नेपाल–कोरिया लेखक–पत्रकार मञ्च र जनगणतन्त्र कोरियाबीच अन्तरक्रिया

नेपाल–कोरिया लेखक–पत्रकार मञ्च र जनगणतन्त्र कोरियाबीच अन्तरक्रिया

काठमाडौँ : नेपाल–कोरिया लेखक–पत्रकार मञ्च र जनगणतन्त्र कोरियाका राजदूत तथा कोरियाली दूतावासका कन्सुलरहरूका बीचमा दुई देशबीचको सम्बन्ध, दुई देशमा समाजवाद स्थापना, विकास र रक्षाका लागि भइरहेका गतिविधि र पछिल्लो विश्वपरिस्थितिबारे अन्तरक्रियात्मक छलफल सम्पन्न भएको छ ।

जनगणतन्त्र कोरियाका महान् नेता किम जोङ इलको नवौँ स्मृति दिवसका सन्दर्भमा नेपालस्थित कोरियाली दूतावासले आयोजना गरेको श्रद्धाञ्जली तथा अन्तरक्रिया कार्यक्रममा कोरियाली राजदूत जो योङ मानले नेपालले पनि समाजवादी समाज निर्माणका लागि इमानदार प्रयत्न गर्नुपर्ने बताए । उनले आफूहरूले नेपालमा शान्ति, विकास र समृद्धि हेर्न चाहेको बताउँदै आमूल परिवर्तन र रुपान्तरणका पक्षपातीहरूका बीचमा एकता र सहमति आवश्यक रहेको धारणा पनि राखे । नेपाल–कोरिया लेखक–पत्रकार मञ्चले दुई देशबीच वैचारिक, सांस्कृतिक, कूटनीतिक सम्बन्ध र भाइचारा कायम राख्न नेपालदेखि कोरियासम्म निर्वाह गरिरहेको भूमिकाको सराहना गर्दै राजदूत जो योङ मानले यो क्रियाशीलता र इमानदारीका लागि मञ्चलाई हार्दिक धन्यवाद पनि दिए ।

कार्यक्रममा मञ्चका अध्यक्ष अशोक सुवेदीले नेपालको राष्ट्रियतामाथि साम्राज्यवादले र आमूल परिवर्तनकारी, क्रान्तिकारी शक्तिहरूमाथि प्रतिक्रियावादी शासकहरू मिलेर प्रतिबन्ध लगाएकाले त्यसको प्रतिरोधका लागि संसारकै क्रान्तिकारी शक्तिहरू एक हुनुपर्ने बताए ।

नेपालमा जनगणतन्त्र कोरियाप्रति संसारका साम्राज्यवादी शक्ति र नेपालका प्रतिगामी शासकहरूले फैलाएको भ्रम हटाएर वैज्ञानिक समाजवादको वास्तविक शक्तिबारे प्रस्ट पार्न मञ्चले गोष्ठी, अन्तरक्रिया, प्रकाशन, प्रसारण, भ्रमणलगायत माध्यमबाट निर्वाह गरेको भूमिका स्मरण गराउँदै अध्यक्ष सुवेदीले कोरिया र नेपालका बीचमा मित्रता अटल र दीर्घकालीन हुनुपर्ने बताए ।

कार्यक्रममा मञ्चका महासचिव अग्निराज पौडेल ‘अराप’, सहकोषाध्यक्ष देवीप्रसाद तिम्सिना, सदस्य ढुण्डीराज अधिकारीलगायतले नेपालमा चलिरहेको आन्दोलन र समाजवादी कोरियाका बीचमा अटल सम्बन्ध कायम रहनुपर्ने धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण कोरियाली राजदूतावासका कन्सुलर किम जेएचले गरेका थिए । कार्यक्रममा नेपाल–कोरिया मैत्री सङ्घका महासचिव फणिन्द्रराज पन्तले पनि मञ्चले निर्वाह गरेको भूमिकाका बारेमा सराहना गरेका थिए ।

कोरियाली नेता किम जोङ इलको श्रद्धाञ्जली कार्यक्रममा नेपाल–कोरिया मैत्री सङ्का अध्यक्ष सीपी मैनाली, नेपाल पत्रकार सङ्घका अध्यक्ष मञ्जुरत्न शाक्य, नेपाल सङ्गुन सपोर्ङिङ समूहका माणिक लामा, नेपाल–कोरिया लिटरेरी सोसाइटीका अध्यक्ष शङ्कर भारती, सुवास श्रेष्ठलगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :