दै अघि बढेको छ ।

एकीकृत जनक्रान्तिका ६ वर्षहरूको जराहरू

यतिबेला हामी एकीकृत जनक्रान्तिको प्रक्रियामा छौँ । यो भनेको नेपाली कम्युनिस्ट आन्दोलनको करबि उत्तराद्र्धतिरको चरण हो । नेपाली कम्युनिस्ट आन्दोलनले यतिबेला ७ दशक पूरा गरेर आठौँ दशकमा प्रवेश गरेको छ । नेकपाको स्थापनापछि नेपाली क्रान्तिको प्रक्रियाले,

१०४ वर्षको राणा शासनलाई निषेध गरेको छ,
३० वर्षको निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थालाई निषेध गरेको छ,
१७ वर्षको संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्थालाई निषेध गरेको छ,

२०६३ पछिको करिब १५ वर्षको गणतन्त्रात्मक संसदीय व्यवस्था र नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेका विभिन्न रूपका संशोधनवादहरूलाई पनि व्यहोर्दै अहिले तिनलाई पनि सामाजिक दलाल पुँजीवाद र सामाजिक फासिवादमा पतन गराउन नेपाली क्रान्ति सफल भएको छ ।

यसले ७ दशकको नेपाली कम्युनिस्ट आन्दोलनको दिशालाई प्रगति र सफलतातिर उकालो चडेको ग्राफ प्रस्तुत गर्दछ । कम्युनिस्टहरू यी सफलता र सकारात्मक उपलब्धिहरूमा टेकेर अगाडि बढ्ने साहस र आँट गर्नुपर्दछ । इतिहासले हामीलाई के शिक्षा दिन्छ भने,

राणा शासनको अन्त पनि वैकल्पिक सेना बनाएर सशस्त्र संघर्षको बलमा भएको थियो ।
२००९ सालमा पश्चिम नेपालमा किसान नेता भीमदत्त पन्तको नेतृत्वमा सशस्त्र किसान विद्रोह भएको छ र यसले सामन्त जमिनदार तथा स्थानीय जाली–फटाहाहरूको सात्तो गएको छ । यसलाई भारतीय सेना लिएर दबाइयो ।
३० वर्षको निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य संयुक्त जनआन्दोलनको बलामा भएको भए पनि यसको जगमा अधुरो सशस्त्र झापा विद्रोह छ ।
२०४६ पछिको करिब देडदशकको संवैधानिक राजतन्त्रको अन्त्य १० वर्षको सशस्त्र जनयुद्धको बलमा १९ दिने संयुक्त जनआन्दोलनबाट भएको छ ।
२००७ सालपछिको ७ दशकको इतिहासमा ३० वर्षको पञ्चायती व्यवस्थालाई छाडेर पटक पटक गरी ३२ वर्षको दौरानमा संसदीय व्यवस्था ६ पटक विघटन भएको छ । जसमा ३ पटक काँग्रेसको नेतृत्वको सरकार र ३ पटक वामपन्थी नेतृत्वको सरकार (संविधानसभाको विघटनसहित) विघटनमा परेको छ । यो भनेको संसदीय व्यवस्थाको असफलता हो ।
यी सबै आन्दोलन र विद्रोहहरूमा विदेशी शक्तिकेन्द्रहरूको प्रत्यक्ष हस्तक्षेप हुँदै आएको छ । यी चारओटै घटनाहरूमा प्रत्यक्ष रूपले राजनीतिक तथा फौजी हिसाबले भारतीय हस्तक्षेप रहेको छ ।

माथिका घटनाक्रमहरूले निम्न तथ्यलाई इङ्गित गर्दछन्—
नेपालमा संसदीय व्यवस्थाको पटक पटकको विघटनको घटना र संसदीय व्यवस्थाको असफलताले अब नेपाली चरित्रको समाज र नेपालको भू–राजनीतिक अवस्थाले संसदीय सिस्टम होइन, यसको विकल्पको खोजिरहेको छ । यसले अब पुरानो सिस्टम र नेतृत्व होइन, नेपाली मार्काको नौलो र नयाँ सिस्टम तथा नयाँ नेतृत्वको आवश्यकताको माग गर्दछ ।
हरेक घटनाहरूमा र राजनीतिक परिवर्तनको जगमा सशस्त्र संघर्ष छ । यसले सशस्त्र संघर्षको अनिवार्यतालाई इङ्गित गर्दछ ।
२०३६, २०४६, २०६२/०६३ का संयुक्त जनआन्दोलनहरूबाट रूपमा केही आंशिक परिवर्तनहरू भएको जस्तो देखिए पनि यसको जगमा (भित्री सारपक्ष) सशस्त्र संघर्ष रहेको संझौता र षड्यन्त्रबाट शान्तिपूर्ण जनआन्दोलनको प्रचार ‘हाईलाइट’ गर्ने काम हुँदै आएको छ । यी शान्तिपूर्ण भनिएका वैधानिक र दबाबमूलक आन्दोलनहरूबाट पनि केही आंशिक सुधारका कामहरू हुँदै आएका छन् तर यी सत्ता परिवर्तनको लागि निर्णायक देखिँदैनन् ।
यी हरेक निर्णायक संघर्षहरूमा विदेशी हस्तक्षेप नै निर्णायक बन्दै आएको छ र नेपाली राजनीतिका खेलाडी नेताहरू कुनै न कुनै रूपमा विदेशी शक्तिसामु आत्मसमर्पण र संझौता गर्दै जनताको परिवर्तनको आकांक्षामाथि कुठराघात गर्ने र जनताको अग्रगामी कदममाथि पानी खन्याउने गर्दै आएका छन् ।
माथिका घटनाक्रमहरूले के स्पष्ट देखाउँछ भने,
नेपाली क्रान्ति चीनको जस्तै लामो लगातारको क्रान्तिको चरित्रमा पनि देखा परेन, रुसको जस्तै दश दिने क्रान्तिको चरित्रमा पनि देखा परेन । नेपाली क्रान्ति आफ्नै विशेषतामा देखा परेको छ ।
नेपालको वर्गसंघर्षको चरित्र कहिले सशस्त्र युद्ध, कहिले सशस्त्र जनयुद्ध, कहिले सहरी संघर्ष, कहिले जनआन्दोलनको प्रक्रियामा नेपाली कम्युनिस्ट आन्दोलन खण्ड–खण्डमा टुक्रे आन्दोलन र क्रान्तिहरू गर्दै आएको देखिन्छ ।
सहरी संघर्ष र जनआन्दोलनबाट केही सुधारवादी परिवर्तनहरू र सशस्त्र संघर्षबाट तुलनात्मक रूपले अलि गुणात्मक खालका सत्ता परिवर्तनहरू हुँदै माथि भनिएका शासन सत्ताको स्वरूपहरूलाई बदल्दै नेपाली क्रान्ति सामाजिक तथा राजनीतिक परिवर्तनको उत्तराद्र्धतिर आइपुगेको हामी देख्न सक्छौँ ।
सायद अन्तिम गुणात्मक क्रान्तिले गुणात्मक खालका परिवर्तनलाई जन्म दिन सक्ने संभावनालाई विगतका अनुभवहरूले संकेत गर्दछन् । सायद त्यसैको आवश्यकतामा यी सबै आन्दोलन र क्रान्तिहरूको समुच्च रूपलाई सशस्त्र संघर्षले नेतृत्व गर्दै अन्तिम र निर्णायक क्रान्ति गर्ने अबको आवश्यकता बन्न आइपुग्यो भन्न सकिन्छ । यो आवश्यकतामा एकीकृत जनक्रान्तिको सिद्धान्तले नेपाली क्रान्तिमा रंग लिन लागेको पनि स्पष्ट देखिन्छ ।
यिनैको योगफलमा (सशस्त्र संघर्षको नेतृत्व र जनआन्दोलनको समर्थनमा) दलाल पुँजीवादका विरोधी शक्तिहरूसहितको समर्थनमा, रूपमा स्वदेशी दलालहरू र सारमा तिनको पछाडि पर्दा पछाडि रहेको साम्राज्यवादी चुनौतीसमेतलाई ख्याल गर्दै अगाडिको यात्रा तय गर्नुपर्ने स्थिति नेपाली क्रान्तिको कार्यदिशाले बोकेको छ । नेपालको सन्दर्भमा एकै समयमा (लामो दीर्घकालिक वा (छोटो अल्पकालिकभन्दा पनि टुक्रा–टुक्रामा हुँदै आएका परिवर्तनहरूलाई पनि जोड्दै क्रान्तिलाई पूर्णता दिने निर्णायक कार्यदिशा आवश्यक छ । यी सबैलाई ध्यान दिँदै एकीकृत जनक्रान्तिको कार्यदिशाको जन्म भएको छ ।

एउटा गौरवमय इतिहास

यी टुक्रा–टुक्रामा हुँदै आएका आन्दोलन र क्रान्तिहरूले नेपाली क्रान्तिका समस्याहरूलाई पार गर्दै नयाँ–नयाँ क्रान्तिका चुनौतीहरूको सामना गर्दै आएको छ । यसै क्रममा नेपाली क्रान्तिको सबभन्दा भीषण र उथलपुथलकारी वर्गयुद्धको रूपमा नेकपा माओवादीको नेतृत्वमा २०५२ देखि २०६३ सम्म चलेको महान् जनयुद्ध नेपाली क्रान्तिको एक ऐतिहासिक परिघटना बन्न पुगेको छ, जसले हजारौँ वर्षदेखि नेपाली समाजमा जरो गाडेर बसेको सामन्ती सत्ता (राजतन्त्र) लाई उखेलेर फाल्न सफल भएको छ । यो इतिहासकै एउटा महत्वपूर्ण राजनीतिक घटना हो । यद्यपि यसले पूर्ण रूपमा आफ्नो लक्ष्य चुम्न नसक्दा नेपाली जनताले आशा गरेको जनताको सत्ता (नयाँ जनवादी व्यवस्था) प्राप्त हुन सकेन । यसले नेपाली जनता र नेपालको क्रान्तिकारी राजनीतिमा तात्कालिक हिसाबले असाध्यै गहिरो र गंभीर प्रकारको नकारात्मक असर पार्यो, जसले अबका क्रान्तिका बाटोमा धेरै ठुला चुनौतीहरू पनि खडा गरिदियो । यसको कारण जनयुद्धको प्रक्रिया पूरा नहुनु र नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न हुन नसक्नु हो । यसको आन्तरिक कारण विश्व कम्युनिस्ट आन्दोलनमा साम्राज्यवादले खडा गरेको चुनौती, खासगरी क. माओपछि विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेको दार्शनिक, सैद्धान्तिक र वैचारिक क्षेत्रमा देखा परेको समस्याहरूको अनुत्तरित प्रश्नहरूको हल नहुनु र माओवादी आन्दोलनमा पछिल्लो समयमा देखा परेको समस्या र चुनौतीहरूको हल खोज्नुको सट्टा मूल नेतृत्व आन्दोलनबाट भाग्नु हो । यसलाई हाम्रो पार्टीले मूल नेतृत्वमा आएको ‘विचलन’ भनेको छ । यही विचलनको परिणाम नै अन्ततः नेतृत्व आत्मसमर्पणसम्म पुगेको तथ्य पनि जगजाहेर छ ।

क्रान्तिमा थपिएका जटिलताहरू

यसरी बाह्य र आन्तरिक मुख्यतः आन्तरिक कारणले नेतृत्वले क्रान्तिलाई बिच बाटामै अलपत्र पारेर भागेपछि बिचैमा विसर्जन हुन पुगेको नेपाली क्रान्तिको पुनरुत्थान गर्ने र क्रान्तिलाई फेरि मूलधारमा ल्याउने काम निकै चुनौतीपूर्ण र जोखिमपूर्ण थियो नै । त्यो चुनौतीको सामना गर्न नसकेर आत्मसमर्पण गर्न पुगेका अघिल्ला पुस्ताका नेताहरू यो वा त्यो बहानामा साम्राज्यवादका सामु आत्मसमर्पण र दलाली गर्नु पुग्नुका साथै, क्रान्तिकै विरुद्ध खडा हुन पुग्नु र कतिपय अकर्मण्यताको भुँमरीमा पर्नुले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रतिक्रान्तिकारीहरूलाई टेवा पुग्नुले यस कार्यलाई झन् जटिल बनाइदियो ।

एक महान् कार्य

यी अफ्ठ्यारा र चुनौतीहरूका बाबजुद एक साहसी युवापुस्ताका कमरेड, एक आशावादी युवानेता कमरेड विप्लवले यो ऐतिहासिक कार्यभारलाई काँध थाप्ने साहस गर्नुभयो र चुनौतीको सामना गर्न तयार हुनुभयो । साँच्चै भन्ने हो भने यो कार्य चानचुने कार्य थिएन । यो एक महान् र ऐतिहासिक कार्य थियो । यस महान् काममा हामी क्रान्तिभीरुहरू उहाँको यो साहसिक कदमलाई साथ दिन तयार भयौँ । यसको परिणाम माओवादी आन्दोलनको मूलधार, क्रान्तिकारीहरूको असली टिम, यी तमामखाले गलत चिन्तन–प्रवृत्ति र भड्कावका विरुद्ध विद्रोह बोल्दै, कमरेड विप्लवको नेतृत्वमा नेकपाको पुनर्गठन गर्न सफल हुनु र एकीकृत जनक्रान्तिलाई सुसंगठित गर्न र नेतृत्व दिन सक्षम हुनु, अर्को ऐतिहासिक कार्य बन्न गयो । यसले नेपाली क्रान्ति र जनमानसमा समेत आएको घोर निराशालाई, आरसीपी अमेरिकाका नेता क. बब एभाकिनले भनेझैँ ‘होप अफ द होपलेस’ अर्थात् निराशहरूको आशमा बदल्न सफल भयौँ अर्थात् चकमन्न अँध्यारोमा टुकी बालेजस्तै, दिशाविहीनहरूको लागि दिशाबोध, बेसहाराहरूका लागि भरपर्दो सहारा बन्न पुग्यो ।

सही कार्यदिशा

आखिरमा क. माओले डँडेलो लगाउन ‘सलाईको एउटा काँटी’ काफी हुन्छ भनेजस्तै ‘ एकीकृत जनक्रान्ति’ नेपाली क्रान्तिको डँडेलो लगाउन एउटा ‘काँटी’ बन्न पुगेको छ । आज यसले दलाल पुँजीवादी ‘मुढो’ मा आगो सल्काउन सफल भएको छ । आगो सल्केपछि डँडेलो लाग्न धेरै समय कुर्नपर्छ भन्ने लाग्दैन । चैत महिनाको हावाहुरीको समय कुर्नुपर्छ । नेपालमा दलाल पुँजीवादमाथि आगो झोस्ने कार्य नेकपाले गरेको छ र एकीकृत जनक्रान्ति त्यो मशाल हो, जसले यो दलाल पुँजीवादलाई खरानी पार्नेछ ।
आज नेपाली कम्युनिस्ट आन्दोलनमा आफूलाई भयंकर विद्वान् ठान्ने कम्युनिस्ट नेताहरू दलाल पुँजीवादी व्यवस्थासँगै ‘बयाली खेल्दै’ संसदीय भासमा हेलिन पुगेको अवस्थामा,

नेपाल कम्युनिस्ट पार्टी यतिबेला उत्पीडित जनता र राष्ट्रवादी, देशभक्त नेपालीहरू, सबैको आशा र भरोसाको केन्द्र र यो देशको एक अनिवार्य, निर्विकल्प वैकल्पिक शक्तिको रूपमा उभिएको छ ।
यो कार्यदिशा सही हुनुको परिणाम हो । आखिरमा “कार्यदिशा सही वा गलत हुनुले सबै कुराको छिनोफानो गर्दछ” भन्ने कुरालाई सावित गर्दै ‘एकीकृत जनक्रान्ति’ ले आफूलाई पनि व्यवहारमा परीक्षित गर्दै अघि बढेको छ ।
यो कुरा केले पनि पुष्टि गर्दछ भने,
आज नेकपा र एकीकृत जनक्रान्तिमाथि नेपालको प्रतिक्रियावादी दलाल सत्ताले प्रतिबन्ध लगाएको छ र क्रूर दमन गरिरहेको छ ।
साम्राज्यवादले पनि गंभीर चुनौती ठान्दै नेकपालाई सिध्याउने रणनीति लिएको छ । हिन्द प्रशान्त रणनीति र एमसीसी परियोजना यसको उदाहरण हुन् ।
यसले के पनि पुष्टि गरेको छ भने अब नेपालमा नेकपा जसले ‘माओवादी केन्द्र’ लाई ‘काँचुली’ को रूपमा छाडेर आज ‘असली कम्युनिस्ट पार्टी’ को रूपमा उभिएको छ र यो नै आजको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको मूलधार हो ।
अर्को महत्वपूर्ण तथ्य यो पनि हो कि हिजोको माओवादीको काँचुलीको रूपमा रहेका माओवादीका नक्कली हिस्सा प्रचण्डको नेतृत्वमा एमालेमा विलीन हुनु, सत्तारुढ सामाजिक दलाल पुँजीवादी चरित्रमा नाङ्गाे रूपमा उत्रिन बाध्य हुनु र आखिरमा सामाजिक फासिवादमा पतन हुनु ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशाको अर्को सफलता हो ।
अतः के निष्कर्षमा पुग्न सकिन्छ भने,
सत्ता दलाल पुँजीवादीहरूको हातमा नाचिरहेको छ । विदेशी हस्तक्षेप अधिकतम रूपमा बढेको छ । यसले देशभक्त शक्तिहरू, राष्ट्रिय पुँजीपति वर्ग, मध्यम वर्ग, बुद्धिजीवी र प्रगतिशील पक्षधरहरूलाई एक ठाउँमा ल्याएको छ । विदेशी शक्तिहरू र देशका दलाल पुँजीवादीहरूका विरुद्ध नेपाली जनताको एकता अझ सुदृढ बन्दै गएको छ ।
तीन वर्ष नपुग्दै देशको अर्थतन्त्र तहस नहस भएको छ । २०७४ को चुनाव अगाडि प्रतिव्यक्ति नेपालीहरूको टाउकोको ऋण करिब २० हजार थियो भने दुई चरणका निर्वाचनपछि यो ऋण बढेर २२ हजार नाघेको थियो । अहिले ४ वर्ष नपुग्दै यो ऋणभार दोब्बरले बढेर ५० हजार नाघेको छ । यो सन् २०२० को सरकारी आँकडा हो । यो भनेको करिब १५ खर्ब चानचुन पर्न आउँछ । यसले नेपालको अर्थ व्यवस्था कति खराब बन्दै गएको छ भन्ने देखाउँछ ।
अन्तर्राष्ट्रिय र राष्ट्रिय अन्तरविरोध असाध्यै पेचिलो अवस्थामा पुगेको छ । अमेरिकी चुनावमा ट्रम्पको पराजय र नेपालमा सत्ताधारी नेकपाबिचको चर्को अन्तरविरोध र पार्टी विभाजनसम्म पुग्नु र त्यसैको कारण आफ्नै नेतृत्वमा रहेको दुईतिहाइ बहुमतको सरकारको विघटन गर्नुले राष्ट्रिय राजनीति र नेपालमा सत्तामा आएको सत्ता संकटलाई पुष्टि गर्दछ ।
राष्ट्रिय राजनीतिमा आएको संकटले संसदीय व्यवस्थाको संकट र असफलता तथा सत्ताधारी पार्टी र त्यसको नेतृत्व गर्ने शासक नेताहरूको समेत असफलता र अयोग्यतालाई पुष्टि गर्दछ । यसले अनिवार्य रूपमा सत्ता र यसको नेतृत्वको विकल्पको माग गर्दछ । सबै हिसाबले अबको विकल्प अब कुनै पनि हालतमा संसदीय व्यवस्था नहुने र यसको विकल्प पश्चागामी शक्ति र व्यवस्था नहुने कुरा पनि स्पष्ट छ । यसले अनिवार्य रूपमा वैज्ञानिक समाजवादको विकल्प दिएको छ ।
घटनाक्रमहरूले के पुष्टि गर्दछन् भने अब दलाल पुँजीवाद वा सामाजिक फासिवादका विरुद्ध क्रान्तिकारी, देशभक्त, प्रगतिशील शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन र देशलाई नयाँ निकास दिनुको विकल्प छैन भन्ने स्पष्ट गर्दछ । यसैले एकीकृत जनक्रान्तिको कार्यदिशाको वैज्ञानिकता अझ पुष्टि हुँदै गएको छ ।

अन्तमा,

नेपाली उखानमा ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ एकीकृत जनक्रान्तिले आफ्नो प्रारम्भिक सफलताहरूसहित नेपाली क्रान्तिलाई उत्कर्षतिर धकेल्दै गएको छ ।
आखिरमा कार्यदिशा सही हुनुले नै सबै चीजहरूलाई निर्धारण गर्दछ । यसमा नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरालाई पनि पुष्टि गरेको छ ।
अब हिजोका आन्दोलनका कतिपय पात्रहरू सकारात्मक वा नकारात्मक रूपमा क. माओले भन्नुभएझैँ केवल इतिहासको ‘संग्रहालय’ का विषय बन्न पुगेका छन् ।
अब नेपालमा वैज्ञानिक समाजवादलाई कसैले चाहेर पनि रोक्न सक्नेछैनन् किनकि वैज्ञानिक समाजवाद र साम्यवादी सत्ता अबको अनिवार्य आवश्यकता बन्न पुगेको छ ।
अन्तिममा दृढताका साथ यति भन्न सकिन्छ कि यदि हामीले गल्ती गरेनौँ भने र एकीकृत जनक्रान्तिलाई साँच्चै नै दृढतापूर्वक लागु गर्यौँ भने, यसलाई जनतासँग जोडेर पार्टी नीति, निर्णय र निर्देशनहरूलाई दृढतापूर्वक र इमानदारितापूर्वक लागु गर्यौँ भने हामीलाई क्रान्तिको अन्तिम विजयसम्म पुग्न कसैको तागतले छेक्न सक्नेछैन र त्यो दिन धेरै टाढा पनि छैन ।

त्यसैले, सबै क्रान्तिकारी, प्रगतिशील देशभक्त– लोकतन्त्रवादी तथा समाजका सचेत वर्ग र आम जनसमुदाय एक बनौँ । नेपाल हामी सबैको हो, क्रान्ति हामी सबैको निम्ति हो । एकीकृत जनक्रान्ति – जिन्दावाद ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :