एउटा नयाँ तरङ्ग

एउटा नयाँ तरङ्ग

नेपालको राजनीतिमा गएको साताबाट एउटा नयाँ तरङ्ग आरम्भ भएको छ र त्यसको असर क्रमशः बढिरहेको छ । मङ्सिर २३ गते मोरङको मिक्लाजुङका राजेन्द्र श्रेष्ठ नाउँ गरेका व्यक्तिको नेकपाका कार्यकर्ताको प्रतिकारका क्रममा मृत्यु भएपछि उक्त घटनाले केही स्वाभाविक र केही अस्वाभाविक रूपमा परिचर्चा पाएको छ । विशेषगरी नेकपा मेची–कोसी ब्युरो र नेकपा केन्द्रीय कार्यालयले वक्तव्य र सूचना जारी गरी निज श्रेष्ठ लामो समयदेखि नेकपाको कार्यदिशा, नीति, कार्यक्रमका विरुद्ध केपी वली सरकारलाई सघाउँदै आएको अर्थात् एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपाललाई दलाल पुँजीवादी दलदलबाट मुक्त गरेर वैज्ञानिक समाजवादी समाज स्थापना गर्ने उद्देश्यसाथ क्रान्ति अघि बढाइरहेको नेपाल कम्युनिस्ट पार्टी र उसका गतिविधिविरुद्ध राज्यको सुराकीका रूपमा काम गर्दै आएको प्रस्ट पारिसकेको छ । निज राजेन्द्र श्रेष्ठले पार्टीलाई धेरै क्षति पुर्याएको र सुध्रिन अर्थात् नेकपाविरुद्ध सुराकी नगर्न निरन्तर सुझाव र चेतावनी दिँदा पनि उनले उल्टै पार्टी कार्यकर्ताविरुद्ध धम्की दिँदै आएको विषय ब्युरोको वक्तव्यमा उल्लेख छ । नेकपा केन्द्रीय कार्यालयले उक्त घटना व्यक्तिहत्या, शिक्षकहत्या वा युद्धको घोषणा केही नभएर प्रतिरोध मात्र भएको जनाइसकेको छ ।

अर्कोतिर नेकपाविरुद्ध सुराकी नगर्न भन्दै सम्झाउन गएका नेकपा कार्यकर्ताहरूमाथि निज श्रेष्ठले साङ्घातिक रूपमा हतियार नै प्रहार गर्न लागेको र नेकपा कार्यकर्ताहरूले आत्मरक्षाका लागि प्रतिकार गर्दा मृत्यु भएको पनि नेकपाले आधिकारिक रूपमा वक्तव्य नै जारी गरी सार्वजनिक गरेको छ । नेकपाले वक्तव्यमार्फत सत्यतथ्य सार्वजनिक नगर्दासम्म भ्रम र असत्य सूचना बेचेर जीविकोपार्जन गरिरहेकाहरूको गाँसमा ढुङ्गा नलागे पनि नेकपाको वक्तव्यपछि तिनको मुखमा बुझो लागेको छ । उक्त घटनालाई विभिन्न कोणबाट व्यक्तिहत्यासँग तुलना गर्ने, शिक्षकको हत्या भएको भन्दै वक्तव्यबाजी र आन्दोलन घोषणा गर्ने, नेकपाले युद्धको घोषणा गर्यो भन्दै सरकारलाई दमनका लागि उक्साउने, केपी वली सरकार र रामबहादुर थापा गृह प्रशासन सत्यतिर ध्यानै नदिई प्रहरीहरूलाई बस्तीबस्तीमा मार्चपास्टका लागि खटाउने र गाउँबस्तीहरू आतङ्कित पार्ने खेलमा बढाउनतिर लागेको देखिन्छ । यसले सर्वसाधारणलाई केही आतङ्कित पनि बनाएको छ भने देश र जनताका लागि अहोरात्र खटिरहेकाहरूका लागि केही चिन्ता र जिम्मेवारी पनि थपिदिएको छ ।

मोरङ घटनाले नेपालको राजनीतिक दृष्टिक्षितिजमा एकैचोटि धेरै पर्दाहरू खोलिदिएको छ । एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको नेकपाले वक्तव्यमार्फत निज श्रेष्ठले पार्टीका विरुद्ध, जनमुक्ति सेनाका विरुद्ध, नेकपाको राजनीतिक गतिविधिविरुद्ध लामो समयदेखि निरन्तर सुराकी गरिरहेको, क्षति पुर्याइरहेको, नेकपाले सम्झाउने तर निज श्रेष्ठले राज्यको आडमा उल्टै धम्क्याउने काम गर्दै आएको र अन्तिममा पनि सम्झाउने क्रममा नेकपाका कार्यकर्तामाथि हतियार नै दागेर आक्रमण गर्न लागेपछि नेकपाका कार्यकर्ताले प्रतिरोध गर्नुपर्ने स्थिति उत्पन्न भएको र अन्त्यमा श्रेष्ठको मृत्यु भएको देखिन्छ । सरकारी नेकपा, केपी वली सरकारका सुरक्षा निकाय, विशेषगरी प्रहरी बल र सरकारी नेकपाका स्थानीयदेखि केन्द्रसम्मको शक्ति नेकपालाई राज्यले लगाएको प्रतिबन्ध सही रहेको साबित गर्न र नेकपालाई सत्तोसराप गरेर समय कटाउन व्यस्त भएको देखिन्छ भने लामो समयदेखि नेकपाविरुद्ध परिचालित सुरक्षा निकायलाई वली–रामबहादुर प्रशासनले नेकपाविरुद्ध थप दमन गर्ने, धरपकड र गिरफ्तारी बढाउने र सबै क्षेत्रमा असफल र बदनाम भएको सरकार र सत्ता–शक्तिविवादले बदनाम र नाङ्गेझार भइसकेको सरकारी नेकपाको लाज ढाक्ने टालो बनाउन खोजेको देखिन्छ ।

नेकपा नेपालको समग्र राज्यसत्ता परिवर्तन गरेर मुलुकमा श्रमजीवी वर्गको नेतृत्वमा वैज्ञानिक समाजवादी अर्थात् समानतामूलक सत्ता स्थापना गर्ने महान् यात्रामा लामबद्ध एक शक्तिशाली वैकल्पिक शक्ति हो । नेकपाले निरन्तर राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई केन्द्रमा राखेर आन्दोलन गर्दै आएको छ भने यसअघि भ्रष्टाचारी, कमिसनखोर र दलालहरूमाथि साङ्केतिक कारबाहीसमेत गर्दै आएको छ । सरकारी सुरक्षा निकायमाथि आक्रमण नगर्ने घोषणा गरेको नेकपाले दलाल पुँजीपति वर्गका विरुद्ध आन्दोलन केन्द्रित गर्दै आएको छ । यस्तो अवस्थामा नेकपाले आफ्नो वैकल्पिक सत्ता र सत्ताका अवयवहरू सेना, हतियार, अदालतलगायत सम्पूर्ण संरचना निर्माण भएकोसमेत सार्वजनिक गरेको छ । गतसाता रातो खबरलाई दिएको अन्तर्वार्तामा नेकपाका महासचिव विप्लवले यो कुरालाई विशेष जोड दिएका थिए भने राजेन्द्र श्रेष्ठको घटनापछि नेकपाका मेची–कोसी ब्युरो इन्चार्ज प्रतापले जारी गरेको वक्तव्यमा पनि निज श्रेष्ठले नेकपाको जनमुक्ति सेनाको तालिमका विरुद्धसमेत सुराकी गरेको जनाइएको छ । यसप्रकारका सूचना र तथ्याङ्कलाई हेर्दा क्रान्ति सञ्चालन गरिरहेको नेकपाले पनि पार्टी र सङ्गठनलाई निकै व्यवस्थित पारेको देखिन्छ यद्यपि उसले यसअघि कतै पनि कसैलाई कठोर भौतिक कारबाही गरेको र सुराकीलाई सच्चिन र सुध्रिन चेतावनी दिएर पनि उल्टै प्रतिकार गर्न आउँदा प्रतिरोधमा मारिएको जस्ता घटना सार्वजनिक गरेको थिएन ।

राजेन्द्र श्रेष्ठको मृत्युको घटना, नेकपाको वक्तव्य, विभिन्न क्षेत्रका माध्यम र पात्रहरूले सरकारलाई उत्तेजित बनाउने गरी प्रवाह गरेका विचार वा समाचार र सरकारी प्रतिसिक्रया वा तयारी हेर्दा पनि वली सरकार र सरकारी नेकपा यसै घटनालाई देखाएर सरकार र पार्टीको असफलता र बदनामीलाई ढाकछोप गर्ने र देशमा अझै निरन्तर ब्रह्मलूट मच्चाउने योजना र षड्यन्त्रमा लागेको देखिन्छ ।

वास्तवमा केपी वली सरकार मुलुकमा निर्बाध रूपमा राष्ट्रघात, जनघात, दमन, लूट, भ्रष्टाचार, व्यभिचारको चक्र चलाइरहेको छ । वली र उनको समूह सरकार वा सत्ताको दुरुपयोग गरेर विरोधीहरूलाई तह लगाउने र आफू निर्बाध दोहन गर्ने मात्र होइन, आफ्नै पार्टीका आफूविरोधी नेता र कार्यकर्ताहरूलाई पनि विभिन्न बहानामा छेउमै पुर्याउने दमनचक्र सञ्चालन गरिरहेका छन् । वलीको यही मूख्र्याइँ र धूत्र्याइँलाई हिजोका चरम फासिवादी शक्तिहरूले समेत कम्युनिस्टको कार्यक्रमसँग तुलना गर्दै नेपालमा लोकप्रिय रहेको कम्युनिस्ट शक्तिविरुद्ध बकबास गर्ने अवसर पाएका छन् भने प्रतिगामी शक्तिहरूले समेत वली शासनविरुद्ध हजारौँको सङ्ख्यामा जुलुस प्रदर्शन गर्ने हिम्मत गरेका छन् । आमूल परिवर्तनको पक्षधर शक्ति नेकपामाथि निरन्तर दमन गर्ने, राष्ट्रघात, जनघात, भ्रष्टाचार, बेथितिमा लीन वली सरकारले सडकमा प्रदर्शनमा उत्रिएका गणतन्त्र, सङ्घीयताविरोधी शक्तिहरूलाई भने निर्बाध छूट दिइरहेको र उल्टै प्रोत्साहनसमेत गरिरहेको बुझ्न कुनै द्विविधा वा कठिनाइ छैन । वली गणतन्त्र र सङ्घीयताविरोधी शक्तिहरूका नायक हुन् र उनी नेपालका परिवर्तनकारी शक्तिका अप्रिय पात्र हुन् । हुँदाहुँदा कहिल्यै पनि नेपाल र नेपाली जनताका लागि काम नगरेको काङ्ग्रेससमेत वली सरकारका विरुद्ध सडकमा निस्किने आवस्था उत्पन्न एको छ

एकातिर परिवर्तनकारी शक्तिमाथि प्रतिबन्ध र अर्कातिर प्रतिगमनकारी शक्तिको स्वागत हेर्दा वली सरकार र उनको नेतृत्वको पार्टीले कुनै पनि दिन जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सीमित उपलब्धि गुम्ने गरी देश र जनताविरोधी कदम चाल्नसक्ने खतरा अझै बढेको छ । यो अवस्थामा क्रान्ति र परिवर्तनकारी शक्तिहरूबीचको एकता झनै अत्यावश्यक बन्दै गएको छ भने षड्यन्त्रकारी र स्वेच्छाचारी वली सरकारका विरुद्ध सर्वत्र आन्दोलनको आँधीबेहरी ल्याउनुपर्ने टड्कारो आवश्यकता बनिसकेको छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :