रणनैतिक मोर्चालाई एउटा वैधानिक मोर्चाको रुपमा मात्र बुझ्नु हुँदैन

अन्तर्वार्ता

रणनैतिक मोर्चालाई एउटा वैधानिक मोर्चाको रुपमा मात्र बुझ्नु हुँदैन

नेपाली क्रान्ति र परिस्थितिको सामान्य मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

अहिले अन्तर्राष्ट्रिय परिस्थिति विश्व क्रान्तिका लागि अनुकूल हुँदै गइरहेको छ र उत्तरसाम्राज्यवाद सङ्कटको चरणमा आइपुगेको छ । अहिलेको कोरोना सङ्कट र यसको आवश्यक प्रबन्ध गर्ने सन्दर्भमा पनि उत्तरसाम्राज्यवाद जो अहिले निगम पुँजीवादमा पुगेको छ, यो असफल भैरहेको कुरा नै पुष्टि भएको छ । आर्थिक हिसाबले मात्रै होइन, सामाजिक साँस्कृतिक हिसाबले पनि पुँजीवादी देशहरू विघटनको चरणमा छन् । यो सँगै अहिले विश्व स्तरमा राष्ट्रिय मुक्ति आन्दोलन र समाजवादी आन्दोलनको विषयमा नयाँ ढङ्गले बहस चलिरहेको छ । अबको मानव जातिका लागि पुँजीवाद वा समाजवाद भन्ने विषयमा विश्वका समाजशास्त्री, अर्थशास्त्री र राजनीतिशास्त्रीहरूमा बहस चल्दै गइरहेको छ । उनीहरू भित्रै फेरी अहिलेको छाडा बजार अर्थतन्त्रमा आधारित पुँजीवादले गर्दा व्यावस्थामा जो सङ्कटहरू देखा पर्दैछन् यसको विकल्प रुपान्तरित पँुजीवाद हो भन्ने पनि छ । पुँजीवाद भित्रको आपसी प्रतिस्पर्धा र टक्कर एकातिर छँदैछ भने पुँजीवाद र समाजवादबीच पनि नयाँ खालको जो अन्तरविरोध छ यसको पनि नेपालको क्रान्तिमा असर पर्नसक्ने कुरा निश्चित छ । तर वस्तुगत परिस्थितिको तुलनामा आत्मगत परिस्थिको विकास गर्ने कुरा भने अझैँ अपुग नै छ र यो दिशामा हामी लागिरहेका छौँ ।

पार्टीको आगामी राजनैतिक कामबारे केही भन्नुहुन्छ ?

नेपालको क्रान्तिकारी आन्दोलनमा जुन ढङ्गले समाजवादी क्रान्तिका लागि स्थिति विकास हुँदै गइरहेको छ यसमा पहिलो कुरा हाम्रो आफनो पार्टीलाई क्रान्तिकारी रुपान्तरण सहित सशक्त बनाएर लैजानु पर्छ, दोस्रो कुरा क्रान्तिकारी शत्तिहरूको बीचमा एकता र धुव्रीकरणलाई अगाडि बढाउनु पर्छ र तेस्रो कुरा क्रान्तिको अधिकतम् कार्यक्रम अर्थात समाजवाद चाहने शक्तिहरूबीच राजनैतिक मोर्चालाई प्रभावकारी बनाउँदै क्रान्तिकारी आन्दोलनको विकास गर्न जरुरी छ । यसका साथै अन्य बाहिर रहेका विभिन्न परिवर्तन पक्षधर शक्तिहरूको घेरालाई फराकिलो बनाउँदै लिनुपर्छ । यसरी बाहिर जाँदा आजको राजनीतिक सङ्कटको विकल्पको रुपमा हामीले अगाडि सारेको वैज्ञानिक समाजवाद वा दलाल संसदीय व्यवस्था भन्ने विषयमा व्यापक बहस केन्द्रित गर्नुपर्दछ ।

तपाईहरूले पार्टी एकताको उद्देश्यसहित रणनैतिक संयुक्त मोर्चाको गठन गर्नुभएको छ, यसको आवश्यकता किन पर्यो होला ?

अहिलेसम्म भएका समाजवादी क्रान्तिका अनुभवहरूले के सावित गर्यो भने क्रान्तिका निम्ति क्रान्तिकारी पार्टी, क्रान्तिकारी संयुक्त मोर्चा र जनताको मिलिटेन्ट शक्ति आवश्यक पर्छ । चिनिया क्रान्तिमा माओले पनि क्रान्तिकारी संयुक्त मोर्चा भनेर बनाउनु भएको थियो । यसको मुख्य उद्देश्य अमेरिकी/जापनिज साम्राज्यवादविरुद्ध चिनियाँ क्रान्तिकारी शक्तिहरूको व्यापक एकता गर्दै क्रान्तिलाई बिजय बनाउनु नै थियो । त्यसपछि संयुक्त मोर्चाको कुरा हेर्दा उत्तर कोरिया र भियतनाममा पनि राम्रो प्रयोग भएको देखियो । यी अनुभव र नेपाली क्रान्तिबारे हाम्रो आफनै विश्लेषण र अनुभवले पनि रणनैतिक संयुक्त मोर्चा अपरिहार्य ठानेर नै हामीले यो मोर्चा निर्माण गरेका हौँ । राजनैतिक विषयमा समान बुझाई भएका र तत्कालीन सङ्घर्षको स्वरुप र कार्यनीतिक विषयमा मत भिन्नता भएका विभिन्न शक्तिहरूबीच यसरी रणनैतिक मोर्चा निर्माण गर्ने कुरा विश्व कम्युनिस्ट आन्दोलनको सामान्य अनुभव र शिक्षा पनि हो । यो रणनैतिक मोर्चालाई एउटा वैधानिक मोर्चाको रुपमा मात्र बुझ्ने र पार्टी एकता हुने स्थितिमा मात्रै रणनैतिक मोर्चाको औचित्यता देख्ने जस्ता केही समस्याहरू पनि छन् जुन सही होइनन् । यसका साथै कम्युनिस्ट विचारमा आस्था राख्ने तर तत्कालका निम्ति आपसमा कैयौँ विषय नमिलिरहेका अन्य शक्ति सहित कम्युनिस्ट महासङ्घ समेत बनाउन सकिन्छ भन्ने हाम्रो धारणा हो । नेपालमा दलाल संसदीय व्यवस्थाको सङ्कटले यकातिर यसको विकल्प माग भैरहेको छ भने अर्कातिर समाजवादी क्रान्तिकारी शक्तिहरूबीचमा पनि तत्कालीन विषयमा केही कुरा नमिलिरहेको स्थितिमा पार्टी एकताको लक्ष्यलाई पूरा गर्न आपसी छलफल बहस गर्दै सघर्षका कार्यक्रम पनि अगाडि बढाउँदै जाने हाम्रो सोचाइँ छ ।

रणनैतिक मोर्चामा आबद्ध पार्टीहरूभित्र जनवाद र समाजवादको राजनैतिक कार्यक्रमबीच बहस/विवाद देखियो यसलाई अलि प्रष्ट पार्नुहुन्छ की ?

अहिलेसम्म विश्वमा मार्क्स, लेनिन हुँदै जति पनि क्रान्तिकारी आन्दोलनहरू भए त्यसको मुख्य उद्देश्य समाजवाद नै थियो । चीनमा माओले क्रान्ति अगाडि बढाउने बेला चीन सामन्ती, आर्थिक, राजनैतिक प्रणालीमा नै थियो । उनले त्यहाँ अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक स्थितिमा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादमा सङ्क्रमणका लागि नौलो जनवादको अवधारणा अगाडि सारेका हुन् । नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापनादेखि हामीले मुलुकको चरित्र अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक रहेकोले नयाँ जनवाद आवश्यक पर्छ भन्दै आएका थियौँ । तर अहिले औधोगिक क्रान्तिको कुरा मात्र नभएर समग्र क्रान्तिको आवश्यकता बढ्दै गएको पनि छ । यसरी हेर्दा विश्व साम्राज्यवाद यतिका बेला उत्तरसाम्राज्यवादमा विकसित भएको छ भने नेपालमा पनि दलाल उत्पादन सम्बन्ध मुख्य भूमिकामा आइसकेको छ । देश अर्ध-औपनिवेशिक अवस्थाबाट पनि नव-औपनिवेसिक अवस्थामा गइसकेकोले अबको क्रान्तिको स्वरुप वैज्ञानिक समाजवादी नै हुन्छ । जनवाद वा समाजवादको बारेमा शब्दमा बहस गर्ने यो बेला होइन मुख्य सवाल क्रान्तिलाई अगाडि बढाउने कुरा हो । किरण जीहरूसँग यसबारे थोरै मिल्न सकिरहेको पनि छैन । तर यो विषयमा हामी दुबै पार्टीले बहसलाई खुल्ला गर्दै गएकोले यो सकारात्मक पक्ष हो ।

वैज्ञानिक समाजवादको अन्तरवस्तु र समाजवादका अन्य अवधारणाबारे कसरी टिप्पणी गर्नुहुन्छ ?

हामीले समाजवाद मात्रै भन्दा भ्रम पैदा हुनसक्छ किनकि यहाँ सबैले आफूलाई समाजवादी भनिरहेका छन् । समाजवादको परिभाषा र अन्तरवस्तुका दृष्टिकोणले पनि थुप्रै भिन्नताहरू छन् । वैज्ञानिक समाजवाद जन–उत्तरदायी व्यवस्था हो । जनता सार्वभौम हुने र नेताहरू त्यसको व्यवस्थापक र कर्मचारी एवम् सुरक्षा निकाय जनउत्तरदायी हुने कुरा हो । नेता र कर्मचारी शासक हुने होइन ।

काँङ्ग्रेसले प्रजातान्त्रिक समाजवाद भन्छ । पञ्चायतले त २०१९ सालको संविधानमा वर्गविहीन व्यवस्थाको कुरा गरेको थियो तर यी अवधारणाहरू निश्चित इलाइट वर्गको समाजवाद हुन् । हामीले भन्ने समाजवाद आमश्रमजीवी र मेहेनतकस वर्गको समाजवाद हो यो नै हाम्रो मुख्य अन्तर पनि हो । हामीले भन्ने वैज्ञानिक समाजवादले गास, वास, स्वास्थ्य, शिक्षा, रोजगार लगायतका आधारभूत अधिकारको ग्यारेण्टी सहित सबै जाति, वर्ग, समुदाय र संस्कारको आत्मसम्मानको कुरा गर्छ ।

नेकपाले भन्दै गरेको एकीकृत क्रान्तिको सान्दर्भिकतबाारे के भन्नुहुन्छ ?

एकीकृत क्रान्ति सबैको सहभागितामा हुने क्रान्ति हो । कम्युनिस्ट क्रान्तिदेखि प्रजातान्त्रिक क्रान्तिसम्मको नयाँ संश्लेषणको रुपमा हामीले एकीकृत क्रान्ति भनेका हाैँ । खासगरी प्रकृति विज्ञानमा पछिल्लो एकीकृत ढङ्गको जो विकास भएको छ र मानवीय चेतना पनि विश्वस्तरमा अन्तरआबद्ध भएको देखिन्छ । पुँजीवादहरू पनि धर्मको नाममा, व्यापारको नाममा र शिक्षा तथा स्वास्थ्यको नाममा एकीकृत भएर आएका छन् त्यसरी नै हामीले पनि जनताका सामाजिक, आर्थिक विविधताहरूलाई एकीकृत गर्दै जानुपर्छ । चीनमा सिजिनफिङले पनि विश्वस्तरमा कनेक्टीभिटीको कुरा अघि सारेका छन् । उनले आकास धर्ति र इन्टरनेटबाट विश्वलाई जोड्ने कुरा गरेका छन् । राष्ट्रहरूबीच मात्र होइन, जनता जनता पनि आपसमा जोडिने कुरा गरेका छन् । अबको वैज्ञानिक समाजवाद एकीकृत जनक्रान्तिको तरिकाबाट मात्रै हासिल गर्न सकिन्छ र यसका बारेमा तमाम समाजशास्त्री अर्थशास्त्रीहरूबीच सकारात्मक बुझाई समेत बन्दै गएको छ ।

यहाँहरूले विद्यमान राजनैतिक सङ्कट समाधानको विकल्प र समाजवादका लागि जनमत सङ्ग्रहको एजेण्डा अगाडि सार्नु भएको छ यसको औचित्य र प्रक्रियालाई कसरी प्रष्ट्याउनु हुन्छ ?

जनमत सङ्ग्रहलाई नेपालमा समाजवादी क्रान्तिको इतिहासको हिसाबले हेर्दा हामीले नयाँ प्रयोगको रुपमा अघि सार्न खोजेका छौँ । पहिलो कुरा त देशको जो दलाल अर्थ-राजनैतिक स्थिति छ यो निकै सङ्कटको अवस्थामा छ । कृषि उत्पादनको जीडिपीमा योगदान, आयात निर्यातको स्थिति, व्यापार घाटा, वैदेशिक ऋणभार र युवाहरूको पलायन लगायतका पक्षबाट हेर्दा देश नकारात्मक स्थितिमा छ । यो स्थितिमा आत्मनिर्भर अर्थनीतिकोे दिशामा अघि बढ्नुपर्छ । दोस्रो कुरा आजको जो सत्ता सङ्कट छ यसमा पार्टी र नेताहरू जोडघटाउमा जसरी संसद्‌वादीहरू लागिरहेका छन् यो एउटा भ्रम हो । यहाँ व्यक्ति होइन, व्यवस्था र प्रणाली नै असफल भएको छ । नेपालमा जनतालाई अहिलेसम्म नेता र पार्टी चुन्ने अधिकार त दिइयो अब व्यवस्था र विचार चुन्ने अधिकार जनतालाई दिनुपर्छ भनेका छौँ । यदि जनतालाई सार्वभौम सत्तासम्पन्न मान्ने हो भने यो सम्भव पनि छ । यसको अभ्यास गर्ने एउटा माध्याम जनमत सङ्ग्रह नै हो । त्यसका लागि सर्वदलीय सर्वपक्षिय प्रतिनिधित्व सहितको एउटा संयन्त्र जसलाई गोलमेच सभा, समीक्षा सभा वा जनपार्लियामेन्ट जुनसुकै भन्न सकिएला प्रगतिशील सरकार र जनमत सङ्ग्रहको माध्यमबाट आजको राजनैतिक सङ्कटको निकास गरिनुपर्छ । आज जसरी संसद् गठन, विघटन र चुनावको जुन कुरा छ यस्तो विकृति यो व्यवस्था अन्तर्गत हुन्छ भन्ने नै लागेको थियो ।

प्रस्तुति : शेरबहादुर विश्वकर्मा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :