नेकपा काठमाडौँद्वारा लक्ष्मी राईप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा काठमाडौँद्वारा लक्ष्मी राईप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काठमाडौँले अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सदस्य तथा काठमाडाैँ जिल्ला पूर्वसदस्य समेत रहेकी लक्ष्मी राईको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । जिल्ला सेक्रेटरी पवनले बिहीबार शोक वक्तव्य जारी गर्दै विगत केही समयदेखि क्यान्सर रोगबाट ग्रस्त भई भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा भएको दुःखत निधनले सिंगो पार्टीपंतिलाई स्तब्ध बनाएको भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरी शोकसन्तप्त परिवार एवम् आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

जिल्ला सेक्रेटरी पवनले शोक वक्तव्यमा भनेका छन्, ‘हाम्रो गौरवशाली एवं जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्लाकी पूर्वसदस्य एवम् अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य कमरेड लक्ष्मी राईको २०७७ कात्तिक २६ गते बुधबार उपचारको क्रममा भक्तपुर क्यान्सर अस्पतालमा भएको दुःखद् निधनले पार्टीलाई स्तब्ध बनाएको छ । उहाँको निधनले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद पुग्ने महाअभियान र मुक्तिकामी महिला आन्दोलनमा क्षति पुगेको छ । हाम्रो पार्टी कमरेड लक्ष्मी राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार एवम् आफन्तजनप्रति गहिरो समवेदन व्यक्त गर्दछ ।’

सेक्रेटरी पवनले शोक वक्तव्यको अन्त्यमा भनेका छन्, ‘संखुवासभा स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वरमा बस्दै आउनु भएकी कमरेड लक्ष्मी विगत केही समयदेखि क्यान्सर रोगबाट ग्रस्त भई उपचाररत हुनुहुन्थ्यो । कमरेड लक्ष्मीले एकीकृत जनक्रान्तिमा पुर्याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँले देख्नुभएको वैज्ञानिक समाजवाद स्थापना गर्ने अधुरो सपना पूरा गर्न पार्टी दृढतापूर्वक लागिरहने प्रतिबद्धता जाहेर गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :