दलाल पुँजीवादमा चरम सङ्कट वैज्ञानिक समाजवाद निर्विकल्प

दलाल पुँजीवादमा चरम सङ्कट वैज्ञानिक समाजवाद निर्विकल्प

संसारभर असफल, बदनाम र विभेदकारी साबित भइसकेको दलाल पुँजीवादी शासनसत्ता नेपालमा पनि मृत्युको मुखमा पुगेर अन्तिम निःश्वास लिइरहेको छ । सामन्तवादको अवशेषका रूपमा रहेको राजतन्त्रात्मक संसदीय व्यवस्थाको असफलतासँगै नेपालमा २०५२ सालमा जनयुद्ध आरम्भ भएको थियो । हजारौँको बलिदानपछि नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुँदै समाजवाद स्थापना हुने प्रक्रियामा थियो । नेपालमा महान् जनयुद्धको भीषण आँधीबेहरीसँगै सामन्तवादी अवशेषसहितको पुँजीवादी व्यवस्था पतनको सँघारमा पुगेसँगै संसारका प्रतिक्रियावादी, पुँजीवादी सत्ताहरू अत्तालिए र जनयुद्ध सञ्चालन गरिरहेको तत्कालीन नेकपा (माओवादी) का प्रमुख नेताहरूसँग चोचोमोचो मिलाएर जनयुद्ध समाप्त पार्ने षड्यन्त्र गरे । जनयुद्धको समापन, १२ बुँदे दिल्ली सम्झौता त्यसको प्रमुख कडी थियो भने संविधानसभा विघटन, जनमुक्ति सेनाको विघटन, जनताको रगतसँग साटिएका हतियारसँगै जनसत्ताहरूको समाप्ति घोषणा र कथित दोस्रो संविधानसभा त्यसको उत्कर्ष थियो । जनमुक्ति सेना, जनसत्ताहरूसँगै संविधानसभाको विघटन र दोस्रो संविधानसभा दलाल पुँजीवाद स्थापनाको पनि उत्कर्ष स्वरूप थियो । गणतन्त्र र सङ्घीयताविरोधी केपी वली र विद्या भण्डारीहरूलाई प्रधानमन्त्री, राष्ट्रपति र अरू जिम्मेवार पदमा बसाउने पुष्पकमल दाहालसहितको निर्णय उनीहरूको दलाल पुँजीवादी यात्राको पनि उत्कर्ष थियो । तर दलाल पुँजीवादी सत्ता स्थापनाको ६ वर्षमै चरम सङ्कट झेल्दै विघटनको सँघारमा पुगेको छ ।

जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवाद– साम्यवाद स्थापना गर्ने उद्घोष गर्दै जनयुद्ध सञ्चालन गरेका पुष्पकमल दाहालले पार्टीलाई मात्र नभएर देश, सर्वहारा श्रमिक वर्ग र आफ्नै यात्रालाई समेत धोका दिँदै जनयुद्ध समाप्त गरिदिएका थिए भने केपी वलीले झापा विद्रोहको इतिहासमा भुतभुते खन्याएर दलाल पुँजीवाद आत्समात गरेका थिए । दुवै क्रान्तिका दलाल र गद्दारहरूको पलायनको पराकाष्ठा र दलाल पुँजीवाद स्थापना गर्ने सम्झौता थियो वर्तमान संविधान । त्यसैका मतियार बनेका थिए त्यसपछि निर्मित सरकारहरू । यही दलाल पुँजीवादको रक्षक बनेको जनविरोधी संविधान लागू गर्ने क्रममै स्वार्थसहित भेट र कथित एकता नाउँको गठबन्धन भएको थियो पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको । केपी वलीले दलाल पुँजीवाद आफ्नो वर्गका लागि मात्र होइन, आफ्नै समूहहरूका लागि पनि उदारवादी र लोकतान्त्रिक छैन भन्ने प्रमाणित गर्दै पार्टीको बहुमतसहितको संसद् विघटन गरेर यो व्यवस्थाको नाङ्गो चरित्र दुनियाँसामु प्रस्तुत गरिसकेका छन् । पुष्पकमल दाहाल क्रान्तिकारी विचार, आस्था र आन्दोलन परित्याग गरी दलाल पुँजीवाद स्थापना गर्नुको परिणति खेपिरहेका छन् । त्यो समूहमा रुमल्लिरहेका यन्त्रमानवहरू किंकर्तव्यविमूढ बनेका छन् भने हिजो क्रान्तियात्रामा लामबद्ध भएर पनि आज भ्रमवश दलाल पुँजीवादमा रुमिल्लरहेका पूर्वमाओवादीहरूलाई एकीकृत जनक्रान्तिको यात्रामा लामबद्ध बन्न नेकपाका महासचिव विप्लवले आह्वान गरेका छन् । जनगणतन्त्र निर्माण गर्ने महान् यात्रा जारी छ र तीव्रतामा अघि बढिरहेको क्रान्तिकारी ध्रुवीकरणले यसलाई छिटोभन्दा छिटो सफलतापूर्वक निष्कर्षमा पुर्याउने देखिन्छ ।

जनयुद्धकाल र जनयुद्धलाई कथित शान्तिप्रक्रियामा पुगेर समाप्त पारिसक्दा पनि ‘सत्ता कब्जा गर्ने’ भन्दै १० वर्षअघि दसौँ लाख जनताको साथमा सडकमा निस्किँदाको दाहालको चमक र अस्तित्व यतिबेला करिबकरिब समाप्तजस्तै बनेको छ । दलाल पुँजीवादी यात्राका आफ्ना सहयात्री वलीले नै यतिबेला दाहाललाई उनको हैसियत देखाइदिएर केही थान माधव नेपाल, झलनाथ खनालसहित माइतीघर मण्डलाको सडकमा ‘म यहाँ बसेको छु’ भन्ने प्ले कार्ड बोकेर बस्नुपर्ने अवस्थामा पुर्याइदिएका छन् भने उनी भ्रष्ट र कमिसनखोरहरूको जमघट बनेको, कुनै दिन आफैँले खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने कसाईखाना भनेको संसद् पुनस्र्थापनाको माग गर्दै र बिलाउना गर्दै निर्वाचन आयोग धाउन बाध्य बनेका छन् । केही दिनअघिसम्म झन्डै दुई तिहाइ बहुमतको सरकार, संसद् र ‘शक्तिशाली र विशाल’ पार्टीको नेताका रूपमा कुर्लिरहेका वली र दाहालहरू रातारात समूह र गुटमा परिणत भएका छन् । यसरी रातारात ‘हिरो’ बाट ‘जिरो’ बनेका वली र दाहालका प्रशंसकहरू प्रतिनिधिसभा विघटनपछिका गतिविधिहरूमा एकले अर्कालाई दोष दिइरहेका छन् । वास्तवमा वली, दाहाल, नेपाल, देउवा वा अरू कुनै पनि खास व्यक्ति वा पात्रहरूका कारण नभएर यो अवस्था उत्पन्न हुनु भनेको दलाल पुँजीवादी सत्ताको अवसान हुनु हो । नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यका साथ दसौँ हजार योद्धाहरूको बलिदानको जग भत्काएर स्थापना गरिएको र जाल, झेल र षड्यन्त्रपूर्वक लादिएको दलाल पुँजीवादको अवसान पनि उत्तिकै दारुण र बीभत्स रूपमा हुँदैछ । देशभक्त, जनवादी र क्रान्तिकारीहरूका लागि, अझ विशेष गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने र समानतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेर जनक्रान्ति सञ्चालन गरिरहेका मालेमावादीहरूका लागि दलाल पुँजीवादको अवसान एउटा सुन्दर अवसर हो । जनक्रान्तिको राप, ताप र चापका कारण निर्माण भएको यो अवसरमा क्रान्तिकारीहरू खुसी हुनुपर्छ र ध्रुवीकृत हुँदै क्रान्ति सम्पन्न गर्ने महान् यात्रातिर अग्रसर हुनुपर्छ । नेकपाका महासचिव विप्लवले दलाल पुँजीवादी सत्ताको अवसानको अवस्थालाई अत्यन्त सजीव र सूक्ष्म ढङ्गले यसरी विश्लेषण गरेका छन्– केपी वलीको कदम कुनै व्यक्ति वा दलविशेषको मात्र समस्या नभई विदेशी शक्तिकेन्द्रहरूको हस्तक्षेपमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाभित्र हुने तुच्छ स्वार्थसमूहहरूको सङ्घर्षको परिणाम हो । जनविरोधी दलाल पुँजीवादी सत्ता–संसदीय व्यवस्थाको असफलता र सङ्कट हो ।

नेपाली समाजमा एउटा स्थापित उक्ति छ– कालले मर्यो, जिब्रालाई दोष । कुनै पनि प्राणीको मृत्यु जिब्रो टोकिएका कारण होइन, जीवनतत्वको समाप्ति वा बाँच्ने क्षमता÷सङ्घर्ष गर्ने शक्तिको अन्त्यका कारण हुन्छ तर रूपमा हेर्दा मृत्यु भइसकेपछि कुनै पनि प्राणीले जिब्रो टोकिरहेको देखिन्छ । जिब्रो टोक्नु भनेको मृत्यु भएपछिको परिदृश्य मात्र हो । केपी वली र पुष्पकमल दाहाल–माधव नेपाल गुटहरूका बीचको तिक्तता, संसद् विघटन र त्यसपछि देखिएका घटना–परिघटना वली र दाहालका कारण मात्र नभएर दलाल पुँजीवादको जीवनतत्व सकिएपछिको परिणति हो । वली र दाहालका हर्कतहरू त कुनै प्राणीको मृत्युपछि देखिएको जिब्रो टोकिएको अवस्थाजस्तो मात्र हो । वली र दाहालहरू आफ्नो पूर्वक्रान्तिकारी आस्था, निष्ठा, विचार, आदर्श पोलिपकाई खाइसकेका दलाल पुँजीवादका अवयवहरू मात्र हुन् । परिदृश्य र घटनाहरूले के देखाएका छन् भने दलाल पुँजीवादको अन्त्य सामन्तवादको उत्कर्ष राजतन्त्रको भन्दा पनि बीभत्स ढङ्गले हुँदैछ । जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा सामन्तवादको केन्द्रीकृत रूप राजतन्त्रभित्रको अन्तरविरोध पनि उत्कर्षमा पुगेको थियो । राजा वीरेन्द्र सामन्तवादका असली उत्तराधिकारी थिए भने ज्ञानेन्द्र र पारसहरू अहिले वली र दाहाल पुँजीवादको रक्षा गर्न खटाइएका उपजीवहरूजस्ता अवैध थिए । त्यसैले सामन्ती राजतन्त्रको समाप्तिको कारणका रूपमा दृश्य वा पर्दामा देखिएका ज्ञानेन्द्र र पारसहरू जनयुद्धका कारण मक्किइसकेको सामन्ती राजतन्त्रलाई टिकाउन षड्यन्त्रपूर्वक खडा गराइएका बुख्याँचाहरू थिए । यतिबेला वली र दाहालहरू पनि दलाल पुँजीवाद लाद्न र टिकाउन सत्तामा विराजमान गराइएका बुख्याँचाहरू हुन् । उनीहरूबीचको बेमेल दलाल पुँजीवादरूपी खतरनाक रोगको बाइप्रोडक्ट हो । यो खिचातानी वा विवाद वली, दाहाल, नेपाल, देउवा वा भट्टराईको सत्तारोहणले समाप्त हुनेछैन, उनीहरूले बोकेको सत्ताको चरित्रको अन्त्यपछि मात्र समाप्त हुनेछ । यस सन्दर्भमा महासचिव विप्लवले प्रस्ट भाषामा भनेका छन्– यो हुनुमा केपीको दोष छ तर उनको मात्र छैन, डबल नेकपाको असफलता छ तर त्यति मात्र छैन । यो केपी र प्रचण्डको झगडाको कारण पनि हो तर यत्ति मात्र होइन, यसमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको हात पनि छ । यसमा उनीहरू सबैको असफलता, सङ्कट र पश्चगमन जिम्मेवार छ । यसको निकास पुनः संसद्वादी गोलचक्करमै खोज्नु अर्को गल्ती र मूर्खता गर्नु हुन्छ । सयौँ वर्ष पुँजीवादमा चलेका देशमा समेत वैज्ञानिक समाजवादको विकल्प सोचिरहँदा हाम्रोजस्तो दलाल पुँजीवादी सत्ता भएको देशमा संसदीय विकल्पमै घुम्न–घुमाउन खोज्नु भनेको जनतालाई दशकौँसम्म अन्धकार सुरुङभित्र घचेट्नुजस्तै हो ।

दलाल पुँजीवादको रक्षाका लागि अन्तिम अस्त्रका रूपमा वली र दाहालले विदेशी शक्ति गुहारिरहेका छन् । यो अवस्थाका आउनुको कारक भन्दै दुवैले एकअर्कालाई दोष दिइरहेका छन् । विदेशी शक्तिकेन्द्रहरू र विशेषतः भारतीय र अमेरिकी साम्राज्यवाद आफ्नो निहित स्वार्थ पूरा गराउन एकअर्को गुटलाई मज्जैले खेलाइरहेका छन् भने दुवै गुटहरू अर्काको गोटी बनिरहेका छन् । दलाल पुँजीवादका यसअघिका शासकहरू पनि यसरी नै खेलाइएका थिए । जनक्रान्ति सम्पन्न भएर निर्माण हुने वैज्ञानिक समाजवादले मात्र यसरी खेल्ने र खेलाउने दलाल पुँजीवादका गोटीहरू जन्मिने अवस्था नै समाप्त पारिदिनेछ ।

सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :