उत्पादन सङ्घर्षमा पनि सामना परिवार अब्बल

उत्पादन सङ्घर्षमा पनि सामना परिवार अब्बल

समर झुसे : अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवार सांस्कृतिक अभियानका साथै उत्पादन सङ्घर्षमा पनि अब्बल देखिएको छ । परिवारका कलाकारहरूले लगातार दुई सातासम्म ओखर उत्पादनमा सहभागी भएर आफूलाई अब्बल देखाएका हुन् ।

मङ्सिर २३ गतेबाट सुरु भई पुस ९ गतेसम्म चलेको उत्पादन सङ्घर्षका क्रममा सामना परिवारले पश्चिम कमान्डमा श्रम गरेको हो । सामना परिवारले उत्पादन अभियानका क्रममा १२०० रोपनी जमिनमा ओखर उत्पादन अभियान सुरु गरेको छ । २० जनाको टोली रहेको सामना परिवारले ओखर उत्पादनका लागि २५० वटा खाल्डो खनेर ओखर रोपेको छ ।

प्राप्त समाचारअनुसार जनजागरण अभियानकै क्रममा सामना परिवारका कलाकारहरू जनश्रमदान र उत्पादन सङ्घर्षमा लामबद्ध भएका हुन् । राप्ती ब्युरोमा पर्ने सल्यान, रुकुम र रोल्पा जिल्लाका विभिन्न आधारभूमिमा पुगी सामना परिवारका कलाकारहरू जनताको खेतबारी र खोरियामा खर काट्ने, मकै भाँच्ने, खेतबारी जोत्ने, टिम्मुर टिप्ने, दाउरा बोक्नेलगायत श्रमकार्यमा पनि सहभागी भएका छन् । सामना परिवारले नेकपाको नीति र कार्यक्रम लागू गर्ने क्रममा राजनीतिक तथा वैचारिक छलफल र प्रशिक्षणका साथै जनतालाई क्रान्तिमा गोलबन्द गराउने काममा पनि अब्बल भूमिका निर्वाह गरिरहेको छ । अभियानकै क्रममा सामनाको टोली ओखर उत्पादनका लागि दुई साता लामो उत्पादन सङ्घर्षमा सहभागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :