क्रान्तिकारी रक्तसञ्चार

क्रान्तिकारी रक्तसञ्चार

नेपाल कम्युनिस्ट पार्टीले मङ्सिरको पहिलो साताभर र विशेषतः मङ्सिर ६, ७ र ८ गते देशभर सातौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा भव्यतापूर्वक मनाउँदा नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका लागि जारी आन्दोलनमा क्रान्तिकारी रक्तसञ्चार भएको अनुभूति भएको छ । कम्युनिस्ट नाउँको एउटा दलाल, गद्दार र संशोधनवादी धार साम्राज्यवाद र दलाल पुँजीवादको चाकरका रूपमा उभिएर जनसेवा गरिरहेका क्रान्तिकारीहरूमाथि प्रतिबन्ध लगाउँदै, दमन गर्दै, घरघर र कोठाकोठामा पसेर लूटपाट र आतङ्क मच्चाएर गिरफ्तार गरी हिरासत र जेल भरिरहेको अवस्थामा अर्कातिर सच्चा क्रान्तिकारीहरूले भने प्रतिक्रान्तिकारी शक्ति, क्रान्तिका गद्दार र दलालहरूसँग विद्रोह गरी कम्युनिस्ट पार्टी पुनर्गठन गरेर दलाल पुँजीवादको चिहानमा वैज्ञानिक समाजवाद– साम्यवाद स्थापना गरी सर्वहारा/श्रमिक वर्गको क्रान्तिको झन्डा, मुक्तिको झन्डा फर्फराउने उद्घोष, वाचा र प्रतिबद्धतासहित यो दिनलाई क्रान्तिकारी उमङ्ग, उत्साह, जोस, जाँगर र उत्प्रेरणाले भरिपूर्ण बनेर उल्लास मनाएका छन् । नेपाली श्रमिक जनता पनि यो उत्सवमा उल्लासमय ढङ्गले लामबद्ध भएर क्रान्तिकारी आन्दोलनलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल र नेपालीको भविष्यका लागि यो सुखद र खुसीको दिन हो ।

मङ्सिर ८ दलाली, गद्दारी, आत्मसमर्पण, संशोधनवाद, अवसरवाद र फासिवादविरुद्ध ऐतिहासिक विद्रोहको दिन हो । यो क्रान्तिको पूर्ण विजयको दिन नभए पनि क्रान्तिकारीहरूले हरकेखाले अकर्मण्यता र पलायनवादीहरूबाट विद्रोह गरी क्रान्तिको शङ्खघोष गरेको दिन हो । यो दिन जनक्रान्तिका एघारजना महान् सहिदहरूका साथै जनयुद्धका दस हजार सहिद, हजारौँ बेपत्ता योद्धा, घाइते–अपाङ्ग योद्धाहरूदेखि लिएर नेपालको इतिहासमा भएका सम्पूर्ण विद्रोह, आन्दोलन, युद्ध र क्रान्तिका अधुरा सपनाहरू पूरा गर्ने अठोट सार्वजनिक गरिएको उत्सवको दिन हो । त्यसैले क्रान्तिकारीहरूले क्रान्तिको मैदानमै यो दिवसलाई उल्लासमय ढङ्गले मनाएका छन् । नेकपाका महासचिव विप्लवले क्रान्तिको मैदानबाटै क्रान्तिकारीहरू, देशभक्त शक्तिहरूलाई शुभकामना दिएका छन् भने क्रान्तिकारीहरूबीच व्यापक रूपमा यो उत्सवको शुभकामना आदानप्रदान भएको छ । जनता खुसी हुँदा शासक वर्ग झन् असन्तुष्ट र कठोर देखिएको छ । क्रान्तिकारीहरूको अठोट, प्रतिबद्धता र उल्लासले प्रतिक्रियावादीहरूको मुटुको ढ्याङ्ग्रो बजेको छ । यो स्वाभाविकै हो ।

जनताले क्रान्तिकारीहरूमाझ उत्सव मनाइरहँदा शासकहरू अत्तालिएका छन् । त्यसैले उनीहरूले जनक्रान्तिमा लामबद्ध नेकपाका भरपर्दा युवा नेता पूर्णबहादुर सिंहदेखि लिएर कयौँ क्रान्तिकारीहरूलाई यही उत्सवकै बीचमा कायरतापूर्वक गिरफ्तार गरी हिरासतमा राखेर खुसी मनाए पनि त्यो उनीहरूको क्षणिक खुसी हो । क्रान्तिकारीहरूले जेल र हिरासतभित्रै पनि सातौँ पार्टी पुनर्गठन दिवसमा हर्ष र शुभकामना साटासाट गरेका छन् र दुस्मनको कालकोठरीभित्रबाटै क्रान्ति सम्पन्न भएर देश र जनता मुक्त हुने सङ्कल्प गरेका छन् । त्यसैले यो दिनमा क्रान्तिकारीहरूको जीवनमा क्रान्तिकारी रक्तसञ्चार भएको छ भने प्रतिक्रियावादी शासकहरूको शरीरमा चिसो र भयभीत रक्तप्रवाह भएको बुझ्न सकिन्छ । अन्यथा उनीहरूले निहत्था रूपमा उत्सव मनाइरहेका जनबस्तीहरूलाई सशस्त्र सुरक्षाकर्मीहरूले घेरेर छापामार्ने, खानतलासी गर्ने थिएनन्, सर्वसाधारण जनता र क्रान्तिकारीहरूका परिवारका सदस्यहरूलाई समेत आतङ्कित पार्ने थिएनन् । ऐँजेरु दलाल पुँजीवाद कति कायर, भयग्रस्त र मृत्युउन्मुख जीवन बाँचिरहेको छ भन्ने प्रमाण उनीहरूले जनताको उत्सवमा देखाएको ताण्डवले पनि प्रमाणित गरिदिएको छ ।

नेकपाका महासचिव विप्लवले पार्टी पुनर्गठन दिवसका अवसरमा रातो खबरलाई दिएको विशेष अन्तर्वार्तामा सम्पूर्ण क्रान्तिकारी र देशभक्तहरूलाई पार्टी पुनर्गठन दिवसको शुभकामना प्रदान गर्दै जनताको मागअनुसार देश र जनताको मुक्तिका लागि जस्तोसुकै आन्दोलन अघि बढाउन पनि आफ्नो पार्टी तयार र सक्षम रहेको बताएर क्रान्तिकारीहरूमाझ अझ शक्तिशाली क्रान्तिकारी रक्तसञ्चार गरेका छन् । उनले आजसम्म भएका सङ्घर्षहरू जनताको मागअनुसार नै भइरहेको पनि बताएका छन् । उनले यसका लागि जनमुक्ति सेना र पार्टीसँग रहेका सबै खाले क्रान्तिका औजारहरू आवश्यकताअनुसार प्रयोग हुने र त्यसले धराशयी बन्दै गएको पुँजीवाद, साम्राज्यवाद र उत्तरसाम्राज्यवादको अन्त्य भई स्वतन्त्र र मुक्त वैज्ञानिक समाजवाद– साम्यवाद स्थापना भइछाड्ने उद्घोष पनि गरेका छन् ।

मङ्सिर ८ नेपालको राजनीतिमा विशिष्ट र उत्कर्षको दिन हो । यो एउटा राजनीतिक सन्दर्भ पटाक्षेप गर्दै अर्को उचाइको राजनीतिक आन्दोलन घोषणा गरिएको उत्कर्षको दिन भएकाले नेपाली क्रान्तिकारीहरूका लागि उत्सवको दिन बनेको हो । संसद्वादी पार्टीहरूले लादेको प्रतिगमन र पश्चगमनलाई निषेध गरेर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिँदै नयाँ क्रमभङ्ग र नयाँ क्रान्ति– एकीकृत जनक्रान्ति आरम्भ गरेको दिन भएकाले यो दिनसँगै नेपाली श्रमिक जनताले एउटा नयाँ दिनको आरम्भ भएको महसुस गरेका छन् । श्रमिक वर्गका लागि यो एउटा नयाँ पर्व बनेको छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :