वलीको हिटलरपथमा पतन, स्टालिनको खाँचो

वलीको हिटलरपथमा पतन, स्टालिनको खाँचो

हामी यतिबेला विश्वसर्वहारा वर्गका महान् समाजवादी नेता जोसेफ स्टालिन दिवस मनाइरहेका छौँ । यसै समयमा नेपालमा भने दलाल संसद्वादी पुँजीवादका नायक केपी वलीहरुको हिटलरपथमा पतन भइरहेको छ । समयले फेरि दलाल पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवादको स्थापना, रक्षा र विकासका लागि नेपाली स्टालिन खोजिरहेको छ । लेनिनवादका सफल प्रयोगकर्ता र समाजवादका रक्षक महान् स्टालिनप्रति हार्दिक रक्तिम श्रद्धासुमन व्यक्त गर्दै दलाल पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवाद– साम्यवाद स्थापनाको दिशामा दृढतापूर्वक अग्रसर हुनु यतिबेला क्रान्तिकारी मालेमावादीहरूमाथि आएको महान् जिम्मेवारी हो ।

संसद्वादीहरू घोक्रो सुक्ने गरी कराउँछन्– संसारमा सबैभन्दा लोकतान्त्रिक र अब्बल व्यवस्था संसदीय व्यवस्था हो । जुन व्यवस्थामा जनमतको कदर हुँदैन, जुन व्यवस्थामा एउटा व्यक्तिको सनकको भरमा कथित सर्सशक्तिमान् संसद् गल्र्याम्म ढल्छ र सांसदहरू पाहाझैँ पछारिन्छन्, जहाँ जनताले खान त परै जाओस्, बोल्नसम्म पाउँदैनन्, जुन व्यवस्थामा सत्ता, सरकार, सुरक्षा निकाय, न्यायालयले गरेको मनोमानीको सुनुवाइ हुँदैन, त्यो व्यवस्था कसरी लोकतान्त्रिक वा अब्बल हुनसक्छ ? आइतबार बिहानसम्म आफूलाई सर्वशक्तिमान मानिरहेका संसद्वादी दलका सांसदहरूको लोकतन्त्र केपी वली र विद्या भण्डारीको एकै सनकमा स्वाहा भयो । जनता र जिम्मेवार राजनीतिक शक्तिको चासो र चिन्ताको विषय के हो भने केपी, विद्या, पुष्पकमल दाहाल, माधव नेपाल वा शेरबहादुर देउवाहरू, उनीहरूले रोजेको संसदीय व्यवस्था देश र जनताको मुक्तिको साधक होइन, बाधक हो । संसद् विघटनका लागि प्रधानमन्त्रीको पदबाट वलीले गरेको सिफारिसलाई विद्याले एकै निमेषमा लालमोहर लगाइदिइन् । खेला खत्तम ! यो दलाल संसदीय व्यवस्थाको गहना हो । यो गहनाले दलाल संसद्वादका पक्षधरहरू नै सजिऊन्, यसमा जनताको कुनै लेनदेन छैन । जनताको गम्भीर प्रश्न के छ भने– जुन व्यवस्थाका मतियारहरूले, पक्षपाती र पक्षपोषकहरूले हामीलाई तिम्रो मत वा समर्थन देऊ, हामी पाँच वर्षभित्रमा वा यति वर्षमा तिमीलाई सुख, शान्ति, अमनचैन, लदाबदी दिन्छौँ भनेर जनतासँग मत मागे, तिनै व्यवस्थाका पार्टी, नेता वा सरकारले जनतालाई आहतशिवाय केही दिएनन् । उल्टै देशको अहितमा काम गरे । जनताको अहितमा काम गरे । भ्रष्टाचार, तस्करी, कमिसन, लूटतन्त्र सञ्चालन गरेर देश र जनतालाई कङ्गाल पारिसक्दा पनि तिनको हृदय प्रसन्न भएन र सत्तादोहनका लागि एकापसमा तँछाड्मछाड, बाझाबाझ र गाँड कोराकोर गरेर विधायिका नै भङ्ग गरिदिए । यस्तो व्यवस्था कसरी लोकतन्त्र हुनसक्छ ?! यो त लोकतन्त्रको ब्यानरमा फासिवाद हो । दलाल व्यवस्थाको तानाशाही हो । जनताले यसको विकल्प खोजिरहेका छन् र त्यो वैज्ञानिक समाजवादी व्यवस्था हो । यसका लागि पनि हामी महान् स्टालिनलाई सम्झिरहेका छौँ ।

केपी वली र विद्या भण्डारीहरूलाई कथित सार्वभौम संसद् भङ्ग गर्न कसले आदेश दियो ? उनीहरूलाई यो शक्ति र ऊर्जा कहाँबाट प्राप्त भयो ? यस किसिमको अनिश्चित चक्रमा नेपाली जनताले कहिलेसम्म पिँधिइरहनुपर्ने हो ? के वली–विद्याको यो कदम अप्रत्याशित हो ? यो वलीहरूको मात्र समस्या हो कि अरू पनि केही हो ? यस सन्दर्भमा नेकपाका महासचिव विप्लवले भनेका छन्– केपी वलीले कथित लोकतन्त्रको उच्च संस्था भनिने संसद्लाई बलात् भङ्ग गरे । नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने सङ्घर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो ।

महासचिव विप्लवले संश्लेषण गरेजस्तै यो दलाल संसद्वादको अनिवार्य नियति हो । दलाल पुँजीवादका मतियारहरू नारामा सबैभन्दा बढी शान्ति, समृद्धि, विकास, लोकतन्त्रको कुरा गर्छन् तर व्यवहारमा उनीहरू सबैभन्दा बढी क्रूरता, रूढि, अशान्ति, कङ्गाली, विनाश र तानाशाही लाद्छन् । एउटा केपी वली वा विद्या भण्डारीको स्वार्थका लागि कथित सार्वभौम संसद्को विघटन किन गरियो ? यद्यपि नेपाली श्रमिक जनताको विद्यमान जीवनमा यसको कुनै लेनदेन नहुन सक्छ किनकि दलालहरूले विभिन्न झूट्टा नारा र प्रलोभन दिएर पाँच वर्षका लागि औँठाछाप लिइसकेका थिए तर आफैँले गरेको वाचा, प्रतिबद्धता र प्रलापलाई ‘धोती’ लगाउँदै र धज्जी उडाउँदै केपी र विद्याहरूले कथित जनमत, जनादेश वा लोकतन्त्रको चिरहरण गरिदिए । यही व्यवस्था रहेसम्म फेरि हुने त्यही हो । विभिन्न नौरङ्गी नारा र विज्ञापन लिएर फेरि अर्का केपी वा पीके, माकुने, शेरबहादुर र कमल थापा वा महन्थ ठाकुरहरू आउनेछन् र अर्को पाँच वर्षमा तिम्रो जीवनमा कायापलट गरिदिन्छौँ भन्दै फेरि औँठाछाप लगाइमाग्नेछन् । त्यसको नियति पनि यस्तै हुनेछ । यो अनन्त चक्र किन र कहिलेसम्म ? अब नेपाली जनताले यसको स्थायी समाधान खोजिरहेका छन् र त्यो हो वैज्ञानिक समाजवाद । महासचिव विप्लव भन्छन्– जनताको शान्ति र प्रगतिको आकाङ्क्षा पूरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो सङ्कट टार्न खोज्ने संसद्वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरूप पर्ने केपी वलीले यो कदम चालेका छन् । परन्तु यसले वस्तुतः दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवश्यकतालाई निर्विकल्प रूपले पुष्टि गरेको छ । नेपाली जनताको अबको यात्रा यतैतर्फ हो र हुनुपर्छ ।

नेपाली जनताले धेरै केपी र विद्याहरूलाई भोगिसकेका छन् । अर्थात् सामन्ती, पुँजीवादी, दलाल पुँजीवादी व्यवस्थाले दिने अभाव, महँगी, अशान्ति, भोकमरी, हाहाकार, राष्ट्रघात, जनघातबाट नेपाली जनता आजित छन् । वली र दाहाल–नेपालबीचको वाक्युद्ध पनि यही व्यवस्थाको देन हो । भोलि हुने पार्टी विभाजन, फेरि लुचाचुँडी, तानातान, हानाहान र फोस्रा आश्वासन जनताको भागमा यो व्यवस्थाले दिने उपहार भनेकै यही हो– धोका, अभाव र मृत्यु । उसै पनि अभावैअभाव झेलेर मृत्युको मुखमा पुग्नै छ भने जनताले यस्तो पीडा र मृत्यु रोज्नैपर्ने अवस्थाको अन्त्यका लागि विद्रोह किन नगर्ने, जनक्रान्तिमा सामेल किन नहुने ? वैज्ञानिक समाजवाद स्थापनाको महान् यात्राका यात्री किन नबन्ने ? महासचिव विप्लव भन्छन्– तीन दशकको प्रयोगमा जनताले मौका दिँदादिँदै पनि पूर्णतः असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा एकरत्ति पर्नु हुँदैन । यो सङ्कटको वास्तविक समाधान, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनार्थ सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, लोकतन्त्रवादी, देशभक्त शक्तिहरूलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न हाम्रो पार्टी विशेष आग्रह गर्दछ । साथै सम्पूर्ण नागरिकहरूलाई आमूल परिवर्तनकारी सङ्घर्षमा सहभागी बन्न र सहयोग गर्न हार्दिक अपिल गर्दछौँ । हो, अबको स्थायी निकास भनेको फेरि बारम्बार आन्दोलन, युद्ध र क्रान्तिको बाटो रोज्नु नपर्ने गरी नेपाली जनताले एकीकृत जनक्रान्तिमा लामबद्ध हुने नै हो । यसले नै दलाल संसद्वादको खरानीमा नयाँ, समानतामूलक वैज्ञानिक समाजवाद स्थापना गराउनेछ । हिटलरको फसिवादको पराजय र महान् स्टालिनका योगदानहरूको कदर पनि यही मार्गबाट हुनेछ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :