रामेछाप, काभ्रे र दोलखामा सरकारविरुद्ध मशाल जुलुस, रामेछापमा व्यापक प्रहरी परिचालन

रामेछाप, काभ्रे र दोलखामा सरकारविरुद्ध मशाल जुलुस, रामेछापमा व्यापक प्रहरी परिचालन

काठमाडौँ : नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरिरहेको भारतीय साम्राज्यवादका सुरक्षा प्रमुखलाई नेपाल बोलाएर सरकारले मानार्थ सेनापतिको पदवी प्रदान गरी सम्मान गरेको विरोधमा नेकपा ताम्सालिङ ब्युरोका विभिन्न जिल्लामा सरकारका विरुद्ध मशाल जुलुससहित कोणसभाहरू सम्पन्न गरिएका समाचारहरू प्राप्त भएका छन् ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी रामेछापले पार्टी केन्द्रीय समितिको सङ्घर्षको घोषित कार्यक्रमअनुसार भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण राष्ट्रघातको नयाँ रूपको संज्ञा दिँदै विरोध कार्यक्रम सम्पन्न गरेको छ । ढिलो गरी प्राप्त समाचारअनुसार नेकपा रामेछापले जिल्लाका विभिन्न ठाउँमा मशाल जुलुस निकालेर विरोध कार्यक्रम सम्पन्न गरेको हो ।

‘भारतीय साम्राज्यवादी हस्ताक्षेप बन्द गर ! राष्ट्रिय स्वाधीनताको रक्षा गर ! कालापानीबाट भारतीय सेना फिर्ता जा !’ लगायत नारा लगाउँदै मशाल जुलुस निकालिएको नेकपा रामेछापले जनाएको छ । खाँडादेवी र सुनापति गाउँपालिकाको सिमाना गाल्पा बजार, सोही गापाको वडा नं ७ कार्यालयनजिक र दोरम्बा गाउँपालिकाको देउरालीमा मशाल जुलुस निकालिएको प्राप्त समाचारमा जनइएको छ ।

रामेछापका मशाल जुलुस निकालिएका ठाउँहरूमा शनिबारसम्म पनि सरकारले बाक्लै प्रहरी परिचालन गरेको र सामान्य जनतालाई सोधपुछ गर्दै अनावश्यक दुःख दिएको नेकपा रामेछापका सेक्रेटरी विवेकले दिएका छन् ।

नेकपा रामेछापले यसअघि कात्तिक २० गते कोरोना सङ्क्रमित आफैँले उपचार गर्नुपर्ने सरकारको निर्णय जनहितमा नभएको र विभिन्न रोगी र कोरोना सङ्क्रमित बिरामीको उपचार राज्यले नै गर्नुपर्ने माग गर्दै जिल्लाका विभिन्न स्थानमा विरोध जुलुस निकाली कोणसभा सम्पन्न गरेपछि सरकारले प्रहरी परिचालन गरेको समाचारमा उल्लेख छ ।

त्यसैगरी ताम्सालिङ ब्युरोअन्तर्गत दोलखाका कालिञ्चोक गाउँपालिकाको स्याउलेबजार र काभ्रेपलाञ्चोकका पनौती नगरपालिका र रोशी गाउँपालिकाको ठोकर्पामा पनि केन्द्रीय कार्यक्रमअनुसार मशाल जुलुस निकाली कोणसभाहरू सम्पन्न गरेको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :