कलंकीमा भयानक दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते

कलंकीमा भयानक दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते

काठमाडौं : कंलकीमा बिहीबार बिहानै भयानक दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । काठमाडौंको कलंकीको मकालु पेट्रोल पम्पमा कुखुरा बोक्ने ट्रकले रोकिरहेको ट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो ।

कलंकी स्थित सडकखण्डमा मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखि रहेको बा ३ ख ७५३० नं को ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने ट्रकले ठक्कर दिएको प्रहरीले बताएको छ । घटनामा परी सोही कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको ज्यान गएको हो ।

महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहोराका अनुसार घाईते ४ जनामध्ये ३ जनाको मृत्यु भएको र १ जनाको अवस्था सामान्य रहेको छ । कलंकीमै रहेको सहिद अस्पतालमा उपचारको क्रममा ३ जनाको निधन भएको डिएसपी बोहोराले बताए ।

प्रहरीका अनुसार घटनामा परी ज्यान गुमाउनेमा नुवाकोट सुन्दरदेवी गाउँपालिका बर्ष २४ का रोशन तामाङ, नुवाकोट तारकेश्वर गाउँपालिकाका बर्ष ३७ का माधब घिमिरे र सोही गाउँपालिकाका भुवेन्द्र तामाङ रहेका छन् । त्यस्तै घइते हुनेमा नुवाकोट तारकेश्वरकै बर्ष २२ का बिजय तामाङ रहेका छन् । उनलको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै सबारी साधनको चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :