वार्ताभित्र ओलीको भयानक षड्यन्त्र

वार्ताभित्र ओलीको भयानक षड्यन्त्र

लेबनानी साहित्यकार खलिल जिब्रानद्वारा लिखित ‘तानाशाहकी लाड्ली’ शीर्षक कथा अत्यन्त मार्मिक छ । त्यसको एक अंश यस्तो छ– “एकैछिनमा बूढी रानी जागिन् । वर्तिर–पर्तिर हेरेर हाई काढ्दै उनले भनिन्– मैले कता–कता एउटा सपना देखेँ जस्तो लाग्छ । त्यसमा मैले एउटा बिच्छी, चारवटा किरा–फट्याङ्ग्रालाई एउटा पुरानो देवदारको मुढामा यता र उता लखेट्दै गरेको देखेथेँ । त्यस्तो पो नराम्रो सपना देखेँ मैले त !” यति भनेर उनले फेरि आँखा चिम्लिन् र मस्त निदाइन् । घुर्ने काम फेरि सुरु भयो । चारैजना दास उसरी नै फेरि पङ्खा हल्लाउन थाले । तब बिरालो उङ्घ्न थाल्यो– पङ्खा हल्लाउँदै जाओ, अरू हल्लाउँदै जाओ, मूर्ख हो ! तिमेरुलाई पत्तै छैन, तिमेरु आफैँ जलेर खाक हुने आगामाथि पङ्खा हल्लाउँदै छौ ।

सुनिन्छ– ‘बोली अलि पिरो हो । केपी ओली हिरो हो । आई लभ यु केपी ओली । अरू सबै बाई । दश वर्ष ओलीलाई ।’ यसरी केपी ओलीलाई अतिशय देवत्वकरण गर्दै ‘महाराज’ का रूपमा केही मान्छे ‘जय जय’ को पङ्खा हल्लाइरहेका छन् । ‘महाराज’ को अन्त्य त निश्चित छ नै, तिनका सुन्डमुन्डको पनि हृदयविदारक अन्त्य हुने कुरामा कुनै दुविधा छैन; जसरी इतिहासमा राजा–महाराजा र तिनको स्वर्ग खरानीमा परिणत भएको थियो; जसको शिर गिलोटिनले शरीरबाट छुट्याइएको थियो, जसको चिहानमाथि स्वाधीन राष्ट्रहरू जन्मिएका थिए । ठीक यतिबेला ओली नेतृत्वको सामाजिक फासिवादी सरकारले कमरेड विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको राजनीतिक प्रतिबन्ध दुई वर्ष पुग्दै छ । हुन त ओलीले सुरुमै प्रतिबन्ध लगाएर एक महिनामै सिध्याउँछु भनेर ध्वाँस नदिएका होइनन् । फासिस्ट ओलीको त्यो ध्वाँस क्रान्तिकारी जनसमुदायको साथ र समर्थनमा नेपाल कम्युनिस्ट पार्टीले पानीको फोका सावित गरिदियो । ओलीको प्रतिबन्धलाई सिधासिधा ह्याकुलाले मिचिदिएको अवस्था छ । यो राजनीतिक रूपमा ओली मण्डलीका लागि गम्भीर पराजयी नैतिक प्रश्न हो ।

ओलीले २०७५ साल फागुन २८ गते नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएका थिए । प्रतिबन्ध लगाएर एक महिनामै नेपाल कम्युनिस्ट पार्टीलाई सिध्याउँछु भन्ने केपी ओली उल्टै आफ्नै पार्टीभित्रको झगडामा गम्भीर रूपमा फस्न पुगेका छन् । नेपालको अबका पचास वर्ष एकछत्र शासन गर्ने गुड्डी दिएका उनी आफैँ अहिले आमचकारी गालीमा उत्रिएका छन् । ओली राज्यका स्रोत–साधनको बेलगाम दोहन गरिरहेका छन् तर पनि उनी बैचैन र छटपटीले सन्तुलन गुमाउँदै गइरहेका छन् । एक महिनामै सिध्याउँछु भन्ने ओली यतिबेला नेपाल कम्युनिस्ट पार्टीसित वार्ता गर्ने कुरामा जोड गरिरहेका छन् । उनले आफूनिकट केही मान्छेलाई खटाएका कुरा सार्वजनिक भइरहेका छन् । ओलीले कमरेड विप्लवसित आफैँ सिधै वार्ता गर्ने समाचार पनि प्रचार गराइरहेका छन् । तर पनि ओलीका हरेक कुरा र व्यवहार प्रपोगान्डाभन्दा माथि उठ्न सकेको इतिहास देखिँदैन । उनका हरेक कुरामा दमन, जालसाक्षी र धोकाधडी पाइन्छ । उनको शब्दकोशमा गम्भीरता, विश्वास र जिम्मेवारबोध कहीँ कतै देखा पर्दैन ।

‘एकाएक विप्लवको पक्षमा प्रचण्ड, विप्लव मुलधारमा आउने सङ्केत’ जस्ता शीर्षक राखेर केही मिडियाले आफ्नो खेतीपाती गरिरहेका छन् । अझ कमरेड विप्लव ‘मूलधार’ मा आउने भन्ने कुराको प्रचार गरेर उनीहरूले अनेक आशङ्कालाई एकैपटक बल पुर्याएका छन् । दलाल संसदीय व्यवस्था कुनै पनि हालतमा ‘मूलधार’ बन्नै सक्तैन, यो ‘मूलधार’ हुँदै होइन । असफल र अवैज्ञानिक दलाल संसदीय व्यवस्थालाई मूलधार भन्ने सत्तासीनहरूको राजनीतिक प्रेस्किप्सन नै सर्वथा गलत छ । समस्याको मूलकेन्द्र पनि यही हो । एकातिर ओली सरकार अदालतको गेटबाटै नेता–कार्यकर्तालाई पक्राउ गरिरहनु र अर्कोतिर उनी आफैँ नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवसँग सम्पर्क गर्ने च्यानलहरू खोज्दै हिँड्नुमा गम्भीर आशङ्का छ । ओली आफैँ वार्ताको प्रचार गर्ने अनि महासचिव विप्लवको सेल्टर खोज्न नेपाली सेना परिचालन गर्नुले राजनीतिक अनिष्टता बुझ्न कुनै कठिनाइ हुनहुँदैन । मणि थापाले नख्खुजेलमा पुगेर कमरेड सुदर्शनलाई भेटेको सन्दर्भलाई सञ्चार माध्यमले रुचीपूर्ण चर्चामा ल्याएका छन् । ओलीले हिरासतमा रहनुभएका कमरेडसित भेट्न आफ्ना केही मान्छेहरू पठाएको पनि चर्चा छ । फेरि ठीक यतिबेला नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो पनि आफूहरू विप्लवहरूलाई प्रतिबन्ध लगाउनुभन्दा मुलधारमा ल्याउन सके राम्रो भन्ने पक्षमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नै नगरी प्रतिबन्ध लगाएको बताएका छन् । प्रचण्डको यो कुरा सोर्हैआना कपटीपूर्ण र झुट रहेको छ । ओलीजस्तै प्रचण्ड पनि गोहीको आँसु बगाउन असाध्यै सिपालु छन् । नेपालमा अहिलेसम्म बगेको गोहीका आँसु जम्मा पारेको भए कोशीजस्ता ठुला नदी नै बन्थ्यो होला । हामीलाई थाहा छ, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक सिक्काका दुई पाटा हुन् ।

एकातिर ओली सरकार अदालतको गेटबाटै नेता–कार्यकर्तालाई पक्राउ गरिरहनु र अर्कोतिर उनी आफैँ नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवसँग सम्पर्क गर्ने च्यानलहरू खोज्दै हिँड्नुमा गम्भीर आशङ्का छ । ओली आफैँ वार्ताको प्रचार गर्ने अनि महासचिव विप्लवको सेल्टर खोज्न नेपाली सेना परिचालन गर्नुले राजनीतिक अनिष्टता बुझ्न कुनै कठिनाइ हुनहुँदैन ।

सरकार भन्ने जिनिस पनि अचम्मैको हुँदो रहेछ, त्यसमा पनि फासिवादी ! एकातर्फ साधारण कार्यकर्ताको गिरफ्तारी–इन्काउन्टर र अर्काेतर्फ वार्ता ! ओली सरकारको यो क्रान्तिकारीहरूका लागि ‘दुलाबाट सर्प निकाल्ने’ एम्बुस पनि त हुन सक्दछ । जनताले राजनीतिक–वैचारिक आस्था र सपना सजाउन पाउँदैन र ! आजको युगमा पनि आस्था राखेकै आधारमा जनता दण्डित हुनुपर्ने हो र ! यो सरकार, यो व्यवस्था, यो संविधान वैधानिक भन्ने आधार के ? यसै सन्दर्भमा ‘वार्ताबारे विप्लवसँग मेरो संवाद’ शीर्षकमा राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले भन्नुभएको छ, “सरप्राइज पोलिटिक्स सिके राउत प्रकरणमा त हुन सक्ला तर विप्लव नेकपामा भने हुने सम्भावना देख्दिनँ । सिके प्रसङ्गमा मधेसवादी नेतृत्वको नैतिक हतियार थुत्ने उद्देश्य थियो । डा. राउतसँग गरिएका सम्झौता राज्यले पालनै गर्न नसक्ने गम्भीर त्रुटि थिए । एकातर्फ न्यायालयलाई अप्रत्यक्ष ‘हुकुमी आदेश’ दिइएको थियो भने अर्कातर्फ सार्वभौम राज्यले गर्नै नसक्ने सहमति भएका थिए । विप्लव नेकपासँग यस्तो हुने लक्षण म देख्दिनँ । ट्र्याक टु डिप्लोमेसीको नाडी छाम्न मिडियाबाजी त हुन सक्लान् तर गम्भीर अभ्यास हो भने यस्ता प्रचारबाजीले परिणाम निकाल्नुभन्दा घाटा मात्र पुग्छ ।”

दमनकारीहरूको आवश्यकता र आकाङ्क्षा पनि कस्तो कस्तो हुने ! अहिले नेपाल कम्युनिस्ट पार्टी तिनैलाई चाहिन थालेको छ । अहिले ओली सरकार चरम सङ्कटमा छ । ओलीको राजनीतिक जीवन धरापमा छ । उनी प्रचण्ड– माधवविरुद्ध आफ्नो धार बलियो बनाउन ज्यान छाडेर लागिरहेका छन् । राजनीतिक भाषामा ओलीले त्यसमा नेपाल कम्युनिस्ट पार्टीलाई पनि जोड्न सकिन्छ कि भनेर पहल लिन खोजेको हो कि भन्ने भान पनि हुन्छ । ओलीमा विप्लवहरू प्रचण्डतिर मिल्ने पो हो कि भन्ने सन्त्रास पनि उत्तिकै देखिन्छ । ओली–प्रचण्डहरूको चिन्तन प्रणाली नै भ्रमपूर्ण रहेको छ । खास समस्या र सङ्कट उनीहरूकै हो । फासिवादी ओलीको सङ्कटमोचनका लागि क्रान्तिकारी शक्ति वार्तामा बसिदिनुपर्ने ! हामी यस्तो कुरा कल्पना पनि गर्न सक्तैनौँ । वार्ता त देश र जनताको हित र मुक्तिको कुरा हो । यो अग्रगामी राजनीतिक एजेन्डा सम्बोधन गर्ने कुरा हो । यो देशलाई अग्रगमनतिर लैजाने कुरा हो । दुई वर्षअघि आफैँले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले वार्ताको पासा फ्याँकेको सन्दर्भमा धेरैले चासोका साथ हेरिरहेका छन् । ओली दोस्रोपटक सत्तासीन हुनेबित्तिकै नेपाल कम्युनिस्ट पार्टी ओली–प्रचण्डको कोपभाजनमा परेको थियो । राजनीतिक विश्लेषक प्रभुनारायण बस्नेतको ‘विप्लव समूह ओलीको चुनावी हतियार नबनोस्’ शीर्षकमा भन्नुहुन्छ, “दुनियाँलाई थाहा छ, विप्लवहरू चुनाव नै हुने स्थितिमा पनि त्यसमा भाग लिँदैनन् । चुनावमा जानु, बहुमत सिद्ध गरेर सरकार गठन गर्नु र त्यही सरकारमार्फत् आफूले ल्याउन खोजेको व्यवस्था ल्याउनु तिनको सिद्धान्तविपरीत छ । तिनको सिद्धान्त त सैनिक बलद्वारा सत्ता कब्जा गर्ने र जनताको शासन स्थापित गराउने हो । अब यहाँ प्रश्न उठ्न सक्छ, यदि चुनाव लड्नु छैन, जित्नु र सरकार गठन गर्नु छैन भने चुनावको मुखमा वार्ताको औचित्य के त ?”

नेपालमा कम्युनिस्ट आन्दोलन ध्वस्त भयो, कम्युनिस्ट पार्टीहरूमा गैरकम्युनिस्टहरू हाबी भए, कम्युनिस्ट पार्टीमा सत्ताधारी वा गैरसत्ताधारी शक्तिकेन्द्रका भत्तावाल र शक्तिवाल प्रतिनिधिहरू प्रवेश गरेर नेतृत्वदायी भूमिकासम्म पुगेर आन्दोलनलाई घोर दक्षिणपन्थी प्रतिक्रियावादी दिशामा मोडे, अबको नयाँ पुस्ताले कम्युनिस्ट आदर्श वा सिद्धान्तलाई खासै मन पराउँदैनन्, बँचेखुचेका कम्युनिस्ट नेतृत्वले पनि कम्युनिस्ट आदर्शलाई जोगाउन हम्मेहम्मेको स्थिति छ आदि इत्यादि कुरा धेरै नै सुनिने गरेको छ । ओली–प्रचण्डहरूलाई हेरेर सही निष्कर्षमा पुग्न सकिँदैन । यसरी सोच्नु पनि हुँदैन । उनीहरूले वार्ताबारे दोचारेका कुराका आधारमा विश्लेषण गरेर झन् सही ठाउँमा पुगिँदैन । प्रतिक्रान्तिकारीहरूलाई हेरेर क्रान्तिकारी निष्कर्ष निस्किँदैन । यहाँ त क्रान्तिकारी नेतृत्व विप्लवहरू पनि छन् । यहाँ एकीकृत जनक्रान्ति छ । हामीले क्रान्तिकारीहरूलाई पो मानक बनाउने हो त ! हामीले ठोस परिस्थितिको ठोस विश्लेषण गर्नुपर्दछ ।

जनताका राजनीतिक, संवैधानिक एवम् नैसर्गिक अधिकारलाई दलाल शासकीय बुटले कुल्चँदै आफ्नै सहयोद्धाहरूले नेतृत्व गरेको राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाएर अन्धाधुन्ध नेता–कार्यकर्ताको इन्काउन्टर गरिँदासमेत फिटिक्कै नबोल्नेहरू, केन्द्रीय नेतृत्वदायी राजनीतिकर्मी एवम् लेखक, कलाकार, साहित्यकारहरूलाई राजनीतिक तथा वैचारिक आस्था राखेकै कारण धरपकड, गिरफ्तारी र झुट्टा मुद्दामा जेल–हिरासतमा कुज्याउँदा पनि नदेख्नेहरू, कथित ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नाराका साथ गाउँ–गाउँमा सिंहदरबारको भ्रमको बुल्डोजर चलाउँदै ब्रह्मलुट, बेथिति, तस्करी, कालो धन्दा, कमिसन, कुशासन, अपारदर्शिता, कर र महँगीले आकाश छुँदा जनता आत्महत्याको बाटो रोज्न गर्न बाध्य हुँदासमेत पटक्कै महसुस नगर्नेहरू, यतिबेला देशभर भाषण–भूषणको बाढी आइरहँदा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा र कमरेड विप्लवले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीमाथि थोपरिएको कथित प्रतिबन्धका विरुद्ध एक शब्दसम्म पनि उच्चारण नगर्ने एवम् तिम्रा स्वार्थमा ठेस लाग्न थालेपछि वार्ता वार्ता भन्दै सत्ताको सिनोको लुछाचुँडीमा निर्लिप्त भइरहनेहरूमाथि इतिहासले एक दिन गम्भीर फैसला गर्नेछ । फासिवादीहरूका कथित ‘निर्वाचन’ र कथित ‘पुनस्र्थापना’ एकै ड्याङका मूला हुन् । यी दुवै म्याद सकिएका औषधी हुन् ।

तिमीहरूले चुलीमा पुग्नै लागेको रातो झन्डा फालेर हिन्द महासागरतिर बुर्कुसी मारेका छौ । तिमीहरूले सामाजिक फासिवादी राज्यका विभिन्न तहबाट रङ्गिन पगरीका साथ भत्ताले भकारी भरेका छौँ । तिमीहरूले कथित कम्युनिस्टको रातो बर्को ओढेर चौबिसै घन्टा सच्चा क्रान्तिकारी कम्युनिस्टलाई सिध्याउन सबै कूकृत्य गरिरहेका छौ ! तिमीहरू नाम जनताको लिने तर सदैव संसदीय व्यवस्थाको कुहिएको सत्ताको सिनो लुछ्नमै निर्लिप्त मनुवा हौ ! फेरि पनि सामाजिक फासिवादी शासकहरू कात्रोमा खल्ती हाल्ने जमर्को गर्दै छन् । तिनका नियमित भत्तावालाहरू त्यसैमा होमा हो र हैंसेमा हैंसे गर्दै छन् । राज्यको सार्वजनिक सम्पत्तिमाथि ओली गुटको एकलौटी, बेलगाम र मनमौजी रजाइँ बढ्दै छ । ओली गुटमा पञ्चायती भूतको रहर जाग्दै छ । तर, देशभक्त तथा क्रान्तिकारी नेपाली जनता ओली गुट र तिनले नचाएको दलाल संसदीय व्यवस्थाको चौपललाई चिहानमा गाडेर त्यसमाथि वैज्ञानिक समाजवादी राज्य प्रणाली स्थापना गर्ने महान् अभियानमा सामेल हुँदै छन् । व्यक्ति होइन, व्यवस्था फेर्नु आजको आवश्यकता हो । आन्दोलनरत सबै पक्ष वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनार्थ एउटै नाराका साथ एउटै उद्देश्यमा सामेल हुन आवश्यक छ । इतिहासको यस महान् घडीमा जिम्मेवार र अग्रगामी बन्नु ऐतिहासिक कार्यभार हो ।

नेपाल कम्युनिस्ट पार्टीले भन्दै आएको छ कि सैद्धान्तिक रूपमा हामी वार्ताको विरोधी छैनौँ तर वार्ताका लागि सरकारले वातावरण बनाउन आवश्यक छ । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीमाथि थोपरिएको राजनीतिक प्रतिबन्ध हटाएपछि, जेल तथा हिरासतमा रहेका नेता–कार्यकर्तालाई रिहा गरेपछि एवम् सम्पूर्ण झुट्टा मुद्दा खारेज गरेपछि वार्ताको ढोका खुल्न सक्ने कुराको सङ्केत गरेको छ । अहिले दलाल संसदीय व्यवस्था र तिनका मालिकको कुर्सी हल्लिन थालेपछि शासकले वार्ताको बाँसुरी बजाएको कुरामा कुनै शङ्का छैन । यो जनताको समग्र प्रतिरोध र बल प्रयोगलाई दलाल संसदीय व्यवस्थाको ध्वंस र वैज्ञानिक समाजवादी राज्य प्रणालीको स्थापनार्थ लगाउने समय हो । सामाजिक फासिवादी एवम् घोर दक्षिणपन्थी तथा इन्डो–सिआईएको कठपुतली केपी ओलीको सङ्कट उसको आफ्नो समस्या हो, यति छोटो अवधिमै फासिस्ट संसदीय व्यवस्थासँगै ओली मण्डली पनि समस्याग्रस्त हुनु देशभक्त, अग्रगामी तथा क्रान्तिकारी जनताका लागि उत्सव हो । हामीलाई थाहा छ, ओली वार्ता असफल भएको बहानामा सङ्कटकाल लगाउने योजनामा छन् । यसर्थ, नेपाल कम्युनिस्ट पार्टीलाई सामाजिक सञ्जालमा ओली गुट र दलाल संसदीय व्यवस्थासित जोडेर योजनाबद्ध रूपमा ल्याइएका कथित प्रचारलाई पूरै खारेज गरौँ । वार्ताको आवरणमा कमरेड विप्लवलाई गोन्जालो बनाउने कुत्सित मनसायका साथ फासिस्ट सत्ताले बुन्दै गरेको दमनकारी र षड्यन्त्रकारी जालोलाई चकनाचुर पारौँ । फेरि एकपटक समवेत स्वरमा भनौँ– राजनीतिक प्रतिबन्ध हटाऊ, सम्पूर्ण राजबन्दीलाई रिहा गर, सम्पूर्ण झुट्टा मुद्दा खारेज गर ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :