जनजागरण अभियान लिएर जनताको घरदैलोमा पुग्यो सामना परिवार

जनजागरण अभियान लिएर जनताको घरदैलोमा पुग्यो सामना परिवार

समर झुसे/रुकुम : सामना परिवार जनजागरण अभियान लिएर निरन्तर जनताको घरदैलोमा पुगेको छ । नेकपा सम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघको केन्द्रीय टोली सामना परिवार विभिन्न जनवादी सांस्कृतिक कार्यक्रमदेखि जनश्रमसमेत लिएर जनताको घरदैलोमा पुगेको हो । सत्ताको दमन, शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार, राष्ट्रघात, जनघात र लूटमा पिल्सिएका श्रमिक जनसमुदायलाई चेतना भर्दै र श्रम गर्दै दुःखसुख साटिरहेको सामना परिवारले बस्तीबस्तीका जनताको हृदय जितिरहेको अभियानमा खटिएका परिवारका संस्कृतिकर्मी/कलाकारहरूले बताएका छन् । पछिल्लो समयमा सामना अभियान तराईको कैलालीको अभियान सकेर रुकुम प्रवेश गरेको छ ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोअन्तर्गत सामना जनसांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । असोज २८ गतेबाट कात्तिक १५ गतेसम्म अभियान चलेको थियो । पश्चिम रुकुममा सात स्थानमा सातवटा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका छन् । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा केन्द्रीय सामना परिवारको जनवादी गीत÷सङ्गीतको प्रस्तुति रहेको थियो । कार्यक्रममा हजारौँ जनसमुदायको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रीय सामना परिवारका सहसंयोजकले गरेका थिए । अभियानमा २० जनाको हाराहारीमा संस्कृतिकर्मी लामबद्ध छन् ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा जिल्ला इन्चार्ज चन्द्र र सचिव हीरामणि रावलले दलाल संसदीय व्यवस्थाले जनताको जीवन झन् सङ्कटतिर लागिरहेकाले त्यसको विकल्पमा एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

वक्ताहरूले भने, ‘दलाल संसदीय व्यवस्थाले नातावाद, कृपावाद, शोषण, अन्याय, अत्याचार, पुँजीवादी व्यवस्था विशेषता हुन् । यी खराबीका कारण जनताले खान नपाएर भोकभोकै मर्न बाध्य हुनुपरेको छ । स्वास्थ्य क्षेत्रमा राज्यको सुरक्षामा मौलाएको व्यापारले गर्दा जनताले औषधीसमेत नपाई सामान्य बिरामी हुँदा पनि ज्यान गुमाउनुपरेको छ । श्रमिक जनताका छोराछोरीले उपयुक्त शिक्षा र रोजगार नपाई खाडीमा भौँतारिनुपर्ने बाध्यता छ । जनताले गाँस, बास र कपास नपाई सडकमै मर्नुपर्ने बाध्यता छ । त्यसैकारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता हुने व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुपर्छ ।’

जिल्लामा सम्पन्न सातवटै कार्यक्रममा युवा–विद्यार्थी र सयौँ सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा अभियान टोलीका कमान्डरदेखि जिल्ला तहका कार्यकर्ताहरूको सहभागिता थियो ।

खेतीबाली भित्र्याउनुपर्ने समय भएकाले दिउँसो जनताको खेतबारीमा गई जनश्रमदान गरिरहेको अभियान टोलीका कमान्डरले बताए । जनश्रमदान र सांस्कृतिक कार्यक्रमले पार्टीको धारणा जनतासम्म पुर्याउन सहज भएको अभियानको निष्कर्ष छ ।

अन्य पार्टीमा आबद्ध संस्कृतिकर्मीहरू दलाल फासिवादी सत्ताको आडमा सत्ता संस्कृतिमा चुर्लुम्म डुबिरहेको र दलाल संस्कृतिको प्रचारमा मस्त भइरहेको समयमा नेकपा सम्बद्ध संस्कृतिकर्मी र जनकलाकारहरू भने हजारौँ कठिनाइहरूको सामना गर्दै जनजागरण अभियान लिएर जनताको घरघरमा पुग्दा श्रमिक जनसमुुदायलाई ठूलो राहत र विश्वास प्राप्त भएको अभियानको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :