उचाइ लिँदै नयाँ क्रान्ति

उचाइ लिँदै नयाँ क्रान्ति

काठमाडौँ : नेपालमा १० वर्षसम्म जनयुद्धको नेतृत्व गरेको तत्कालीन नेकपा (माओवादी) ले आफ्नै जनसत्ता, आफ्नै जनसेनासहित देशको ८० प्रतिशत भूगोल नियन्त्रण गरेको थियो । माओवादी जनयुद्धको बेला रणनीतिक इलाकाहरूमा भीषण मोर्चाबन्दी युद्ध चलिरहेको समयमा आधारइलाकामा जनताको आफ्नै व्यवस्था नयाँ जनवादी सत्ताको अभ्यास भएको थियो । जनकम्युनहरू, गाउँ जनसरकारहरू, विद्यालयहरू र सहकारीहरू अथवा नमुना सामूहिक खेतीहरू हेर्दा केन्द्रीय सत्ता कब्जा हुने समय नजिकै भएको कल्पना गरिन्थ्यो ।

जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा अत्यन्तै ऐतिहासिक भनिएको रुकुमको चुनबाङमा सम्पन्न तत्कालीन माओवादीको केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीतिक कार्यक्रम पारित गरेपछि त्यहीँबाट माओवादीको पतनको बाटो सुरु भयो र माओवादी जनयुद्ध कथित शान्तिप्रक्रियाका १० वर्षमा यसको अवशेष मेटाउने अवस्थामा पुग्यो । जनताले हतियार उठाएर लडेको गौरवशाली जनयुद्धको अवशेष मेटाउने मात्र होइन, माओवादी जनयुद्धलाई अपराध र यसका नेतृत्वकर्ताहरूलाई अपराधी करार गर्ने कोसिससमेत भइरहेको छ । यसको पछिल्लो उदारहण सरकारी नेकपाको विवादपछि पुष्पकमल दाहालहरूलाई हेग लैजाने भनेर चलेको चर्चा पर्याप्त छ ।

जनयुद्धले उचाइ दिएका त्यसका नायक, अझ यसो भनौँ माओवादका प्रणेता माओ त्सेतुङसँगै तस्बिर र भनाइहरू उद्धरण गरेर पूजा गर्ने गरिएका पुष्पकमल दाहाल चुनबाङबाट आएको त्यही लोकतान्त्रिक गणतन्त्रको नारा समातेर आज संसद्वादमा पतन भएर गए भने नेकपाका महासचिव विप्लवका भाषामा बाबुराम भट्टराई आफ्नो कक्षबाट उछिट्टिएको ग्रहजस्तो एक्लिन पुगेका छन् । माओवादी जनयुद्धलाई धोका दिएर हँसिया–हथौडाको झन्डालाई च्यातेर फ्यालेका कारण जनयुद्धले हाइहाई बनाएका बाबुरामको आकार आज मधेसवादी दलहरूसँग पुगेर मरिचको गेडाजस्तै चाउरी परेको छ । यसको ज्वलन्त उदारहण केही महिनापहिले बाबुराम, पुष्पकमल दाहाल, केपी वलीसहितका पूर्वप्रधानमन्त्रीहरू उपस्थित भएको व्यवस्थापिकाको बैठकमा उनकै पार्टीका नेता राजेन्द्र महतोले गरेको कटाक्ष हो । उक्त बैठकमा महतोले पूर्वप्रधानमन्त्रीहरू बोल्दा रातो बत्ती नबाल्ने, हामीले बोल्दा रातो बत्ती बालिने ? हाम्रो पार्टीले प्रधानमन्त्री नदिएकाले हामीलाई विभेद गरेको हो भनेर बाबुरामको अपमान गरेका थिए ।

उता महान् जनयुद्धमा कुममा कुम जुधाएर यही राज्यसत्ताका विरुद्ध लडेका कमरेडहरूलाई गम्भीर धोका दिएर टाउकाको मूल्य ५० लाख रुपैयाँ तोक्नेहरूसँग चोचोमोचो मिलाउँदा आज पुष्पकमल दाहालको अवस्था निकै खराब बन्न पुगेको छ । दाहाल आज यस्तो कठिन अवस्थामा प्रवेश गरेका छन्, साख्खै मानिएका आफूनिकटका मानिसहरू पनि उनको सत्तोसराप गर्दै हिँडेका छन् । हिजो हजारौँहजार जनमुक्ति सेना र जनसत्तासहितको शक्तिशाली पार्टीका अध्यक्ष बनेका दाहालले आज कति निरीह बन्नुपरेको छ भने एमाले–एमाओवादी केन्द्रको ‘एकता’ पछि २ नम्बर अध्यक्ष त छँदै थिए, अहिले फेरि उनले दाहाल–माधव समूहमा पुग्दा पनि माधव नेपाललाई नै प्रथम अध्यक्ष मान्नुपर्ने अवस्था आइलागेको छ ।

जनयुद्धमा नेपाली जनतालाई देखाइएका सपनाहरूमा तुसारापात भएपछि क्रान्तिले स्थापित गरेका मूल्य–मान्यताहरू धराशयी भएपछि जनयुद्धका उपलब्धिहरू मेटिँदै त गए नै, नेपाली जनतामा घोर निराशा र वितृष्णा पैदा भएको अवस्थालाई उल्ट्याएर नेकपाले क्रान्तिको उद्घोष गरेसँगै अर्को आशा पलाएको छ ।

पछिल्लो समय खासगरी सरकारी नेकपाभित्रको विवादको कारण तर मुख्य गरी वैदेशिक शक्तिकेन्द्रहरूको चलखेलका कारण गरिएको संसद् विघटनपछि देश निकै ठूलो राजनीतिक सङ्कटमा फसेको छ । प्रत्यक्ष वा परोक्ष रूपमा विभिन्न विदेशी शक्तिकेन्द्रहरूको चलखेल कतिसम्म खतरनाक बन्दै गएको छ भने आजको युवा पुस्ता यो देश सिरिया वा इराक बन्न सक्छ भनेर चिन्ता व्यक्त गरिरहेको छ । यो विषम परिस्थितिमा क्रान्तिकारी शक्ति, देशभक्त, राष्ट्रवादी र खासगरी यो देशलाई माया गर्नेहरू एकपटक नयाँ चिन्तन र साहसका साथ क्रान्तिमा होमिनुपर्ने बेला आएको छ ।

केपी वलीले संसद् विघटन गरेपछि उत्पन्न परिस्थितिमा संसद्को पुनस्र्थापना जे नारा लगाए पनि यी सबै विकल्पहरू दलाल पुँजीवादी सत्तामा पुग्न तँछाड–मछाड गर्ने खेलबाहेक अरू केही पनि हुनसक्ने देखिँदैन । केपी वलीहरूले आफ्नो नेतृत्वमा हुने मध्यावधि चुनाव नै राजनीतिक सङ्कट समाधानको उत्तम विकल्प भएको बताए पनि र प्रचण्ड–माधवहरूले संसद्को पुनस्र्थापना र आफ्नो नेतृत्वमा सरकार गठन बताए पनि यो दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाभित्र हुने तुच्छ स्वार्थसमूहहरूको सङ्घर्षको परिणाम हो । पुँजीवादी देशहरूमा समेत समाजवादको नारा लाग्न थालेको बेला नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्था असफल भैसकेको र वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य बन्दै गएको अवस्था हो ।

नेकपाले अघि बढाएको क्रान्तिका माध्यमबाट वैज्ञानिक समाजवादको बहस चलिरहेको, व्यवस्था परिवर्तनको बहस पनि चलिरहेको र चार पार्टी क्रान्तिकारी शक्तिबीच दीर्घकालीन संयुक्त मोर्चा निर्माणसहित वैकल्पिक सत्ताकेन्द्रित सङ्घर्ष सञ्चालन गर्ने तयारी भइरहेको समयमा एकपटक विभिन्न ठाउँमा छरिएर रहेका क्रान्तिकारीहरूले नयाँ उत्साह र साहसका साथ अग्रगामी परिवर्तनको दिशामा अघि बढ्नु अनिवार्य आवश्यकता भैसकेको छ । नेकपाका महासचिव विप्लवले भनेका छन्, ‘तमामखाले समस्याको समाधान वैज्ञानिक समाजवाद नै हो भन्ने स्पष्ट भइसकेपछि विगतमा हामीबाट जताजता त्रुटि, गल्ती, कमजोरी भए पनि तिनलाई सच्याउनुपर्छ । जहाँबाट बाटो बिराइएको थियो, त्यही बिन्दुमा नयाँ सोचका साथ फर्किन आँट गर्नुपर्छ । देशलाई नेतृत्व दिनका लागि आत्मसमीक्षासहित नयाँ धु्रवीकरणमा सहभागी बन्नुपर्छ । कमजोरी सच्याएर जनताका पक्षमा उभिँदा कमजोर भइँदैन, तल परिँदैन, बरु बलियो र सफल भइन्छ । यसो गर्न हिच्किचायौँ भने निर्णय लिन ढिला हुनेछ । ढिला पटक्कै नगरौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :