नेकपाद्वारा नेताहरूको रिहाइ माग गर्दै दाङका सात ठाउँमा सरकारविरुद्ध प्रदर्शन

नेकपाद्वारा नेताहरूको रिहाइ माग गर्दै दाङका सात ठाउँमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गैरन्यायिक गिरफ्तारीविरुद्ध दाङका ७ ठाउँमा विरोध प्रदर्शन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यक्रमअनुसार तुलसीपुरलगायत दाङका विभिन्न ७ ठाउँमा विरोध र्यालीसहित प्रदर्शन सम्पन्न गरिएको नेकपा दाङले जनाएको छ । पुस २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत ब्युरो सदस्यहरू विवेक र विशालको गिरफ्तारीको विरोधमा कार्यक्रम आयोजना गरिएको हो ।

विरोध र्यालीपछि आयोजित सभामा सम्बोधन गर्दै नेकपा तुल्सीपुर नगर इन्चार्ज नवीनले भ्रष्टाचार, दलाली, तस्करी, कमिसनखोरी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्ता गिरफ्तार गर्नु, जेल हाल्नु, हिरासतमा निर्मम यातना दिनु निरङ्कुश, तानाशाही एवम् फासिवादी कदम भएको भन्दै त्यसको घोर विरोध गरे ।

उनले नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न र गिरफ्तारीमा परेका सम्पूर्ण राजबन्दीको ससम्मान रिहाइ गर्न माग गरे । सरकारले थप दमन गरे पार्टीले कडा सङ्घर्ष गर्ने चेतावनी उनले दिए । कार्यक्रमको सञ्चालन युवा नेता शरदले गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :