अन्ततः सरकारी नेकपा विभाजित

एउटा समूहको अध्यक्ष माधव नेपाल र अर्काको केपी वली

अन्ततः सरकारी नेकपा विभाजित

काठमाडौँ : सत्ताउन्मादले पात्तिएको सरकारी नेकपा अन्ततः विभाजनको नराम्रो खाडलमा जाकिएको छ । एकातिर केपी वलीको चरम महत्वाकाङ्क्षा, जडता र अधिनायकवादी चरित्र तथा अर्कातिर जहाँ पनि गुट बनाएर फुटाउने र केन्द्रीय भूमिकामा रहेर रमाइरहने पुष्पकमल दाहालको विभाजनकारी तथा आत्मसमर्पणवादी विरासतका कारण दलाल संसद्वादको रक्षक बनेको सरकारी नेकपा मङ्गलबारबाट चूर्णचूर्ण बनेको हो । सत्ता र सरकारमा बसेर राज्यको दोहन र ब्रह्मलूटमा भागबन्डा नमिल्दा सरकारी नेकपा फुटेको हो । विचार, सिद्धान्त, निष्ठा, आदर्श, राजनीति, सपना सम्पूर्ण ध्वस्त बनाएर मात्र सत्तादोहनलाई केन्द्रमा राखी अस्तित्वरक्षाका लागि एकापसमा गठबन्धन गरेका यी दुई समूहले त्यसलाई पार्टीएकताको नाउँ दिएका थिए । केन्द्रमा स्वार्थकेन्द्रित गठजोड भए पनि दुई समूहको इतिहास र विरासत पृथकपृथक भएका कारण तलसम्म एकता हुन सकेको थिएन । यी दुवै समूहले सत्तामा रहँदा मुलुकको स्रोत र साधनको चरम दोहन गरेका छन् र देश र जनतामाथि घात गरेका छन् । सत्ताउन्माद र अहंकार नै यो समूहको विभाजनको प्रमुख कारण हो ।

दुवै समूहले आफूले पार्टी विभाजनको दोष नलिन एकले अर्कालाई दोष दिएर कारबाहीको नाटक मञ्चन गरेका छन् । मङ्गलबार दुवै समूहले देखाएको तमासा हेर्नलायक थियो । संसद्वादी पार्टी/समूह भएकाले निर्वाचन आयोग र सर्वोच्च अदालतको मुद्दाको झमेलामा केही समय फसेपछि यी दुवै समूह टुक्राटुक्रा हुनेछन् । दाहालले यसपटकको विभाजनमा पूर्वएमाले समूहका तर्फबाट माधव नेपाल, झलनाथ खनाल, भीम रावलहरूलाई भित्र्याएका छन् भने वलीले दाहाल समूहका कमजोर पात्र लेखराज भट्टलाई पाएका छन् । पूर्वएमाले समूहका वामदेव गौतम र पूर्वमाओवादी समूहका रामबहादुर थापाहरू भने च्याँखे थापेर बसेका छन् । यिनीहरूले आफूलाई जता बढी भाग आउँछ, त्यतै साथ दिनेमा शङ्का छैन । यी दुवै पात्र ठोस निर्णय लिन नसक्ने र ताकछोपुवा मात्र भएकाले कुनै निर्णायक भूमिका हुनेछैन ।

दाहाल समूहले केपी वलीलाई प्रथम अध्यक्षबाट कारबाही गरी माधव नेपाललाई प्रथम अध्यक्ष बनाएको घोषणा गरेको छ । दाहाल फेरि पनि दोस्रा अध्यक्ष नै बनेका छन् । विघटित संसद् पुनस्र्थापना भएमा संसद्मा बहुमत पुर्याएर दाहाल प्रधानमन्त्री हुने र झलनाथ खनाललाई राष्ट्रपति बनाउने यो समूहको लक्ष्य रहेको देखिन्छ । उता केपी वली भने चुनाव गराएरै छाड्ने र दुई तिहाइ मत प्राप्त गरेर फेरि सत्तासीन हुने सपना बाँडिरहेका छन् । उनले पार्टीको महाधिवेशन पनि घोषणा गरेका छन् । दाहाल–नेपाल समूहले भने महाधिवेशनबारे केही बालेको छैन ।

यसअघि दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले वलीलाई अध्यक्षबाट बर्खास्त गरेको घोषणा गरेको थियो । नेपाललाई पार्टीको प्रथम अध्यक्ष बनाउने प्रस्ताव अर्का नेता खनालले बैठकमा पेस गरेका थिए । वली समूहले भने उक्त बैठक अवैधानिक भनेको छ । दाहाल–नेपाल समूहले पनि वली पक्षको बैठकलाई अवैधानिक भनेको छ । वली पक्षको बैठकले कसैलाई पनि कारबाही नगरिएको जनाएको छ भने दाहाल पक्षले वली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताएको छ । पार्टीमा अल्पमत र घेराबन्दीमा परेपछि वलीले एकपक्षीय रूपमा संसद् विघटन गरेर आगामी वैशाखमा प्रतिनिधिसभा चुनाव घोषणा गरेका थिए । वलीको निर्णयको सबैतिरबाट विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :