डोटी दुर्घटनामा ज्यान गुमाउनेप्रति नेकपाले दियो श्रद्धाञ्जली

डोटी दुर्घटनामा ज्यान गुमाउनेप्रति नेकपाले दियो श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डोटीले प्रेस विज्ञप्ति जारी गरी मङ्सिर २० गते डोटी जिल्लाको दिपायलबाट बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र खत्याडीका लागि छुटेको शैलेश्वरी यातायात प्रालिको म ०१ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका ०७ बउखेल्ले भन्ने ठाउँमा दुर्घटना हुँदा ज्यान गुमाएका चारजनाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

इन्चार्ज तर्कराज र सेक्रेटरी कालु पाण्डेले जारी गरेको विज्ञप्तिमा दुर्घटनाको खबरले पार्टी स्तब्ध भएको र दुर्घटनामा परी ज्यान गुमाउने चारजनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गरेका छन् ।

त्यसैगरी उनीहरूले दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । तर्कराज र कालु पाण्डेले मृतकका परिवारलाई उचित क्षतिपूर्तिसहित घाइतेहरूको निःशुल्क उपचारका लागि सम्बन्धित पक्षसँग जोडदार माग पनि गरेका छन् ।

विज्ञप्तिमा यस्ता दुर्घटनाहरू गुणस्तरीहन सडक र राज्यको प्रभावकारी अनुगमन नहुँदा दिनप्रतिदिन बढिरहेको तर राज्य मूकदर्शक बनेको भन्दै यसप्रकारका दुर्घटनाहरूको रोकथामका लागि आवश्यक पहलकदमी लिन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :