विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५ लाख ११ हजार नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५ लाख ११ हजार नाघ्यो

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमणले जाडो बढेसँगै महामारीको रूप लिइरहेकै समयमा विश्वभर यसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५ लाख नाघेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दैनिक बढिरहेको छ । शुक्रबार बिहानसम्म विश्वभर १५ लाख ११ हजार ६७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सले जनाएअनुसार पछिल्लो २४ घन्टामा १२ हजार ६४३ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका सङ्क्रमितको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार १२ हजार ३९८ सङ्क्रमितको मृत्यु भएको थियो । युरोपमा मात्रै पछिल्लो २४ घन्टामा ५ हजार ४८९ जनाको मृत्यु भएको छ । युरोपेली मुलुक बेलायतमा कोरोनाले सबैभन्दा धेरै ६० हजार ११३ जनाको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा ४१४ सङ्क्रमितको मृत्यु भएको छ ।

युरोपेली मुलुकमध्ये बेलायतपछि इटालीमा सबैभन्दा बढी ५८ हजार ३८ जनाको मृत्यु भएको छ । फ्रान्समा ५४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख १९ हजार ७५१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकी मुलुकहरूमध्ये सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ८२ हजार ७४८ जनाको मृत्यु भएको छ । सङ्क्रमणले मृत्यु हुनेको यो सङ्ख्या विश्वमै सबैभन्दा धेरै हो । मेक्सिकोमा १ लाख ७ हजार ५६५ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकमा २ लाख ९६ हजार ७६४ जनाको मृत्यु भएको छ । एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३९ हजार १०२ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख २९ हजार २४३ सङ्क्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७५ हजार ३०७ जनाको मृत्यु भइसकेको छ ।

अफ्रिकी महादेशमा सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ५२ हजार ९३१ पुगेको छ । यस महादेशमा दक्षिणअफ्रिका सङ्क्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ २१ हजार ८०३ सङ्क्रमितको मृत्यु भइसकेको छ । यस्तै ओसियानामा १ हजार २० सङ्क्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका २१८ मुलुकमा फैलिएको सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा ६ लाख ६६ हजार ६३० जना सङ्क्रमित भएको समाचारहरूमा जनाइएको छ । विश्वभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ८६ लाख ४१ हजार २६० पुगेको छ । यसमध्ये १ लाख ६ हजार ५७५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । यो समाचार तयार पार्दासम्म कुल सङ्क्रमितको सङ्ख्या ६ करोड ५५ लाख ३ हजार ६४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :