सन्दर्भः २६औं जनयुद्ध दिवस

नेपालमा २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको आरम्भ भएको थियो । त्यसैले नेपालका क्रान्तिकारीहरूले हरेक वर्ष फागुन १ गतेको दिनलाई जनयुद्ध दिवसको रूपमा मनाउने गर्दछन् । हुन पनि जनयुद्ध दिवस आफैँमा एउटा क्रान्तिकारी उत्सव हो, जसको स्मरण मात्रैले पनि सम्पूर्ण क्रान्तिकारी व्यक्ति, पार्टी, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदाय सबैलाई एउटा नयाँ जोश, जाँगर, उत्साह र अनुभूति दिलाउँछ भने उत्पीडक, भ्रष्टाचारीहरूलाई एउटा भय र त्रासबोध गराउँछ । आगामी फागुन १ गते पनि जनयुद्ध दिवसको सन्दर्भमा विभिन्न पार्टी र जनसमुदायहरूले अनेकौँ कार्यक्रमसहित मनाउँदै छन् ।

करिब दस वर्षसम्म संचालन भएको नेपाली जनयुद्ध नेपालको राजनीतिक र विशेष गरी क्रान्तिकारी आन्दोलनको इतिहासमा एक अविस्मरणीय र रोमाञ्चक अवधिको रूपमा चित्रण हुँदै आएको छ । जनयुद्धले नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने उद्देश्य बोकेको थियो । राजनीतिक क्षेत्रमा नेपालको संविधान, राज्यको राजकीय संरचना, कर्मचारी प्रशासन, सुरक्षा निकाय न्यायालयलगायतका क्षेत्रमा पुनर्संरचना गर्ने, राज्यका हरेक निकायमा उत्पीडित वर्गको सहभागिता सुनिश्चित गर्ने गरी नेपालमा नयाँ जनवादी गणतन्त्र स्थापना गरेर वैज्ञानिक समाजवाद हुँदै साम्यवादी समाजतर्फ अघि बढ्ने लक्ष्य निर्धारण गरेको थियो ।

आर्थिक रूपले उत्पादनकार्यमा संलग्न किसान तथा श्रमिक वर्गलाई उनीहरूको उत्पादनका साधनमाथिको स्वामित्व स्थापित गर्ने, जमिनमा जसको जोत उसको पोतलगायत क्रान्तिकारी भूमिसुधार लागु गर्ने, राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गरी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने ।

सांस्कृतिक रूपमा मानवले मानवमाथि गर्ने सबै किसिमको उत्पीडन अन्त्य गरी हरेक मानवले अरूलाई परस्पर प्रेम र सद्भाव स्थापित गर्ने संस्कृति विकास गर्ने, सबै मानवबिच समानता र सम्मानको मान्यता स्थापित गर्ने, रुढीवाद र अन्धविश्वासको साटो विज्ञान र प्रविधिमा विकास गर्ने र जोड दिने ।

उपर्युक्त उद्देश्य प्राप्तिका लागि हजारौँ सचेत व्यक्ति जनयुद्धमा सामेल भए । नयाँ इतिहास कायम गर्दै हजारौँ महिला युवासमेत जनमुक्ति सेनामा भर्ती भएर युद्धको अग्रमोर्चा सम्हाले । महान् लक्ष्य हासिल गर्न भनी करिब १७ हजार महान् मान्छेहरू सहिद बने । हजारौँ अहिलेसम्म पनि बेपत्ता छन्, सयौँ अंगभंगसहित घाइते र अपांग जीवन जिउँदै छन् ।

अहिले जनयुद्धमा सामेल नेतृत्व र कार्यकर्ताहरू विशृंखलित भएका छन् । केही सीमित नेताहरू जनयुद्धका प्रतिबद्धतालाई कुल्चेर व्यक्तिगत स्वार्थ र सुखसयलमा विलीन भएका छन्, संसदीय आहलमा डुबेका छन् तर अधिकांश नेता–कार्यकर्ताहरू अहिले पनि क्रान्तिको पक्षमा छन् । त्यसमध्ये कतिपय क्रान्तिको लक्ष्यलाई पछ्याउँदै जनताको मुक्तिका निम्ति निरन्तर संघर्षमा डटिरहेका छन् । जनयुद्धकै अनुभव गरेको एउटा पंक्ति पुरानो र नयाँ पुस्ता समेट्दै नयाँ परिस्थिति र सन्दर्भमा नयाँ चेतनासहित जनयुद्धभन्दा फरक किसिमको क्रान्ति गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने मान्यता राख्दै एकीकृत जनक्रान्तिको उद्घोष गरेको छ । उनीहरूलाई विगतको संकटकाल र अहिलेको प्रतिबन्धले छेकेको छैन । प्रतिबन्धको सामना गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धको सपना एकीकृत जनक्रान्तिमार्फत पूरा हुने भन्दै सबै देशभक्त, वामपन्थी, सच्चा लोकतन्त्रवादी शक्ति र जनसमुदायलाई जनक्रान्तिमा आबद्ध हुन अपिल गरिरहेको छ ।

जनयुद्धका उद्देश्यलाई पूरा गर्न प्रतिक्रान्तिबाट शिक्षा लिँदै विभाजित र छरिएका क्रान्तिकारी शक्तिहरू अब क्रान्तिकै बाटोमा धु्रवीकृत र एकताबद्ध भएर देश र जनताको आमूल परिवर्तनको सपनालाई नयाँ सन्दर्भमा क्रान्तिमार्फत् निरन्तरता तथा थप विकास गरी विजयसम्म पुर्याउने प्रतिबद्धता जनाउनु नै जनयुद्ध दिवस मनाउनुको सार्थकता हुनेछ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :