गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउन माग

गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउन माग

काठमाडौँ : सुदूरपश्चिममा क्रियाशील ६ विद्यार्थी सङ्गठनले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउन माग गरेका छन् । गणेशसिंह ऐरी (केन्द्रीय सदस्य, अनेरास्ववियू), वीरेन्द्र शाह (संयोजक, अखिल (क्रान्तिकारी) सेती–महाकाली), उमेश बिष्ट (केन्द्रीय उपाध्यक्ष तथा सु.प.इन्चार्ज, रा प्र वि सङ्घ), भरत लिसानी (केन्द्रीय सचिव, समाजवादी विद्यार्थी युनियन), पुष्कर जोशी (केन्द्रीय सदस्य, अखिल (क्रान्तिकारी) र पुष्कर भट्ट (सु. प. प्रदेश सदस्य, अखिल छैटौँ) ले संयुक्त विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सुदूरपश्चिमको सम्पूर्ण शैक्षिक सवाल, राष्ट्रियता र अन्य जनताको जीवनसँग जोडिएका हरेक मुद्दाहरू सुदूरपश्चिममा क्रियाशील हामी विद्यार्थी सङ्गठनहरू निरन्तर सङ्घर्ष गर्दै आइरहेको कुरा सबैमा अवगत नै छ । २०५५ सालदेखि निरन्तर आवाज उठेर २०६६ सालमा घोषणा भई विसं २०७३ सालदेखि कैलालीको गेटामा निर्माणकार्य थालनी भएको प्रस्तावित गेटा मेडिकल कलेज स्थापनार्थ सुदूरपश्चिमेली जनताको धेरै ठूलो त्याग र सङ्घर्ष रहेको कुरा सर्वविदितै छ । हालसम्म पनि मेडिकल कलेज सञ्चालनका सन्दर्भमा राज्यले देखाएको उदासीनता र गैरजिम्मेवारीपनको हामी भत्र्सना र निन्दा गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रस्तावित गेटा मेडिकल कलेजको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा शैक्षिक कार्यक्रम सञ्चालनको मोडेल अझै तयार भएको छैन । अहिले आएर मेडिकल कलेजका रूपमा अगाडि बढाउने वा छुट्टै स्वायत्त प्रतिष्ठान बनाएर सञ्चालन गर्ने भन्ने विषय छलफल भएको देखिन्छ । यस सन्दर्भमा हामी विद्यार्थी सङ्गठनहरू के धारणा राख्दछौँ भने कुनै पुरानो विश्वविद्यालय प्रणालीअन्तर्गतको मेडिकल कलेज वा शिक्षा क्षेत्रको दायरा फराकिलो बनाउन नसक्ने प्रतिष्ठानका रूपमा नभई सुदूरपश्चिम मेडिकल विश्वविद्यालयका रूपमा अगाडि बढाउन सान्दर्भिक र वैज्ञानिक हुनेछ । हाल नेपालमा एउटा पनि मेडिकल विश्वविद्यालय नभएको सन्दर्भमा यो विषय सुदूरपश्चिमका करिब ३० लाख जनताको स्वास्थ्य तथा चिकित्सा शिक्षा, रोजगार र आर्थिक समृद्धिसँगै राष्ट्रिय गौरवका रूपमा समग्र देशलाई नै दूरगामी टेवा पुर्याउने गरी सोचिनुपर्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यो सन्दर्भमा प्रस्तावित मेडिकल कलेजलाई तत्काल मेडिकल विश्वविद्यालय घोषणा गरेर विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालनको नमुना तयार गरी आगामी वर्षदेखि प्रारम्भिक चरणको पठनपाठन नियमित गर्न राज्यसँग जोडदार माग गर्दछौँ । यसका लागि एकताबद्ध भई आवाज उठाउन सुदूरपश्चिमका सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकारलगायत सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :