विश्वभर ४ करोडभन्दा बढी कोरोना सङ्क्रमित निको भए

विश्वभर ४ करोडभन्दा बढी कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ५२ हजार ६०५ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या ४ करोड ८० हजार पुगेको हो । यो कुल सङ्क्रमितको ६९ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख ४६ हजारभन्दा बढीमा सङ्क्रमण भएसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ५ करोड ७८ लाख ८१ हजार ८१८ पुगेको छ ।

त्यसैगरी दैनिक लगातार ११ हजार हाराहारीको मृत्यु भइरहेको बेला पछिल्लो २४ घन्टामा १० हजार ९५१ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या १३ लाख ७६ हजार ६७३ पुगेको छ ।

दोस्रो लहरको सङ्क्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घन्टामा ५ हजार २१८ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घन्टामा ५११ सङ्क्रमितको मृत्यु भएसँगै त्यहाँ मृतकको कुल सङ्ख्या ५४ हजार २८६ पुगेको छ । बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म ४८ हजार ५६९ जनाको मृत्यु भएको छ । यस्तै धेरै सङ्क्रमित मृत्यु हुने युरोपेली मुलुकमध्ये फ्रान्स तेस्रो स्थानमा छ । फ्रान्समा ४८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

सङ्ंक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कफ्र्यू नै जारी गरेका छन् ।

विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ६४ लाख २४ हजार ६८० पुगेको छ । त्यस्तै उपचार गराइरहेकामध्ये १ लाख २ हजार १८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :