कोरोना सङ्क्रमणबाट मर्नेको सङ्ख्यामा नयाँ रेकर्ड, एकै दिन १७ हजार २३५ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट मर्नेको सङ्ख्यामा नयाँ रेकर्ड, एकै दिन १७ हजार २३५ जनाको मृत्यु

काठमाडौँ : विगत २४ घन्टामा विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट १७ हजार २३५ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या अत्यधिक भएको यो नयाँ रेकर्ड हो । यसअघि माघ १ गते १६ हजार २६९ सङ्क्रमितको मृत्यु भएको थियो ।

वर्ल्डोमिटर्सका अनुसार बिहीबार बिहानसम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० लाख ८१ हजार ५४१ पुगेको छ । त्यस्तै विगत २४ घन्टामा ६ लाख ६९ हजार ४०१ कोरोना सङ्क्रमित थपिएपछि विश्वभर कोरोना सङ्क्रमतिको सङ्ख्या ९ करोड ७२ लाख ७९ हजार ७४३ पुगेको छ ।

त्यसैगरी २ करोड ५३ लाख ६९ हजार २३० जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको र त्यसमध्ये १ लाख १२ हजार ३३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ । ६ करोड ९८ लाख २८ हजार ९७२ जना भने कोरोनालाई जितेर घर फर्किएका छन् ।

कोरोना सङ्क्रमणले सबैभन्दा बढी गाँजेको अमेरिकामा एकै दिन ४ हजार ३०९ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ लाख १५ हजार ८२९ पुगेको छ ।

कोरोना सङ्क्रमणमा दोस्रो स्थानमा रहेको भारतमा सङ्क्रमितको सङ्ख्या १ करोड ६ लाख नाघेको छ भने १ लाख ५२ हजार ९०६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :