वैकल्पिक सत्ताको खोजी

वैकल्पिक सत्ताको खोजी

हरेक पतनशील वस्तुको विकल्प हुन्छ । मानिस चेतनशील र सामूहिक श्रममा विश्वास गर्ने प्राणी भएकाले उसले आफ्ना लागि, आफ्नो समुदायका लागि, आफ्नो वर्गका लागि नयाँ, विश्वासिला, भरपर्दा विकल्पहरू तयार गरिरहेको हुन्छ । सामाजिक प्राणी हुनुको नाताले मानिस जन्मजात स्वार्थी, विवेकहीन र शोषणकारी पनि हुँदैन । उसलाई समाजव्यवस्थाले वर्गस्वार्थमा लपेट्ने हो । आफ्नो वर्गको हितका लागि मानिसले त्याग गर्छ । शौर्य देखाउँछ । समर्पित हुन्छ र बलिदानसम्म गर्छ । सामन्ती र पुँजीवादी शोषणकारी चिन्तनले ग्रस्त र वर्गविभाजित समाजलाई वर्गविहीन र समानतामूलक बनाउन विगतमा धेरै चिन्तक र योद्धाहरूले ठूलो यत्न गरेका छन् र सफलता पनि प्राप्त गर्दै आएका छन् । नेपालमा पनि यसका लागि सात दशकदेखि प्रयत्न जारी छ । हजारौँ वर्षदेखि वर्गमा विभक्त भएको समाजलाई वर्गविहीन, शोषण– विभेदरहित, समानतामूलक बनाउने प्रक्रिया वा कदमलाई कार्यदिशा बनाएर नयाँनयाँ आन्दोलन, युद्ध र क्रान्तिहरू प्नि भइरहेका छन् । महान् चिन्तक कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स, लेनिन, स्टालिन, माओ त्सेतुङलगायत श्रमजीवी वर्गका चिन्तक र योद्धाहरूले समानतामूलक समाज निर्माणका लागि धेरै ठूलो बौद्धिक, शारीरिक श्रम र विचार लगाएका छन् । त्यसैले उनीहरू श्रमिक सर्वहारा वर्गका हृदयका स्पन्दन बनेका छन् । यो साता श्रमिक वर्गका लागि सम्पूर्णतः समर्पित हुने, त्याग गर्ने र सामूहिक विचार र दर्शन दिने विश्व–सर्वहारा वर्गका महान् नेता कमरेड माओ त्सेतुङको १२८ औँ जन्म दिवस हो । हामी हाम्रो वर्गका महान् दार्शनिक, योद्धा तथा नेता माओप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै आफ्नो वर्गको स्वार्थ र विजयका लागि अन्तिम समयसम्म आफ्नो मोर्चामा डटिरहने प्रण गर्दछौँ र विद्यमान विभेदकारी, शोषणकारी, पक्षपातपूर्ण दलाल पुँजीवादी वर्गसत्ताको अन्त्यका लागि वैज्ञानिक समाजवाद स्थापना गर्न र विद्यमान जटिल, व्यक्तिवादी, बर्बरतापूर्ण दलाल पुँजीवादी आततायी सत्ताको अन्त्यका लागि नयाँ विकल्प खोज्न, प्रस्तुत गर्ने बाटोमा अग्रसर हुन जिम्मेवार तह र तप्कामा हार्दिक आह्वान पनि गर्दछौँ ।

यतिबेला मुलुकमा सत्तासङ्कट चरम रूपमा अभिव्यक्त भइरहेको छ । कम्युनिस्ट मुखुन्डो भिरेर देश र जनताको दोहन गरिरहेका दलाल पुँजीवादी शासक र तिनका चाकरहरूका घिनलाग्दा हर्कतका कारण आज देश र जनताले पाउनुसम्म दुःख पाएका छन् । चरम पुरातनपन्थी सामन्ती शासनका विरुद्ध दस वर्षसम्म सञ्चालित जनयुद्धका नाइकेहरू नै वर्ग परिवर्तन गरेर रातारात दलाल पुँजीपति वर्गमा सामेल भएपछि जनतामा अन्योल उत्पन्न भएको थियो तर फेरि क्रान्तिकारीहरूका बीचमा धु्रवीकरण, केन्द्रीकरण हुँदै क्रान्तिको नयाँ आयाम अग्रगतिमा बढेपछि देश र श्रमिक जनताको मुक्तिका लागि एउटा भरपर्दो विकल्प खडा भएको छ र जनता दैनिक आशावादी बनिरहेका छन् । दलाल पुँजीवादी सत्ताले आफ्नो स्वार्थ र चरित्र प्रदर्शन गर्दै फेरि जनतामाथि धोका दिएको छ । वर्तमान दलाल पुँजीवादी सत्ता केपी वली नेतृत्वको सरकारका रूपमा अभिव्यक्त भइरहेको थियो । जनयुद्धका नायक मानिएका पुष्पकमल दाहाल समूहको वैचारिक र राजनीतिक पलायनको शृङ्खला प्रतिक्रान्तिकारी शक्तिमा पुगेपछि नै वली समूहको एमालेसँग पार्टीएकताका नाउँमा गठजोडमा पुगेको थियो । कम्युनिस्ट नाउँका दुई समूहको गठबन्धनपछि जनताले एकपल्ट सजिलो विकल्प रोजेर उनीहरूलाई सत्तासीन पनि बनाएका थिए तर बिरालोलाई जति डोकोले थुने पनि एकपल्ट म्याउँ गरेरै छोड्छ भनेजस्तै वली–दाहालहरूले आफ्नो चरित्र छर्लङ्ग देखाउँदै जनमतको चरम दुरुपयोग गरिदिए । आफ्नो मतको दुरुपयोग गर्ने वली–दाहाल सरकार अर्थात् त्यो सरकारमा अभिव्यक्त भइरहेको दलाल पुँजीवादलाई जनताले अब राम्ररी चिन्ने अवसर पाएका छन् र दलाल पुँजीवादको विकल्प प्रस्तुत गर्दै नेकपाको नेतृत्वमा अघि बढिरहेको एकीकृत जनक्रान्तिलाई भरपर्दो विकल्प ठानिरहेका छन् । क्रान्तिको यही दावानलले दलाल पुँजीवाद र पुँजीवादी सत्तालाई निल्दै गएको छ र दलाल पुँजीवादी सत्ता, चिन्तन, प्रणाली असफलताको अन्तिम सास फेरिरहेको छ ।

मालेमावादी क्रान्तिकारीहरू नियतिलाई मान्दैनन् । दलाल पुँजीवादमा आएको सङ्कट आफैँ आएको होइन । दलाल पुँजीवादको मृत्युन्मुखी चरित्र र क्रान्तिको दावानल दुई कारणले दलाल पुँजीवादी सत्ता यतिबेला धरापमा परेको हो । क्रान्तिकारीहरूका लागि यो आफैँले निर्माण गरेको अग्रगामी निकासको सुनौलो अवसर हो । दलाल पुँजीवादका विरुद्ध आन्दोलित र वर्तमान सत्ताको चरित्रसँग असहमत अग्रगामी शक्तिहरूलाई एकत्रित गरेर वैज्ञानिक समाजवादसम्म पुग्ने एउटा भरपर्दो विकल्प प्रस्तुत गर्नु अनिवार्य भएको छ । विद्यमान दलाल पुँजीवादी बर्बरताको अन्त्य गर्दै वैज्ञानिक समाजवादसम्म जानका लागि क्रान्तिकारी, प्रगतिशील र देशभक्तहरूका लागि त्यो विकल्प एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले मात्र दिन सक्छ । यसको सङ्केत गर्दै नेकपाका महासचिव विप्लवले भनिसकेका छन्– आज केपी वलीले कथित लोकतन्त्रको उच्च संस्था भनिने संसद्लाई बलात् भङ्ग गरे । नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने सङ्घर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो । तीन दशकको प्रयोगमा जनताले मौका दिँदादिँदै पनि पूर्णतः असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा एकरत्ति पर्नु हुँदैन । यो सङ्कटको वास्तविक समाधान, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनार्थ सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, लोकतन्त्रवादी, देशभक्त शक्तिहरूलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न हाम्रो पार्टी विशेष आग्रह गर्दछ । साथै सम्पूर्ण नागरिकहरूलाई आमूल परिवर्तनकारी सङ्घर्षमा सहभागी बन्न र सहयोग गर्न हार्दिक अपिल गर्दछौँ ।

यही अपिललाई केन्द्रमा राख्दै अब अग्रगामी शक्तिहरूले नयाँ विकल्पका लागि आफूलाई तयार राख्नुपर्ने र देश र जनतालाई राहत दिनुपर्ने अवस्था उत्पन्न भइसकेको छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :