जनमुक्ति सेनाको सलामीबीच केन्द्रीय कार्यालयमा पुनर्गठन दिवस

जनमुक्ति सेनाको सलामीबीच केन्द्रीय कार्यालयमा पुनर्गठन दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा भव्य समारोहका बीच पार्टी पुनर्गठन दिवस मनाइएको जानकारी रातो खबरलाई प्राप्त भएको छ ।

महासचिव विप्लवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहको सञ्चालन विजय र स्वागत प्रकाश थापाले गरेका थिए भने अतिथिहरू हरि, प्रविनलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिलगायत अतिथि र आगन्तुकहरूलाई जनमुक्ति सेनाको एक टुकडीले मार्चपास्टसहित सलामी अर्पण गरेको थियो ।

प्रमुख अतिथि विप्लवले शुभकामना व्यक्त गर्दै मङ्सिर ८ सम्पूर्ण इमानदार क्रान्तिकारीहरूको ऐतिहासिक र सदैव स्मरणीय दिन रहेको उल्लेख गरे । महासचिव विप्लवले सहिदको सम्मान गर्दै क्रान्तिकै बाटोबाट सहिदको सपना पूरा हुने बताए । पार्टी पुनर्गठन गरेकै कारण सिङ्गो कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी विचारको रक्षा र एकीकृत जनक्रान्तिको विकास भएकाले उत्पीडित जनसमुदायमा आशा र विश्वास सञ्चार भएको र क्रान्तिको झन्डा उचो रहेको उनले उल्लेख गरे ।

अहिले दलाल पुँजीवादी सत्ता कि वैज्ञानिक समाजवादी सत्ता भन्नेमा बहस हुँदै गएको र पुँजीवादी व्यवस्था तन्त्रहरूको व्यवस्था भएकाले अन्ततः वैज्ञानिक समाजवाद विजयी हुने उनले ठोकुवा गरे । सरकारी नेकपाको अन्तरकलहलाई लुटिखानेहरूका बीचको प्रतिस्पर्धाको संज्ञा दिँदै महासचिव विप्लवले जनताले सक्कली कि नक्कली कम्युनिस्ट पहिचान गरिसकेको बताए । उनले हाम्रोजस्तो अनुशासित जनमुक्ति सेना भएको पार्टीले मात्र क्रान्ति जित्न सक्ने भन्दै आउँदो पार्टी पुनर्गठन दिवस हजारौँ जनमुक्ति सेनाका टुकडीसहित मनाउने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :