विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव

विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव

रुसमा महान् अक्टोबर क्रान्ति (सन् १९१७) सम्पन्न भएको पनि १०३ वर्ष पुगेछ । यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री तथा माक्र्सवादी साहित्यकार आदरणीय मोहनविक्रम सिंहद्वारा प्रस्तुत ‘विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव’ शीर्षक अवधारणा पत्रको श्रवण–अध्ययन गर्ने अवसर प्राप्त भयो । मध्यम आयातनमा संरचित प्रस्तुत अवधारणा पत्रमा विभिन्न उपशीर्षकमा अध्ययनको सार प्रस्तुत गरिएको छ । तिनमध्ये विषयकेन्द्रीको रूपमा रहेको ‘अक्टोबर क्रान्तिपछिको विश्व साहित्यको प्रवृत्ति र प्रभाव’ नै यो अवधारणापत्रको मुख्य सार हो । अन्य उपशीर्षक अवधारणा पत्रका पृष्ठभूमि मात्र हुन् । सो अवधारणा पत्रमा प्रस्तुत ‘साहित्यमा माक्र्सवादी दृष्टिकोणको प्रभावकारिता अक्टोबर क्रान्तिअगाडिको साहित्यमा त्यति धेरै रहेको थिएन’, ‘अक्टोबर क्रान्तिले माक्र्सवादी विज्ञानको महानतम् विचारलाई कार्यान्वयनमा ल्याउनुका साथै कम्युनिस्ट घोषणापत्रमा उल्लेख भएको मजदुर वर्गको सत्ताको विषयलाई व्यवहारमा नै पुष्टि’, ‘विश्वव्यापी रूपमा अक्टोबर क्रान्तिको दार्शनिक, सैद्धान्तिक एवम् व्यावहारिक प्रभाव व्यापक, मजदुर वर्गको मुक्ति र आवाजको साहित्यिक धुन’, अक्टोबर क्रान्तिपछि साहित्य र कलामा वर्गीयता रहने कुरा स्पष्ट’, ‘हामीले भारत, नेपाल, चीन, बङ्गलादेश आदि मुलुकमा प्रगतिवादी साहित्यको जुन शक्ति देख्दछौँ, त्यो अक्टोबर क्रान्तिले स्थापना गरेको मूल्यको परम्परामाथि आधारित’ जस्ता पदावली बलशाली रहेका छन् ।

अक्टोबर क्रान्तिले स्पार्टाकसहरूको आक्रोश, विद्रोह, बलिदानको पीरामिडमा पेरिस कम्युनपछि मान्छेको दुनियाँमा नयाँ बन्ने र बनाउने महाअभियानको थालनी गरेको कुरामा कुनै दुविधा छैन । यसले विश्वलाई जनताको मुक्तिकामी सशस्त्र क्रान्तिको कार्यदिशाका रूपमा मार्गनिर्देशन गर्यो । यो क्रान्ति मानवजातिको इतिहासमा नयाँ युगको नयाँ अध्यायको थियो, जसको युगान्तकारी महत्व छ । अक्टोबर क्रान्तिले पारेका प्रभावबारे गम्भीरतापूर्वक हेर्दा मानवजातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ ।

समाजवादीहरूका लागि ‘विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव’ निकै महत्वपूर्ण र सान्दर्भिक विषय हो । प्रस्तुत विषयमा ‘अक्टोबर क्रान्ति’, ‘विश्व साहित्य’ ‘र ‘त्यसको प्रभाव’ गरी तीन सन्दर्भ रहेका छन् । यसका छुट्टाछुट्टै विशद् व्याख्या गर्न सकिन्छ तर यहाँ त्यो सन्दर्भ छैन । क्रान्ति कुनै पनि देश, समाज वा जनताको जीवनमा आकस्मिक घुम्ती हो । भनिन्छ, क्रान्ति हुने कुरा पनि हो, गर्ने कुरा पनि हो । कहिलेकाहीँ असाध्यै मिहिनेत गर्दा पनि क्रान्ति बन्दैन । कहिलेकाहीँ ठिकठिकै मिहिनेत गर्दा पनि क्रान्ति बनिदिन्छ । महान् अक्टोबर क्रान्तिको कुरा पनि त्यही हो । वस्तुतः महान् अक्टोबर क्रान्ति अनेकन् प्रयत्नबाट प्राप्त अनुभव र शिक्षाको सफल अभ्यास थियो । रसियाली सामाजिक प्रजातान्त्रिक श्रमिक पार्टी (बोल्सेविक) को अगुवाइमा अक्टोबर क्रान्ति सम्पन्न भएको थियो । अक्टोबर क्रान्तिले स्पार्टाकसहरूको आक्रोश, विद्रोह, बलिदानको पीरामिडमा पेरिस कम्युनपछि मान्छेको दुनियाँमा नयाँ बन्ने र बनाउने महाअभियानको थालनी गरेको कुरामा कुनै दुविधा छैन । यसले विश्वलाई जनताको मुक्तिकामी सशस्त्र क्रान्तिको कार्यदिशाका रूपमा मार्गनिर्देशन गर्यो । यो क्रान्ति मानवजातिको इतिहासमा नयाँ युगको नयाँ अध्यायको थियो, जसको युगान्तकारी महत्व छ । अक्टोबर क्रान्तिले पारेका प्रभावबारे गम्भीरतापूर्वक हेर्दा मानवजातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । जारका विरुद्ध छेडिएको अक्टोबर क्रान्तिले सैद्धान्तिक रूपमा नै पुँजीवादी र समाजवादी दुई शिविर मात्र खडा गरिदिएन, समाजवादी साहित्यिक क्षेत्रको विस्तार र विकासमा महत्वपूर्ण आधार खडा गरिदियो ।

महान् लेनिनको नेतृत्वमा सम्पन्न अक्टोबर क्रान्तिले माक्र्सवादी सिद्धान्त र विश्वदृष्टिकोणको सवाल अगाडि ल्यायो । गोर्कीको महत्वपूर्ण भूमिकाका रहेको सोभियत लेखकहरूको सम्मेलनमा अक्टोबर क्रान्तिको प्रक्रियामा विकसित साहित्यिक समाजवादी यथार्थवादी धारा अघि आयो । कलाका अनेकौँ रूप र त्यसका सौन्दर्यात्मक पक्षबारे बहस हुन थाले । अक्टोबर क्रान्तिपश्चात् दोस्रो विश्वयुद्ध, चीनलगायतका देशमा समाजवादी क्रान्ति, भारतमा विभिन्न आन्दोलन, नेपालमा कम्युनिस्ट पार्टीको स्थापना मात्र भएन, ती देशहरूमा माक्र्सवादी साहित्यिक क्षेत्र पनि विस्तारित हुँदै गयो । पूर्ववर्ती अवशेषका यावत् सीमाका बाबजुद पनि समाजवादी यथार्थवादी सिर्जनविधि स्थापित हुँदै अघि बढ्यो । अक्टोबर क्रान्तिले विश्व साहित्यमा पुँजीवादी शिविर र समाजवादी शिविरका रूपमा स्पष्ट फ्याँक बनाइदियो । माक्र्सवादीहरूका लागि पुँजीवादी शिविर प्रतिक्रियावादी शिविर हो । माक्र्स–एङ्गेल्सपूर्व यसैको एकाधिकार थियो, जसले शिविरबाट सिर्जना गरिएका कलासाहित्यका सबै रूपहरूले उनीहरूले सेवा गरिरहेका हुन्छन् । भ्रमको राजनीति गर्नु उनीहरूको खास विशेषता हो । उनीहरू ठान्दछन्– साहित्य अरूका निम्ति होइन, स्वान्त सुखायका लागि सिर्जिइन्छ । साहित्य केवल मनोरञ्जनका साधन हुन्, यिनको अरू कुनै सामाजिक उद्देश्य हुँदैन । जसमा सबैको हित गर्ने भावना हुन्छ, त्यही साहित्य हो । साहित्य र कला स्वतन्त्र र पवित्र कुरा हुन्, राजनीतिजस्तो फोहोरी विषयमा मुछेर यिनको स्वतन्त्रता र पवित्रता नष्ट गर्नुहुँदैन । कला कलाकै निम्ति हुन् ।

तर, यथार्थ सधैँ ओझेलमा रहिरहँदैन । अक्टोबर क्रान्तिले त्यो ओझेललाई चिरिदियो । यसले पुँजीवादीहरूले निकै लामो समयदेखि अत्यन्त कुशलतापूर्वक सिर्जना गरेको भ्रमको पर्दालाई च्यातचुत पारिदियो । आज पनि समाजवादी शिविरले यसका विरुद्ध कठोर सङ्घर्ष गर्दै आएको छ । विश्व इतिहासमा कुनै बेला समाजवादी शिविरले विश्वको झन्डै दुईतिहाइ क्षेत्रमा प्रभाव जमाएको थियो । साम्राज्यवादीहरूले आफ्नो अस्तित्वको रक्षार्थ अपनाएका नयाँ–नयाँ विधिका तुलनामा समाजवादीहरूले आफूलाई नयाँ परिस्थितिमा विकास गर्न सकेनन्, जसका कारण अस्थायी रूपमै भए पनि विश्वमा समाजवादीहरू केही पछाडि पर्न गएको कुरा सही हो । अब त्यस्तो अवस्था छैन किनभने आज विश्वमा पुँजीवादी शिविर सङ्कटग्रस्त बन्दै गएको र समाजवादी शिविर नयाँ शिराबाट सुदृढ हुँदै गएको छ । समाजवादी शिविरबाट साहित्यको क्षेत्रमा महत्वपूर्ण काम हुँदै आएका छन् । उनीहरू ठान्दछन्– साहित्यलाई निर्विवाद रूपमा क्रान्तिको साधनको रूपमा विकास गर्नुपर्दछ । दुश्मनका जालझेलपूर्ण सैद्धान्तिक धरातल भत्काई जनक्रान्तिको सैद्धान्तिक पृष्ठभूमि तयार पारेर जनतालाई चेतनशील र सङ्गठित पार्न एवम् कम्यु्निस्ट–सर्वहारा वर्गको पक्षमा उमङ्ग र उत्साहलाई अन्तिम विजयसम्म दिगो र दरिलो राख्न क्रान्तिकारी अग्रिम दस्ताको भूमिका निर्वाह गर्नुपर्दछ । साहित्यमा ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण लागु गर्नुपर्दछ । साहित्यलाई क्रान्ति, जनता र परिवर्तनको पक्षमा लगाउनुपर्दछ, राजनीतिसित अन्योन्याश्रित रूपमा र वर्गीय पक्षधरतासित जोड्नुपर्दछ, निरन्तर क्रान्तिको भावधारासित जोड्नुपर्दछ ।

आज हामी जहाँ उभिइरहेका छौँ, त्यो अक्टोबर क्रान्तिको प्रतिफल हो । हामीभित्र क्रान्ति, परिवर्तनप्रति जुन हुटुहुटी भइरहेको छ, त्यो अक्टोबर क्रान्तिकै प्रतिफल हो । आज हामी जुन भावमा साम्यवादी सपना गुनगुनाइरहेका छौँ, त्यसको स्वरलहरी अक्टोबर क्रान्तिकै हो । पेरिस कम्युनपछि लेखियो– अन्तर्राष्ट्रिय गीत ‘उठ जाग’ ! लेनिन–स्तालिनको देश रुसका ठुलठुला सहरमा घन्कियो यो गीत । विश्वभर फैलियो अन्तर्राष्ट्रिय गीत । सोभियत सत्ताले विश्वभरिका उत्पीडित तथा श्रमजीवी जनताका लागि सैद्धान्तिक, राजनीतिक, साहित्यिक कृतिहरूको व्यापक पैमानामा वितरण गर्यो । यसले नयाँ पुस्ताको वैचारिक, सांस्कृतिक र साहित्यिक धरातल निर्माण गर्न ठूलो सघाउ पुर्यायो । मान्छेको मनमष्तिस्कमा एउटा दृष्टिकोण बनिसकेपछि ऊ हरतरहले फैलन खोज्दछ । साहित्य अलि बढी भावपरक क्षेत्र पनि हो । अक्टोबर क्रान्तिपछि विश्वभर साहित्यिक सङ्गठन, नेतृत्व र अगुवाइहरूको विशाल पङ्क्ति खडा हुँदै गयो । विभिन्न देश र त्यहाँका जनसमुदायका आन्तरिक राष्ट्रियता विभिन्न साहित्यिक माध्यमबाट मुखर हुँदै गयो । अक्टोबर क्रान्तिले साहित्य क्षेत्रमाथि हाबी भइरहेका भ्रान्त धारणाको ढाडमा टेकेर टाउकोमा हान्ने क्रान्तिकारी उत्साह पैदा गर्यो । समाजको अध्ययन र विश्लेषणमा भौतिकवादी दृष्टिकोण अँगाल्न थालियो । ठोस परिस्थितिको ठोस विश्लेषण माक्र्सवादको मूलमर्म हो भन्न थालियो । आत्मगत पक्ष र वस्तुगत पक्षबारेमा बहसहरू हुन थाले । अक्टोबर क्रान्तिपछि क्रान्तिकारी साहित्यिक सिर्जनाहरूको क्षेत्र विस्तारित हुँदै गए । काव्य–कविता, कथा, उपन्यास, नाटक, निबन्ध, चित्रकलालगायत कलाका सबै क्षेत्रमा अक्टोबर क्रान्तिको गहिरो प्रभाव परेको छ । वर्गीयता र वर्गपक्षधरताका कुराहरू गम्भीरताका साथ आउन थाले । साहित्यमा यसको कलात्मक प्रतिबिम्बन हुन थाल्यो । साहित्यमा रूप र सारको एकत्व खोज्न थालियो । साहित्यकारहरूका मूल्याङ्कनमा शब्द र कर्मका बिचको एकत्व मानक बन्न थाले । यथार्थतः महान् अक्टोबर समाजवादी क्रान्तिले विश्व साहित्यलाई दर्शन दियो, विचार दियो, दृष्टिकोण दियो र सिङ्गो विश्व नै दियो ।

अक्टोबर क्रान्तिपछि विश्वभर साहित्यिक सङ्गठन, नेतृत्व र अगुवाइहरूको विशाल पङ्क्ति खडा हुँदै गयो । विभिन्न देश र त्यहाँका जनसमुदायका आन्तरिक राष्ट्रियता विभिन्न साहित्यिक माध्यमबाट मुखर हुँदै गयो । अक्टोबर क्रान्तिले साहित्य क्षेत्रमाथि हाबी भइरहेका भ्रान्त धारणाको ढाडमा टेकेर टाउकोमा हान्ने क्रान्तिकारी उत्साह पैदा गर्यो । समाजको अध्ययन र विश्लेषणमा भौतिकवादी दृष्टिकोण अँगाल्न थालियो । ठोस परिस्थितिको ठोस विश्लेषण माक्र्सवादको मूलमर्म हो भन्न थालियो । आत्मगत पक्ष र वस्तुगत पक्षबारेमा बहसहरू हुन थाले । अक्टोबर क्रान्तिपछि क्रान्तिकारी साहित्यिक सिर्जनाहरूको क्षेत्र विस्तारित हुँदै गए ।

अक्टोबर क्रान्तिले देश, समाज, समुदायलाई साँघुरो घेराबाट मुक्त गर्यो । महान् समाजवादी सोभियत सङ्घ दुनियाँको आँखाको नानी बन्यो । तर पनि आज उनै लेनिनकै देशमा महान् अक्टोबर क्रान्तिको उपलब्धिलाई समाप्त पारिएको छ । जुन देशले विश्वमा समाजवादी क्रान्तिको विगुल फुक्यो, त्यही देश आज समाजवादी रहेन । अक्टोबर क्रान्तिको सैद्धान्तिक मार्ग सही थियो । यसले विश्वलाई धेरै कुरा दियो तर पनि दुनियाँमा महाअवसरवादीहरूले सैद्धान्तिक खोट देखाउँदै आफ्नो स्वार्थसिद्धि गर्दै आएका छन् । खासमा अक्टोबर क्रान्तिको सैद्धान्तिक स्पिरिटलाई ‘कम्युनिस्ट–सर्वहारा’ हरूले दह्रोगरी पक्रनु नसक्नुले विश्व कम्युनिस्ट आन्दोलनमा विविध समस्या पैदा भएका हुन् । अक्टोबर क्रान्तिको सन्दर्भमा हामीले लेख्न र बोल्न छुटाउन नै नमिल्ने कुरा हो यो । आज कम्युनिस्ट–सर्वहारा अधिनायकत्व, वर्गसङ्घर्ष, भौतिकवादी दर्शन, सांस्कृतिक क्रान्ति, रूपान्तरण, वर्गपक्षधरताको कुरा ठ्याम्मै सुनिन छाडेको छ । आज रातो झन्डा ओढेर रातो झन्डालाई सिध्याउनेहरूको रजगज बढेको छ । पार्टीहरूमा आन्तरिक तथा बाह्य शक्तिकेन्द्रका प्रतिनिधिहरू अचाक्ली बढेका छन् । आज पनि एकाध पुँजीवादी–साम्राज्यवादी बुद्धिजीवीहरू खडा गरेर महान् अक्टोबर क्रान्तिका विरुद्ध वकवास गरिँदै छ । यल्तसिनले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनु सामान्य कुरा थिएन तर पनि त्यसको खासै कसैले प्रतिरोध गरेको देखिएन । अनि प्रतिरोध साहित्य र साहित्यकार जन्मिन्छन् कसरी ! अनि समाजवादी शिविर बलियो हुन्छ कसरी ?

यतिबेला विश्व कोरोना महामारीबाट आक्रान्त छ । कोरोना महामारी राजनीतिक र आर्थिक दाउपेच सावित हुँदै छ । अब विश्व उही रूपमा रहन सक्ने अवस्थामा छैन । गरिब राष्ट्र र जनता झन् कङ्गाल बन्दै जाने अवस्था छ । विश्वको पुँजी अत्यन्त सीमित मान्छेको हातमा जानेक्रम तीव्र बनेको छ । साम्राज्यवादी राष्ट्रहरूका तुलनामा ‘नरम’ समाजवादी र सामाजिक राष्ट्रहरूले तुलनात्मक रूपमा कोरोना महामारीबाट कुशलतापूर्वक देश र जनताको रक्षा गरेको देखिँदै छ । तुलनात्मक रूपमा उनीहरू आफ्नो देशको अर्थतन्त्रको जगेर्ना गर्न सक्षम देखिएका छन् । वस्तुतः पुँजीवादीहरू मरणासन्न अवस्थामा पुगेको अलि अगाडि नै हो । यो अहिलेसम्म समाजवादको मुटु हालेर बाँचिरहेको छ । अब समाजवादीहरूले पुँजीवादीहरूबाट खोसेर आफ्नै शरीरमा आफ्नै मुटु समायोजन गर्न अपरिहार्य छ । यस्तो बेला विश्वभरका उत्पीडित र क्रान्तिप्रेमी राष्ट्रहरू एक ठाउँमा उभिनुको कुनै विकल्प छैन । विश्वभरका उत्पीडित तथा श्रमजीवी जनता एकजुट हुने हो भने फेरि पनि यो दुनियाँमा अर्को नयाँ अक्टोबर क्रान्तिको तुफानी सिर्जना हुने सम्भावना यथेष्ट देखिन्छ ।

अक्टोबर क्रान्तिको स्मरण गर्नु भनेको क्रान्तिको मार्गमा अघि बढ्न प्रतिबद्ध हुनु हो । प्रविधिको प्रचुर विकास भएको आजको समयमा कैंयन् वस्तुगत परिस्थिति बदलिएका छन् । समाजवाद अमर छ भनेर मात्र हुँदैन, यसलाई राजनीतिक कमान्डर बनाउनुपर्दछ । नेपालमा यति बेला विभिन्न ऐतिहासिक जनआन्दोलन र जनयुद्धका विविध अनुभवबाट गम्भीर शिक्षा लिँदै वैज्ञानिक समाजवादी क्रान्तिको व्यापक र विशाल क्रान्तिकारी परिवेश निर्माण हुँदै छ, यो एकीकृत जनक्रान्तिको रूपमा अघि बढिरहेको छ । हामीले क्रान्तिकारी कार्यभार पूरा गर्नु छ । अक्टोबर क्रान्तिले हामीलाई ठोस वस्तुको ठोस विश्लेषण गर्न सिकाएको छ । हामी संसारलाई बुझ्ने र बदल्ने मात्र होइन, बदलिएको कुरालाई अग्रगामी रूपान्तरणसहित रक्षा र विकास गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछौँ । समकालीन जटिल राजनीतिक परिस्थितिको सही समाधान दिन र फासिवादी दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था मात्र हो । २१ औँ शताब्दीमा फेरि एकपटक अक्टोबर क्रान्तिको सम्भावना बढेर गएको छ । आज पनि विश्वभरका माक्र्सवादी लेखकहरूको विशाल पङ्क्ति साम्यवादी सपना देखिरहेका छन्, जुन सपना अक्टोबर क्रान्तिले नै देखाएको थियो ।

२२ कात्तिक, २०७७

(अखिल नेपाल प्रगतिशील लेखक सङ्घद्वारा २०७७ कार्तिक २२ गते आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत अवधारणा पत्रमाथि गरिएको टिप्पणीमा आधारित)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :