अमेरिकी चुनावबारे सङ्क्षिप्त टिप्पणी

अमेरिकी चुनावबारे सङ्क्षिप्त टिप्पणी

विश्व पुँजीवादको नाइके अमेरिकाको राष्ट्रपतीय चुनाव र त्यसको परिणामबारे विश्वस्तरमै चर्चा, परिचर्चा, चासो र सरोकार हुनु स्वाभाविकै हो । प्रणाली हैन, पात्रबारे पक्ष–विपक्ष हुनु पनि स्वाभाविकै हो । पुँजीवादी विचार अङ्गीकार गरेका शक्ति, व्यक्ति र शासन व्यवस्थाहरू अमेरिकी राजनीतिबाट प्रभावित हुनु पनि स्वाभाविकै हो तर विश्वका कम्युनिस्ट क्रान्तिकारीहरू, उत्पीडित राष्ट्र र राष्ट्रियताहरू र श्रमजीवी जनताका लागि भने अमेरिकी चुनाव र त्यसको परिणाम कागलाई बेल पाक्यो हर्ष न विस्मात् जस्तो भएको छ । यस विषयमा निम्नबमोजिमका तथ्यसहित सङ्क्षिप्त टिप्पणी गर्नु सान्दर्भिक होला :

लेखक : ओमप्रकाश पुन

पुँजीवाद र प्रजातन्त्र– परिणाममा

१. अमेरिकामा प्रजातन्त्र हैन, पुँजीवाद छ र त्यही पुँजीवादी अधिनायकत्व र अधिनायकबीचको प्रतिस्पर्धा हो डोनाल्ड ट्रम्प र जो बाइडेनबीचको । ट्रम्पको पराजय र बाइडेनको विजय विचार वा शासनप्रणालीको हैन, कार्यशैली र कार्यप्रणालीबीचको हो ।

२. अमेरिकाको राष्ट्रपतीय चुनावले उनीहरूको प्रजातन्त्र भनेको साम्राज्यवादी पुँजीवादीहरूका लागि हात्तीको देखाउने दाँत मात्रै हो र त्यो भनेको पुँजीवादी वर्गको अधिनायकत्वबाहेक केही होइन भन्ने कुराको पुष्टि गरेको छ ।

३. पुँजीवादी शासकहरू भनेका जनताको भोटबाट पैदा भएका तानाशाहहरू हुन् र उनीहरू जनताको एजेन्डामा भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित भएर प्रतिस्पर्धा गर्छन् भन्ने देखाएको छ । अर्थात् पुँजीवादी शासकहरू भनेका जनताको शक्ति र आशीर्वादबाट पैदा हुने भष्मासुरहरू हुन् । उल्टै जनतालाई नै खरानी पार्न जोज्छन् भन्ने कुराको उदाहरण यसले दिएको छ ।

४. पुँजीवादी प्रजातन्त्रमा पार्टी र संस्थाभन्दा व्यक्ति शौर्यनायक हुन्छन् र चुनावी प्रतिस्पर्धा पार्टी र विचारको नभई व्यक्तिको प्रभाव र पुँजीका बीच हुन्छ । अमेरिकी चुनाव रिपब्लिकन र डेमोक्र्यटिकका बीच नभई बाइडेन र ट्रम्पका बीच केन्द्रित हुनु त्यसकै परिणाम हो ।

५. पुँजीवादी प्रजातन्त्र भनेको सत्ता पक्ष र प्रतिपक्षका लागि मात्रै हो । आज जनता, उत्पीडित उपेक्षित समुदाय र श्रमिक जनताको हैन भन्ने कुरा यो चुनावले देखायो । त्यहाँ कैयौँ प्रतिस्पर्धी व्यक्ति र शक्ति छन् तर तिनको कतै पनि चर्चा परिचर्चा नहुनु त्यसकै परिणाम हो । अझ कम्युनिस्ट पार्टी खोल्न र चुनाव लड्न त त्यहाँ प्रतिबन्ध जस्तै छ ।

६. पुँजीवादीहरू भनेका अहंकारी, दम्भी र ढोंगी हुन्छन् । उनीहरू विचार र कार्यक्रमद्वारा हैन, आफ्ना प्रतिस्पर्धीलाई व्यक्तिगत आरोप–प्रत्यारोप लगाएर जनतामा आफूलाई श्रेष्ठ साबित गर्न खोज्छन् भन्ने कुराको पुष्टि यो चुनावले गरायो ।

७. पुँजीवादीहरू जनताको अभिमतको कदर गर्दैनन् । आफ्नो हारलाई सहजै स्वीकार गर्दैनन् । जनताको मतले विजयी हुन्छन् तर जितको कारण आफ्नो शक्ति र ईसु/ईश्वरको चाहनालाई मान्दछन् । आफ्नो जितको जस जनतालाई हैन तिनै अदृश्य काल्पनिक शक्तिलाई दिन्छन् र उनकै नाममा शपथ लिन्छन् । पद र प्रतिष्ठाका लागि जस्तोसुकै तिकडम र अपराधकर्म गर्न पनि पछि पर्दैनन् भन्ने कुराको पुनुर्पुष्टि यो चुनावले गरेको छ । ट्रम्पले हारे पनि हार स्वीकार नगर्नु र कुर्सी छोड्न नमान्नु यसकै नमुना हो ।

सारमा भन्नुपर्दा पुँजीवादी प्रजातन्त्र भनेको पुँजीपतिहरूको अधिनायकत्व हो र यसमा जनताको शासनाधिकारमा कुनै स्थान र हैसियत हुँदैन भन्ने कुरा यसले छर्लङ्ग पारेको छ । पुँजीपतिहरूले फलाक्ने स्वतन्त्रता, समानता, भ्रातृत्व, बालिग मताधिकार र मानव अधिकार भन्ने कुरा पुँजीवादीहरूको कथनीमा मात्रै हुन्छ, करनीमा यो कुराको व्यावहारिक अनुभूति अमेरिकामा सम्पन्न यो चुनावले गराएको छ ।

ट्रम्प हारको कारण

१. डोनाल्ड ट्रम्पको हार विचार र प्रणालीको हैन । उनको कार्यशैली र कार्यप्रणालीको हो ।

२. ट्रम्पले अघिल्लो चुनाव जित्दा एउटा आमाले दिएको र अर्को ह्वाइट हाउसमा भएको बाइबलमा एक–एक हात राखी आफूले परमेश्वरको चाहनाले जितेको भनी शपथ खाएका थिए र जनमतको अपमान गरेका थिए । त्यसपछि पनि उनी जनतामा लगातार दम्भ देखाउँदै गए र चुनाव जित्नुमा रुसको हात रहेको भनी आलोचित भए ।

३. उनले हचुवाको भरमा आप्रवासीविरुद्धको कानुन ल्याए र आफूलाई श्वेत नश्लवादी साबित गर्न खोजे ।

४. उनले अमेरिका पहिलो भन्ने नारालाई विश्वमा गोरा जातिको श्रेष्ठता, अमेरिकी पुँजीवादी प्रजातन्त्रको सर्वोच्चता, एक धर्म इसाईको प्रभुत्व र एक भाषा अङ्ग्रेजीको वर्चस्व कायम गर्न खोजे । अरूको पहिचान, स्वाभिमान र अस्तित्वलाई अस्वीकार गर्दै अमेरिकी साम्राज्यवादको नीति अख्तियार गर्न खोजे जसका कारण सर्वत्र आलोच्य भए ।

५. उनले अमेरिकामा पुँजीपति र ठूला उद्योगी–व्यापारीको कर कटौती गरेर आफ्नो व्यापारिक धर्म पूरा गरे । राजनीतिलाई व्यापारीकरण गर्न खोजे र राजनीतिक संस्कार देखाउन सकेनन् । दम्भ र अभिमानमा अघि बढ्न खोजे ।

६. अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग विस्तार गर्न सकेनन् । मतलब अन्तर्राष्ट्रिय कूटनीतिक मामिलामा असफल भए ।

७. ट्रम्प कोरोना महामारी नियन्त्रणमा पनि असफल साबित भए । उनले मानिस बरु कोरोनाले मरून् तर व्यापारघाटा नहोस् भन्ने नीति लिए । जसका कारण कोरोना महामारीको प्रभाव विश्वमै सबभन्दा बढी अमेरिकामा पर्यो । उनी कोरोना रोकथाम तथा नियन्त्रणको सवालमा प्रकृति अर्थात् विज्ञानविरोधी र परम्परावादी देखिए । यो उनको निजी असफलता नभई पुँजीवादको असफलता हो तर पुँजीवादीहरूले यसको असफलतालाई शासनप्रणालीभन्दा पनि व्यक्तिलाई प्रधान मान्ने भएकाले ट्रम्प यसका दोषी देखिए र असफल साबित भए ।

८. विश्व पर्यावरण बजेट र व्यवस्था बजेट पनि कटौती गरे र कोरोनाका बारेमा चाइनिज भाइरस भनेर विवादित अभिव्यक्ति दिए जसको सर्वत्र आलोचना भयो र कोरोनाको मार सबैभन्दा बढी अमेरिकी जनताले खानुपर्यो । त्यति मात्रै नभएर चुनावको मुखमा अश्वेतमाथि दमन गरे । उनीहरूमाथि रङ्गभेद प्रदर्शन गरे र स्वयम् श्वेत नश्लवादको पक्षपोषण गरे । हरेक क्षेमा आफ्नो हठी र दम्भी चरित्र प्रदर्शन गरे जसका कारण ट्रम्पको कार्यक्षमता र लोकप्रियता घट्यो । चुनावी सभासमेत मास्कबिना गरे । स्वयम् पनि कोरोना सङ्क्रमित भए तर पनि आवश्यक सचेतता अपनाएनन् । आडम्बर र घमण्ड उनको विशेषता नै भयो जसले गर्दा उनले नराम्रोसँग चुनाव हारे ।

जो बाइडेन जितको कारण

१. जो बाइडेनको विजय विचार प्रणालीको हैन, कार्यशैली र कार्यप्रणालीको हो । कोरोना कहरले विश्व–पुँजीवाद जसको चरित्र निगम पुँजीवादमा बदलिएको छ, लाई असफल साबित गरिदियो । निगम पुँजीवाद अर्थात् उत्तरसाम्राज्यवादको नाइके अमेरिका भएकाले त्यसको केन्द्रीय प्रभाव र परिणाम पनि अमेरिकामा नै देखा पर्यो । त्यसको नेतृत्वकर्ता ट्रम्प भएकाले उनी त्यसमा असफल साबित भए र उनको असफलताको विकल्पमा जो बाइडेन आए ।

२. जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा अद्भुत क्षमता र नवीन विचारले आएका होइनन् । ट्रम्प र उनको विचार अनि उनीहरू क्रियाशील पार्टीको कार्यदिशामा के नै फरक छ र ? उनको जितको कारण के रह्यो भने जब कोरोनाले विश्व–पुँजीवादलाई असफल सिद्ध गर्यो तब विश्वराजनीतिमा दुईवटा बहस अगाडि आए : पहिलो, पुँजीवाद असफल भयो । त्यसकारण अबको विकल्प समाजवाद हो भन्ने बहस । दोस्रो, छाडा बजार अर्थतन्त्रामा आधारित छाडा पुँजीवाद त असफल भयो तर त्यसको विकल्प समाजवाद नभई रूपान्तरित पुँजीवाद हो भन्ने बहस । अर्थात् पुँजीवादको विकल्प पुँजीवाद नै हो भन्ने विचारको बहस । त्यसका लागि नेतृत्व, राजनीतिक कार्यक्रम र अर्थप्रणालीमा पुँजीवादको सारतत्व निहित हुनेगरी पुँजीवादी प्रणालीलाई रूपान्तरण गर्नुपर्छ भन्ने बहस पुँजीपतिहरूबीच चलेको छ । हो, त्यही असफल पुँजीवादी मनोविज्ञानका कारण उत्तरसाम्राज्यवादको असफलतालाई विषयान्तर गर्ने र समाजवादको बहसलाई रोक्ने पात्रका रूपमा बाइडेन अगाडि ल्याइएका हुन् ।

३. बाइडेनको जितमा ट्रम्पको सन्की स्वभाव, अराजनीतिक चरित्र र बाइडेनको राजनीतिक छविले पनि काम गरेको छ । साथै डेमोक्र्याटका तर्फबाट बाइडेनको पालामा अश्वेत महिला कमला ह्यारीको उपराष्ट्रपति पदको उम्मेदवारी र अश्वेत समुदायको साथ एउटा र अर्को ट्रम्पको भन्दा बाइडेनको आप्रवासीप्रतिको उदार तथा नरम नीति पनि उनको जितको कारण बनेको छ ।

सारमा भन्नुपर्दा अमेरिकी पुँजीवादी शासन व्यवस्थामा आएको सङ्कट र त्यसको अन्तरविरोधको परिणाम नै ट्रम्पको पराजय र बाइडेनको जितको कारण हो ।

फरक के पर्ला त ?

१. अमेरिकामा नयाँ राष्ट्रपतिका रूपमा जो बाइडेन आउनु अमेरिकी पुँजीवादको निरन्तरता नै हो, क्रमभङ्ग होइन । ट्रम्प गए र बाइडेन आए पनि विश्व–उत्तरसाम्राज्यवादी नीति र कार्यक्रममा कुनै अन्तर आउनेछैन । सामान्य कार्यशैलीमा अन्तर पर्ला तर निगम पुँजीवाद तथा उत्तरसाम्राज्यवादको विश्वव्यापी चरित्रमा कुनै फेरबदल हुनेछैन । अमेरिकाको लामो शासकीय जिम्मेवारीमा रहेका बाइडेन विश्वका सार्वभौमसत्ता सम्पन्न देश, उत्पीडित राष्ट्र र जनताको अपराध कर्ममा सामेल हुँदै आएका व्यक्ति हुन् । अब पनि उनले अमेरिकी साम्राज्यवादी हस्तक्षेप र आक्रमणको नेतृत्व नै गर्नेछन् । सामन्यतया अमेरिकी अभिजात्य समाजमा सीमित सुधार गरे पनि बाइडेनले त्यहाँका श्रमिक तथा उत्पीडित जनसमुदायको जीवनमा शोषणबाहेक कुनै रूपान्तरण गर्ने छैनन् । पहिलो अश्वेत महिला उपराष्ट्रपतिका रूपमा कमला ह्यारीको उपस्थितिले वर्गीय उत्पीडनमा कुनै परिवर्तन आउनेछैन किनकि ट्रम्प स्वयम् पुँजीपति थिए भने बाइडेन र ह्यारी पनि पुँजीवादी विचार बोकेका पुँजीपति वर्गका बफादार प्रतिनिधि नै हुन् । त्यसैले उनीहरूले पनि उत्तरसाम्राज्यवादी पुँजीवादी विचार र शासनव्यवस्थालाई नै बलियो पार्नेछन् र उत्पीडित, उपेक्षित, श्रमिक जनता र राष्ट्रका विरुद्ध कदम चाल्नेछन् । वैज्ञानिक समाजवादी क्रान्तिका विरुद्ध हस्तक्षेप र दमन गर्नेछन् । समाजवादी देशहरूका विरुद्ध घेराबन्दी गर्नेछन् ।

सफलता के त ?

कतिपय विश्लेषणले ट्रम्पको पराजय, बाइडेनको विजय र कमलाको उपस्थितिलाई अमेरिकी राजनीतिको नयाँ मोड भनेका छन् । नेपालमै पनि कतिपय वाम र गैरवाम शक्ति र व्यक्तिले पक्ष र विपक्षमा मत जाहेर गरेको सुन्नमा आएको छ । यो राजनीतिक विचारधारा र दार्शनिक चिन्तनको उपज हो । अमेरिकी राष्ट्रपति चुनाव स्वतः तीनवटा कुरामा रहेको छ : पहिलो, स्वयम् पुँजीपति ट्रम्प गए, पुँजीपतिका प्रतिनिधि बाइडेन आए । दोस्रो, प्रजातन्त्रको लामो र ठूलो अभ्यास गर्ने देशका रूपमा चिनिने अमेरिकामा इतिहासमै पहिलोपटक अश्वेत महिला उपराष्ट्रपतिका रूपमा भारतीय भान्जी कमला ह्यारी विजयी भइन् र तेस्रो, अमेरिकी इतिहासमा जो बाइडेन पनि सबैभन्दा जेठो राष्ट्रपतिका रूपमा विजयी भए । यसबाहेक अमेरिका र विश्वले राजनीतिक विचार, अर्थप्रणाली र समाजव्यवस्थामा कुनै नयाँ सफलता पाएको छैन र यो नेतृत्वले पनि उत्तरसाम्राज्यवादी सङ्कटलाई हल गर्न सक्नेछैन । समस्या झनै बढेर जानेछ र समाजवादको ढोका खोल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :