वली शासनको ‘खुफिया कनेक्सन’

वली शासनको ‘खुफिया कनेक्सन’

‘इतिहासले केही पनि सिकाउँदैन तर यसबाट पाठ नसिक्नेलाई खालि सजाय मात्र दिन्छ । ’

– भासिली क्लि उचेस्की (रुसी इतिहासकार एवम् सांस्कृतिकर्मी)

एक वर्षअघिको प्रसङ्ग हो, एकजना काठमाडौँ निवासी वरिष्ठ पत्रकारको निवासमा पुगेको थिएँ । उनको निवासमा ३ दिन बस्दा एक दिन सुसाङ्ख्य गरिएको केही पानाको छाया प्रति दिएर उनी कार्यालय गए । त्यो छाया प्रति तिनै सञ्चारकर्मीको अप्रकाशित संस्मरण थियो । त्यसका दुईवटा प्रसङ्ग सम्झिरहेको छु ः एउटा हो, दक्षिणएसियाका सञ्चारकर्मीहरूको प्रतिनिधिमण्डल विभिन्न देश भ्रमण गर्दै कास्मिर पुग्यो । उक्त टोलीमा एकजना महिला सदस्य पनि थिइन् । तिनी जहाँ पुग्यो तत्काल त्यहाँका शक्तिशाली कर्मचारीसँग सम्बन्ध बनाएर काम पट्याइहाल्थिन् । कास्मिर पुगेकै दिन उनले त्यसै गरिन् । अर्को दिन कास्मिरका एकजना शक्तिशाली व्यक्ति भ्रमण टोलीसँगै गए । सहरको एटीएममा महिला पसिन्, ती पुरुष पनि पसे । उनीहरूले अस्वाभाविक समय लिएपछि एटीएमबाहिर भीड भयो । ती महिला छरिएको कपाल मिलाउँदै निस्किन् । पुरुषको पनि उस्तै अवस्था थियो । अर्को थियो, तत्कालीन एमाले पार्टीमा वली–भण्डारी सम्बन्धको चर्चा । केही नेताहरूले वलीलाई कारबाहीको माग पनि गरे । तर माधव नेपालले ‘विषयलाई पाक्न दिनुपर्छ, पर्खिनुस्’ भनेका थिए तर त्यो कहिल्यै पाकेन, बरु पार्टी नै वलीले समाप्त गरेको विषय थियो । मदन भण्डारीको हत्या, महाकाली सन्धि र केपी वलीको अस्वाभाविक उदय एकसाथ भएको छ । माथि उल्लेख गरिएको प्रसङ्ग पनि जोडिएर आउने गरेको छ र त्यसो हुनु अस्वाभाविक छैन ।

महाकाली सन्धिका विरुद्ध उभिएकै कारण मदनकुमार भण्डारी र उनका सहकर्मी जीवराज आश्रितको हत्यामा गुप्तचर संस्था ‘रअ’ को हात रहेकोमा धेरै विवाद छैन । मदन भण्डारीको हत्या गरेर अरू देशभक्तहरूलाई गिरफ्तार गरेर, भद्रकालीमा निषेधाज्ञा र लाठीचार्ज गरेर मध्यराती १२ बजे देशद्रोही महाकाली सन्धि पारित गरिएको थियो । ‘रअ’ को योजनामा भएको हत्या र महाकाली सन्धि पारित गराउन सदनभित्र काङ्ग्रेसका शेरबहादुर देउवा र एमालेका केपी वलीको मुख्य भूमिका थियो । भण्डारीको चर्को वकालत गर्दै, विद्या भण्डारीको थप नजिक हुँदै र भण्डारीको आदर्श कुल्चँदै वली भर्याङको खुट्किला चढ्दै गए । झलनाथ, माधव सबै माथवरसिंह थापाझैँ भर्याङमै गुल्ट्याइए । वली र देउवाका लागि ‘रअ’ ले बाटो सफा गर्दै गयो । महाकाली सन्धि र भण्डारीको हत्यादेखिको वली–देउवा ‘रअ कनेक्सन’ आज पनि जारी रहिरहेकै छ । सिंहदरबारबाट बालुवाटार निर्बाध चहार्दै गरेको छ ।

मदन भण्डारीसहित देशभक्तहरूले महाकाली नदीको मुहान र पानी बाँडफाँटको विवाद टुङ्गो लगाएर मात्र महाकाली सन्धि गर्नुपर्ने अडान राखेका थिए । भारत त्यसो गर्न चाहँदैनथ्यो । वली र देउवाकै कारण नेपालले कालापानी, लिम्पियाधुरा, लिपुलेकको विवाद टुङ्गो नलगाई महाकाली सन्धि ग¥यो । ‘रअ’ को मतियार बनेर देउवा र वलीले मोर्चा समाले ।

२०७२ सालमा भारतले नाकाबन्दी लगायो । त्यस बेलासम्म देउवामार्फत वलीको ‘सीआईए कनेक्सन’ पनि बलियो भइसकेको देखिन्छ । गणतन्त्र र सङ्घीयताविरोधी वली अडानको पछाडि सीआईएको राजा र संसदीय पार्टीहरूबीच एकता हुनुपर्ने र माओवादीलाई एक्ल्याउनुपर्ने रणनीतिकै प्रभाव हो । वलीमा गणतन्त्र र सङ्घीयताविरोधी चिन्तनको पृष्ठभागमा ‘सीआईए कनेक्सन’ ले काम गरिरहेको देखिन्छ ।

भारतमा केजीबी र रअको सम्बन्ध कमजोर हुँदै गएको छ र सीआईए रअ नजिकिँदै गएका छन् । त्यसको प्रभाव नेपालमा पनि परेको छ । भारतद्वारा २०७२ सालमा नाकाबन्दी लगाउँदा ‘रअ’ कै निर्देशन र ‘ग्रिन सिग्नल’ अनुसार वलीलाई सत्तारूढ गराउन र ठूलो फाइदा लिन कथित राष्ट्रवादी नारा उराल्न लगाएको ठानिन्छ । ‘रअ’ ले आफ्नै दलाललाई मात्र स्थापित गराउने अनेक ‘प्रोक्सी वार’ गराइरहन्छ । नक्सा प्रकरण त्यही ‘प्रोक्सी वार’ थियो किनकि महाकाली सन्धिकै कारण नक्सा प्रकरणमा नेपाल कमजोर भएको हो ।

भारत र अमेरिकाका गुप्तचर संस्थाहरूबीचको सहकार्य एमसीसी परियोजनामा राम्ररी प्रकट भएको छ । एमसीसीकाण्डमा भारत र अमेरिका दुवै चीनविरोधी मोर्चामा एकै स्थानमा उभिन पुगेका छन् । नेपालभित्र वली–देउवा गुट एउटै पार्टी जसरी एमसीसीको विषयमा एकै स्थानमा उभिन पुगेका छन् । नेपालभित्र वली–देउवा गुट एउटै पार्टीजसरी एमसीसीका विषयमा एकै स्थानमा उभिनुले राष्ट्रिय स्वाधीनताको खतराको मापन गर्न सकिन्छ । भारत र अमेरिकी गुप्तचर संस्थाको बलियो समर्थन भएकै कारण वली पार्टीभित्र जस्तोसुकै तोडफोड, विभाजन र कदम चाल्न तयार भएको ठानिन्छ । एमसीसी, युवराज खतिवडा मोह, देउवा गठबन्धन र उत्तरकोरियाविरुद्ध अस्वाभाविक पूर्वाग्रहले उनी जनमतका आधारमा नभएर गुप्तचरको आशीर्वादमा चलिरहेका छन् भन्ने सहजै बुझ्न सकिन्छ ।

गुप्तचर संस्था ‘रअ’ ले पाकिस्तान टुक्रा पार्यो । भारतभन्दा पनि पुरानो र अङ्ग्रेजकालमा पनि स्वतन्त्र रहेको स्वतन्त्र देश सिक्किम खायो । उसको अबको ‘मिसन’ नेपाल हो । तत्कालीन भारतीय गृहमन्त्री सरदार बल्लभभाइ पटेल र ‘रअ’ गठन भएपछि इन्दिरा गान्धीले नेपाल खान खोजे पनि सकेनन् । नेपाललाई घेर्दै, कमजोर बनाउँदै उपयुक्त समय र दलालको खोजी र प्रतीक्षा ‘रअ’ को नेपाल रणनीति देखिन्छ । त्यस्तो नेपालविरोधी संस्थाप्रति घृणा जगाउनु, जनतालाई सतर्क–सचेत बनाउनुपर्नेमा बालुवाटारमा स्वागत गरेर वलीले भयानक देशद्रोह गरेका छन् । सिक्किमकाण्डमा ‘रअ’ ले बहुमत सांसद पुर्याउने, सदनलाई घेरामा पार्ने, राजदरबारको फोनसमेत काट्ने र सिक्किमे राजपरिवारलाई विदेश शरण लिनसमेत रोकेको थियो । दलाल र फौज दुवैलाई एकसाथ परिचालन गरिरहेको थियो आज नेपालका सन्दर्भमा पनि ‘रअ’ ले त्यही गरिरहेको छ । वली त्यसको मतियार भएका छन् ।

प्रचण्डसँग विद्रोह गरेर अर्थात् संशोधनवाद र राष्ट्रिय आत्मसमर्पणवादविरुद्ध हामीले क्रान्तिकारी र देशभक्त धारा निर्माण गर्दा नै ‘सामाजिक दलाल फासिवादले निजी स्वार्थ र कुर्सी रक्षाका लागि भयानक जनघात र राष्ट्रघात गर्नेछ’ भनेका थियौँ । आज पनि त्यो प्रक्षेपण शानदार रूपले पुष्टि भएको छ । वलीले देशभित्र र पार्टीभित्र ‘सीआईए–रअ’ गठबन्धन बनाउन खोजिरहेका छन् । वस्तुगत रूपले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि अनुकूल बन्दै गएको छ । तर अमेरिकी विश्व–व्यवस्थामा आएको स्खलनले त्यसको विरोधी धारा निकै सबल बन्दै गएको छ । दसैँको मध्यमा जनता चाडबाड र कोभिड १९ को माहोलमा अल्झिएको बेला नेपालविरोधी गुप्तचर झुण्डलाई बालुवाटारमा स्वागत गरेर उनले सम्पूर्ण देशभक्त जनता र इतिहासलाई लज्जित बनाएका छन् । वलीको ‘खुफिया कनेक्सन’ लेन्डुपपथकै नयाँ संस्करण हो । रुसी इतिहासकार तथा सांस्कृतिक चिन्तक भासिली क्लिउचेस्कीले भनेझैँ हामीले वली शासनका विरुद्ध सङ्घर्ष गर्न सकेनौँ भने इतिहासले हामी सबैलाई दण्डित गर्नेछ । वली समूहले गोयलको भ्रमण र भेट लुकाउने र छरपस्ट भएपछि बाध्य भएर स्वीकार गरिएको सन्दर्भ अझ गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :