रणनीतिक संयुक्त मोर्चाबारे

रणनीतिक संयुक्त मोर्चाबारे

गत बिहीबार नेपालको वर्तमान संसदीय व्यवस्था र संविधानप्रति असहमति राख्दै आएका चार राजनीतिक पार्टीहरूले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । राजधानीस्थित प्रज्ञा भवनमा आयोजित घोषणा कार्यक्रममा रणनीतिक मोर्चाको अवधारणा–पत्रसहित सांगठनिक संरचना र संघर्षका कार्यक्रमसमेत घोषणा गरेपछि त्यसबारे विभिन्न चर्चा– परिचर्चा सुरु भएका छन् । नेपालमा प्रतिनिधिसभा विघटन गरेपछि पैदा भइरहेको अन्यौलता र संसद् विघटनको औचित्यमाथि भएका समर्थन र विरोधलगायत संसदीय घेरावरिपरि बहस भइरहेको अवस्थामा संसदीय व्यवस्थाकै विरुद्धमा रहँदै आएका पार्टीहरूद्वारा घोषणा गरिएको यस किसिमको रणनीतिक संयुक्त मोर्चाको घोषणाले नेपालको राजनीतिक–वृत्तमा नयाँ खालको बहस सिर्जना गरेको छ । संसदीय धारभन्दा फरक राजनीतिक धार र अग्रगामी नयाँ विकल्प पेश गरेकाले पनि यसको बेग्लै र विशिष्ट महत्व रहेको छ । खासगरी संसदीय व्यवस्था असफलसिद्ध भइसकेको र अन्य वैकल्पिक व्यवस्थाको आवश्यकता रहेको निष्कर्षमा पुगेका तर तत्काल अर्काे विकल्प पनि नदेखिरहेका राजनीतिक शक्ति, स्वतन्त्र विश्लेषक, नागरिक अगुवा तथा बौद्धिक व्यक्तित्व र आम जनसमुदायले समेत यसलाई निकै चासो र जिज्ञासापूर्वक हेरिएको छ ।

कुनै पनि राजनीतिक शक्तिहरूबिच आपनो साझा उद्देश्य वा स्वार्थ पूरा गर्न विभिन्न रूप वा स्तरको परस्पर सहयोग, गठबन्धन वा मोर्चा निर्माण हुने गर्दछ । विषय वा उद्देश्यका आधारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अनेकौँ गठबन्धन र मोर्चाहरू निर्माण भइरहेको हुन्छ । त्यो कुनै पनि देश र देशका बिच वा कुनै पनि शक्ति र समूहबिच हुन सक्छ । शासक र शासकबिच पनि विशेष स्वार्थ हासिल गर्न वा क्रान्तिकारीविरुद्ध दमन गर्ने सहकार्यको रूपमा पनि हुने गर्छ । क्रान्तिकारीहरू भने क्रान्तिको लक्ष्य पूरा गर्न सबै परिवर्तनका पक्षधरहरूलाई संगठित गर्न संयुक्त मोर्चाको नीति अवलम्बन गर्दछन् । राजनीतिक पार्टीहरूबिच आफ्नो उद्देश्य प्राप्तिका लागि आपसी सहकार्य र मोर्चा निर्माण अनेकौँ दृष्टान्त पाउन सकिन्छ । यस किसिमका मोर्चाहरूको उद्देश्य र सहकार्यको स्तरले तिनको स्तर र विशेषतालाई निर्धारण गर्दछन् ।

समझदारी, सहमति र सहकार्यभन्दा उच्चस्तरको, विभिन्न पक्षहरूको निश्चित उद्देश्य, नीति, कार्यक्रम तथा पक्षधरहरूको सहभागितामूलक सांगठनिक ढाँचा र कार्यविधिसहितको संरचना नै संयुक्त मोर्चा हो । उद्देश्य र सांगठनिक स्तरका आधारमा संयुक्त मोर्चा विभिन्न किसिमका हुने गर्छन् । तत्कालीन संयुक्त मोर्चा, कार्यनीतिक संयुक्त मोर्चा, रणनीतिक संयुक्त मोर्चा आदि । राजनीतिक रूपमा संयुक्त मोर्चा निर्माणको अर्थ र महत्वलाई भिन्न र विशेष रूपमा हेरिन्छ । त्यसमा पनि कम्युनिस्ट आन्दोलन विशेष गरी क्रान्तिकारी पार्टी र आन्दोलनमा संयुक्त मोर्चाको विषयलाई निकै महत्वको विषय मानिन्छ । नेपालमा पनि विभिन्न जनआन्दोलनमा सहभागी दलहरूबिच सहकार्य र तत्कालीन मोर्चा निर्माणको अभ्यास देख्न सकिन्छ । तर, त्यस किसिमका मोर्चाहरू तत्कालीन उद्देश्यमा सीमित र अस्थायी प्रकृतिका पाइन्छ । कार्यनीतिक उद्देश्यका लागि निर्मित मोर्चा कार्यनीतिक मोर्चा हुन्छ भने रणनीतिक उद्देश्य प्राप्तिका लागि गरिने मोर्चा रणनीतिक संयुक्त मोर्चा हुन पुग्छ । यसरी हेर्दा नेपालमा अहिलेसम्म रणनीतिक संयुक्त मोर्चाको निर्माण भएको थिएन । यस अर्थमा यो रणनीतिक मोर्चा नेपाल नेपालको राजनीतिक इतिहासमा पहिलो रणनीतिक संयुक्त मोर्चा हुन पुगेको छ ।

त्यसो त कम्युनिस्ट पार्टीहरूमा सैद्धान्तिक र रणनीतिका विषयमा प्रायः समान विचार र धारणा हुने गर्छ तर तत्कालन परिस्थितिको विश्लेषण, तत्काल पार्टीले लिनुपर्ने नीति र कार्यक्रमबारे फरक दृष्टिकोण, असमान बुझाइ र धारणाले पार्टीमा अन्तरविरोध सिर्जना हुने र कतिपय अवस्थामा तिनै कार्यनीतिक महत्वका विषयलाई लिएर पार्टी विभाजनसमेत हुने गरेका उदाहरण छन् । कार्यनीतिक भिन्नताको आधारमा पार्टी फुट्नसमेत तयार हुने कम्युनिस्ट पार्टीहरू रणनीतिमा देखिने एकरूपताको आधारमा किन जुट्न सक्दैनन् ? भन्ने प्रश्न सबै क्रान्तिकारी पार्टीहरूमाथि जहिले पनि उठिरहेको विषय हो ।

कुनै पनि देशमा आमूल परिवर्तनका पक्षमा संघर्षरत राजनीतिक पार्टी विशेष गरी क्रान्तिद्वारा राज्यसत्ता परिवर्तन गर्ने मान्यता राख्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू कुनै पनि देशमा क्रान्ति सम्पन्न गर्न मुख्यतः तीन किसिमको आधारभूत पक्ष आवश्यक पर्ने ठान्दछन । जसमा पहिलो क्रान्तिकारी कम्युनिस्ट पार्टी, दोस्रो जनताको जनसेना र तेस्रो विद्यमान राज्यसत्ताबाट उत्पीडित सबै जनसमुदायको प्रतिनिधित्व गर्ने संयुक्त मोर्चा । यो अवधारणा चिनिया क्रान्तिको समयमा क. माओले अघि सार्नुभएको थियो । त्यसैले, माओवाद वा माओविचार, विचारधारा मान्ने पार्टीहरूले यसलाई तीन जादुगरी हतियारको रूपमा परिभाषित गर्ने गर्दछन् ।

अवधारणा–पत्रको आधारमा हालै गठन भएको मोर्चा नेपाली क्रान्तिकारी आन्दोलनको इतिहासमा पहिलो रणनीतिक संयुक्त मोर्चा हो । सबै क्षेत्रमा रहेका क्रान्तिकारीहरूका लागि यो एउटा महत्वपूर्ण उपलब्धि हो । यसको थप विशेषता के रहेको छ भने यो संयुक्त मोर्चा कुनै एक पार्टीको नेतृत्वमा अरू विभिन्न उत्पीडित क्षेत्र, समुदाय वा पक्षहरू संलग्न भएको नभई क्रान्तिकारी पार्टीहरूकै बिच सहभागी पार्टीहरूले एकले अर्काे पार्टीको राजनीतिक स्वत्व र महत्व स्वीकार गर्दै समानताको आधारमा गठन भएको हो । यो आकस्मिक रूपले नभई सचेतन प्रयत्नका साथ निर्माण भएको हो । साथै, यो तत्कालीन वा कार्यनीतिक सवालमा मात्र सीमित मोर्चा होइन । यो रणनीतिक संयुक्त मोर्चा नेपालमा संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनीतिक उद्देश्यका आधारमा संगठित भएको हो ।

त्यसकारण यसको स्थायित्व स्वभाविक रूपले अल्पावधिको नभई दीर्घावधिको हुनेछ । यसले विगत राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत देखिने आफूबाहेक अरू कोही पनि कम्युनिस्ट पार्टी होइनन् र क्रान्तिकारी त झन् हुँदै होइनन् भनी आफूलाई मात्र कम्युनिस्ट र क्रान्तिकारी दाबी गर्ने, आफू मात्र ठीक र अरू सबै खराब र खत्तम भन्ने संकीर्णताबाट मुक्त हुँदै माथि उठ्ने प्रयास गरेको छ । आफू मात्र सही हुनु वा हो भनेर डिङ हाँक्नु र आत्मरति लिनुको कुनै अर्थ हुँदैन, यो क्रान्तिकारिता पनि होइन, बरु वस्तुगत परिस्थितिको माग के हो ? क्रान्तिको आवश्यकता के हो ? क्रान्तिको आरम्भ वा विकासका लागि अरू क्रान्तिका पक्षधरसँग हातेमालो गर्न र त्यसमा आफ्नो र आफू संलग्न पार्टीको भूमिका कस्तो हुनुपर्ने हो, त्यसलाई निक्र्यौल गरी क्रान्तिको मार्गमा अघि बढ्नु र क्रान्तिलाई विजयसम्म पुर्याउनु नै कम्युनिस्ट इमानदारिता हो, बुद्धिमानी हो र त्यो नै क्रान्तिकारी कदम हो । त्यस अर्थमा यो रणनीतिक संयुक्त मोर्चा क. माओले प्रस्तुत गर्नुभएको क्रान्तिकारी संयुक्त मोर्चाको अवधारणाको दुरुस्त प्रयोग नभएर त्यसभन्दा भिन्न प्रकृतिको क्रान्तिकारी पार्टीहरूबिचको रणनीतिक संयुक्त मोर्चा बन्न पुगेको छ । यसले आगामी दिनहरूमा सहकार्यको प्रक्रियामा रणनीतिक संयुक्त मोर्चामा संलग्न पार्टीहरू र अन्य क्रान्तिकारी मित्र शक्तिहरूबिच पार्टी एकताकै आधार तयार हुने विश्वास गर्न सकिन्छ ।

समग्रमा यो रणनीतिक संयुक्त मोर्चाको गठनले नेपालमा क्रान्तिकारीहरू फुट्ने मात्र होइन, आवश्यकताअनुसार जुट्न र सहकार्य गर्नसमेत तयार हुन्छन् भन्ने सकारात्मक सन्देश दिएको छ । संसदीय व्यवस्थामा रुमल्लिएका पार्टी र नेताहरू आफ्नो स्वार्थका लागि जुट्ने र स्वार्थमा धक्का लाग्नासाथ फुट्न तल्लीन भइरहेको वर्तमान परिस्थितिमा क्रान्तिकारीहरूको सहकार्य र जुटतर्फको यस सहयात्राले देश–विदेशमा रहेका सबै क्रान्तिका पक्षधर, प्रगतिशील, परिवर्तनकारी र आम जनसमुदायमा समेत उत्साह र ऊर्जा पैदा गरेको छ । रणनीतिक संयुक्त मोर्चा आपनो उद्देश्य पूरा गर्न, स्वाधीन र समृद्ध राष्ट्र तथा समतामूलक समाज निर्माण गर्न सफल रहोस् ! हार्दिक शुभकामना ! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :