कमरेड कञ्चनको गिरफ्तारीविरुद्ध नेपाल बन्द

कमरेड कञ्चनको गिरफ्तारीविरुद्ध नेपाल बन्द

केपी वली–रामबहादुर थापाको सामाजिक दलाल फासिवादी सरकारले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई कायरतापूर्ण गिरफ्तार गरेर आफ्नो चरम फासिवादी व्यवहार प्रस्तुत गरेको छ । दलाल पुँजीवादी व्यवस्था र सामाजिक दलाल फासिवादी सरकारका राष्ट्रघात, जनघात, दलाली, भ्रष्टाचार, कमिसनखोरी र आत्मसमर्पणवादका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष आरम्भ गरेर जनताको हृदयको ढुकढुकी बनेको नेकपा विश्वव्यापी महामारी बोकेर आएको कोरोना भाइरस सङ्क्रमणविरुद्ध जुट्न आह्वान गर्दै पार्टीका सम्पूर्ण आक्रामक कारबाहीहरू स्थगन गरी जनसेवामा जुटेको थियो । शान्तिपूर्ण रूपमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू उठाउँदै जनसेवा र जनसङ्गठनमा लागिरहेको जनप्रिय पार्टीका सचिवालय सदस्य कञ्चनलाई गिरफ्तार गर्नु, झूट्टा मुद्दाको तयारी गर्नु, हिरासतमा अपमानपूर्वक कोच्नु भनेको वली सरकारको फासिवादी हर्कतको पराकाष्टा हो र समाप्तिको दिनगन्ती सुरु हुनु हो ।

दलाल संसदीय व्यवस्थाको पतनपछि संसद् विघटन गरेर एकापसमा लडिरहेको सरकारी नेकपा र त्यसभित्रको चरम अनुदारवादी वली सरकारले नेकपाका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने, हिरासत र जेलमा बन्दी बनाउने, यातना दिने, देशभरि डुलाउने काम बन्द गर्नुको साटो झन्झन् तीव्रतामा बढाइरहेको छ । यस्तो गैरसंवैधानिक, गैरकानुनी, मानवअधिकारविरोधी हर्कत गरेर वली सरकारले आफ्नो सत्ताको आयु घटाएको मात्र छैन, देशभक्त, जनतान्त्रिक शक्तिहरूलाई उत्तेजित बनाउँदै लगेको छ । हामी कमरेड कञ्चनलगायत वली सरकारले गिरफ्तार गरेर झूट्टा मुद्दामा फसाएका, हिरासत र जेलमा राखिएका नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई बिनासर्त, अविलम्ब मुक्त गर्न र आफ्ना आततायी हर्कतहरूप्रति माफी माग्न वली सरकारलाई सुझाव दिन चाहन्छौँ । देशभक्त र क्रान्तिकारीहरूलाई बिनाकारण गिरफ्तार गर्ने, यातना दिने, झूट्टा मुद्दा लगाउने हर्कतपछि उठ्ने विद्रेहको ज्वालामुखीको परिणाम आँकलन गर्न पनि सरकारलाई चेतावनी दिन चाहन्छौँ ।

‘लातको भूत बातले मान्दैन’ भनेजस्तै फासिवादी वली सरकारले शान्तिपूर्ण सङ्घर्षको भाषा नबुझ्न वा अटेर गर्न पनि सक्छ । किनकि दलाल पुँजीवादको रक्षक, पार्टीभित्रैको चरम विवाद र विभाजनले क्षतविक्षत बनेको कामचलाउ वली सरकार दैनिक समाप्तिको दिशामा अग्रसर छ ।

पार्टी नेताको गिरफ्तारीपछि नेपाल कम्युनिस्ट पार्टीले साताव्यापी शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाका महासचिव विप्लवले केन्द्रीय समितिका तर्फबाट जारी गरेको आन्दोलनका कार्यक्रमअनुसार २०७७ माघ ३ गते देशव्यापी विरोध जुलुस र ५ गते देशव्यापी विरोध सभा सम्पन्न भइसकेका छन् भने ७ गते देशव्यापी विरोध प्रदर्शन, ९ गते देशव्यापी मशाल जुलुस र १० गते नेपाल बन्दको आह्वान गरिएको छ । ‘लातको भूत बातले मान्दैन’ भनेजस्तै फासिवादी वली सरकारले शान्तिपूर्ण सङ्घर्षको भाषा नबुझ्न वा अटेर गर्न पनि सक्छ । किनकि दलाल पुँजीवादको रक्षक, पार्टीभित्रैको चरम विवाद र विभाजनले क्षतविक्षत बनेको कामचलाउ वली सरकार दैनिक समाप्तिको दिशामा अग्रसर छ । सम्पूर्ण नेपाल र नेपाली जनताको सुख, शान्ति र समृद्धिको ठेक्का लिएर बसेको वली सरकार र उनको गुट यतिबेला आफ्नै पार्टीनेता र कार्यकर्ताको समेत चित्त बुझाउन नसकेर विभाजित बनेको छ । बहुमत हुँदाहुँदैको संसद् विघटन गरेर चरम विवादित र आलोचित बनेको छ । इतिहासमै नालायक साबित भइसकेको र पतनको खाडलमा जाकिइसकेको वली सरकारले देशभक्त, क्रान्तिकारीहरूलाई नियन्त्रणमा लिएर शान्तिको सास फेर्नु भनेको पिसाबको न्यानोभन्दा पनि क्षणिक आत्मरति हो । यो सर्पले आधा निलिसकेको भ्यागुताले आफूअघिल्तिरबाट उडेको पुतली झम्टिएजस्तो मात्र हो । जनताको शक्तिबाट विमुख भइसकेको वली सरकारको आयु अदालत र निर्वाचन आयोगको निर्णय नआउन्जेलसम्म मात्र हो । त्यो प्रक्रिया पनि विलम्ब हुँदै गयो भने वा त्यस प्रक्रियाबाट पनि त्राण पायो भने जनताको विद्रोहले हिजोका तानाशाह शासकहरूझैँ चपरीमुनि पुग्ने कुरा पक्का छ ।

कमरेड कञ्चनको कायरतापूर्ण गिरफ्तारीपछि नेकपाका महासचिव विप्लवले वक्तव्य जारी गर्दै सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न पार्टीपङ्क्ति र श्रमिक जनतालाई निर्देशन दिइसकेका छन् । महासचिव विप्लवले वली सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न पनि आग्रह गरेका छन् । उनले राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य पनि स्पष्ट पारेका छन् । फासिवादी वली सरकारलाई चेतावनी दिँदै उनले वक्तव्यमा भनेका छन्, ‘केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ ।’

नेकपाका नेता कञ्चनको गिरफ्तारीविरुद्ध दलाल पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवाद स्थापनाका लागि गठित नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) सहितका चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चा र वली सरकारविरुद्ध आन्दोलनरत २३ दल/सङ्गठनले पनि वक्तव्य जारी गरी खबरदारी गरिसकेका छन् । देशविदेशमा रहेका देशभक्त, क्रान्तिकारी शक्तिहरूले विज्ञप्ति र वक्तव्यहरूमार्फत कञ्चनलगायत नेताहरूको बिनासर्त तत्काल रिहाइका लागि माग गरेका छन् तर पनि वली सरकारले यो आवाजलाई सुनेको नसुन्यै गरिरहेको छ । महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘ जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो । यो निरङ्कुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरूलाई हामी विशेष अपिल गर्दछौँ । साथै हाम्रो पार्टीपङ्क्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न निर्देशन गर्दछौँ । …राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट गर्दछौँ । केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ ।’

दलाल पुँजीवादी शासनसत्तालाई समाप्त पारेर वैज्ञानिक समाजवाद स्थापना गर्न क्रान्तिमा होमिएको पार्टीले दिएको यो चुनौती केपी वली र रामबहादुर थापाहरूले बुझ्छन् कि सस्ता र उटपट्याङपूर्ण उखानटुक्का मात्र सम्झिएर फेरि अर्को गल्ती दोहोर्याउँछन्, उनीहरू र उनीहरूको सत्ताको आयु त्यसमै निर्भर रहन्छ । हामी कमरेड कञ्चनका साथै कमरेड सुदर्शनलगायत अन्यायपूर्वक वली सरकारले हिरासत र जेलमा राखेका सम्पूर्ण आस्थाका बन्दी र नेता–कार्यकर्तालाई अविलम्ब रिहा गर्न सरकारसँग पुनः माग गर्दछौँ । अन्यथा यसको परिणाम वली सरकारले अनुमान गरेभन्दा धेरै भयावह हुने विषयको अनुमान गर्न पनि सुझाव दिन्छौँ ।

सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :