मङ्सिर ८ संशोधनवादविरुद्ध क्रान्तिको नयाँ मोर्चा खुलेको दिन हो : सुदर्शन

नख्खु कारागारभित्र पार्टी पुनर्गठन दिवसमा भव्य कार्यक्रम

मङ्सिर ८ संशोधनवादविरुद्ध क्रान्तिको नयाँ मोर्चा खुलेको दिन हो : सुदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले मङ्सिर ८ नेपाली क्रान्तिकारी आन्दोलनको इतिहासमा क्रान्तिकारीहरूले संशोधनवादका विरुद्ध विद्रोह गरेको र जनताले आफ्नो सेना बनाई क्रान्तिको नयाँ मोर्चा खोलेको ऐतिहासिक दिन भएको बताएका छन् ।

जनमुक्ति सेना दिवस तथा सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ गते नख्खु कारागार परिसरमा आयोजना गरिएको कार्यक्रममा नेकपा नेता सुदर्शनले यस्तो बताएका हुन् ।

२०५२ सालदेखि नेपालमा चलेको जनयुद्धको मूल नेतृत्व अहिले नवप्रतिक्रियावादमा पतन भैसकेको भन्दै नेता सुदर्शनले मङ्सिर ८ संशोधनवादविरुद्ध विद्रोह गरेर क्रान्तिका लागि नयाँ पहल गरेको दिन भएकाले यो दिनले क्रान्तिकारीहरूलाई नयाँ ऊर्जा दिइरहने पनि बताएका छन् ।

नेकपा पुनर्गठन र नयाँ क्रान्तिका लागि गरिएको पहल नै अबको एक मात्र विकल्प भएको भन्दै उनले संशोधनवादीहरूले माक्र्सवाद पुरानो भयो भन्ने आरोप लाउने गरेको धारणा पनि राखे ।

माक्र्सवाद पुरानो भयो भन्नेहरूले माक्र्सवाद कहाँ, कसरी र किन पुरानो भयो भन्ने कुनै प्रमाण, तथ्यबिना नै आरोप र आक्षेप लगाउने गरेको धारणा राख्दै नेकपा नेता सुदर्शनले माक्र्सवाद पुरानो भएको नभएर संशोधनवादीहरूको विश्वदृष्टिकोण समाप्त भएको प्रस्ट पारे । उनले भने, ‘६ सय वर्ष पुरानो पुँजीवादी व्यवस्थामै फर्केका पश्चगमनकारीहरूले नै माक्र्सवाद पुरानो भएको बताइरहेका छन् तर माक्र्सवाद पुरानो होइन, पुँजीवाद पुरानो हो ।’

नख्खु कारागार परिसरमा भएको पार्टी पुनर्गठन दिवस उत्सव कार्यक्रमको अध्यक्षता सूर्य तिमिल्सिनाले गरेका थिए भने उमेश खत्रीले सञ्चालन र रामकृष्णले स्वागत भाषण गरेका थिए । उक्त अवसरमा कारागार परिसरमा चियापान कार्यक्रम पनि आयोजना गरिएको थियो ।

बाजुरा, कैलाली, बाँकेलगायत कारागारहरूमा पनि आस्थाका बन्दीहरूले पनि नेकपाको सातौँ पुनर्गठन दिवस भव्यतापूर्वक मनाएका समाचारहरू प्राप्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :