सावधान ! जाडो बढेसँगै प्रकोप र महामारीका रूपमा व्यापक हुँदैछ कोरोना, एकै दिन १२ हजारको मृत्यु

सावधान ! जाडो बढेसँगै प्रकोप र महामारीका रूपमा व्यापक हुँदैछ कोरोना, एकै दिन १२ हजारको मृत्यु

काठमाडौँ : विश्वभर नै कोरोना भाइरस सङ्क्रमण भयावह र महामारीका रूपमा वृद्धि हुँदैछ । असावधानी र लापरबाहीका कारण मृत्यु हुनेको सङ्ख्या बढिरहेको पाइएको छ । कोरोना खोप प्रयोगमा आउन ढिला भइरहेको अवस्थामा यो महामारीबाट मृत्यु हुनेको सङ्ख्या अझ तीव्र गतिमा बढ्ने देखिएको छ ।

पछिल्लो २४ घन्टामा नयाँ रेकर्ड बनाउँदै कोरोनाका १२ हजार सङ्क्रमितको मृत्यु भएको सार्वजनिक भएको छ । एकै दिन मृत्यु भएका सङ्क्रमितको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । दोस्रो लहरको सङ्क्रमण तीव्र हुँदा मृतकको सङ्ख्यामा दैनिकजसो नयाँ रेकर्ड कायम हुन थालेको हो ।

यसअघि बुधबार अर्थात् मङ्सिर १० गते ११ हजार ७३३ सङ्क्रमितको मृत्यु भएको थियो । चीनको वुहानबाट सुरु भएको मानिएको कोरोना भाइरस सङ्क्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको तथ्याङ्क सार्वजनिक भएको छ । यतिबेलासम्म विश्वभर १४ लाख २५ हजार ८४६ जनाको मृत्यु भइसकेको छ ।

दोस्रो लहरको सङ्क्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घन्टामा ५ हजार ४६९ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा ६९६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । योसँगै त्यहाँ मृतकको सङ्ख्या ५६ हजार ५३३ पुगेको छ । जाडो मौसमसँग सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको सङ्ख्या बढ्दै गएको हो ।

बेलायतपछि इटाली युरोपमा सबैभन्दा बढी मानिस मृत्यु हुने देश हो । इटालीमा अहिलेसम्म ५२ हजार २८ जनाको मृत्यु भइसकेको छ । यस्तै फ्रान्समा पनि ५० हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै सङ्क्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ । सङ्क्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरू जारी गरेको बताइएको छ ।

सङ्क्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख ९९ हजार १०१ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घन्टामा ३ हजार १४९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै अमेरिकामा २ लाख ६८ हजार १२२ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमणले मृत्यु हुनेको यो सङ्ख्या विश्वमै पनि सबैभन्दा धेरै हो । यस्तै मेक्सिकोमा १ लाख २ हजार ७३९ जनाको मृत्यु भएको छ । धेरै सङ्क्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा २ लाख ८३ हजार ३१३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा १ हजार ७६८ जनाको मृत्यु भएको छ । एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३५ हजार २६१ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख २० हजार ४२८ सङ्क्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७० हजार ७९९ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा पनि सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा अफ्रिकी महादेशमा ३१८ जनाको मृत्यु भएको छ । अफ्रिकी महादेशमा दक्षिण अफ्रिका सङ्क्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ २१ हजार २०१ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ओसियानामा १ हजार ११ जना सङ्क्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ७३ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ६ लाख ७ हजार ३५१ जनामा सङ्क्रमण भएको छ । योसँगै विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ७३ लाख ३० हजार २९२ पुगेको छ । यसमध्ये १ लाख ३ हजार ५३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

आजसम्म कुल सङ्क्रमितको सङ्ख्या ६ करोड ७ लाख ४ हजार १९५ पुगेको छ । त्यसमध्ये ४ करोड १९ लाख ३७ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :