बाइबाई जग्गा दलाल डोनाल्ड ट्रम्प

अमेरिकी चुनावी परिणाम पुँजीवादको असली भद्दा रूप

बाइबाई जग्गा दलाल डोनाल्ड ट्रम्प

काठमाडौँ : अमेरिकी राष्ट्रपतीय निर्वाचनमा बहालवाला राष्ट्रपति रहेका जग्गा दलाल डोनाल्ड ट्रम्पको हार सुनिश्चितजस्तै भएको छ भने पूर्वराष्ट्रपतिसमेत रहेका डेमोक्र्याट उम्मेदवार जो बाइडेन जितनजिक देखिएका छन् । बहालवाला राष्ट्रपति ट्रम्पले पराजयको झड्का सहन नसकेर अदालतहरूमा धाँधलीको मुद्दा दायर गर्दै पुँजीवादमा निर्वाचनपद्धति कति धाँधली र अपराधपूर्ण हुन्छ भन्ने राम्रोसँग प्रमाणित गरिदिएका छन् । राष्ट्रपतिमा जो चुनिए पनि संसारका लागि भने विनास र दुष्परिणाम नै हातपर्नेमा दुईमत छैन ।

आफूलाई संसारकै सबैभन्दा उन्नत प्रजातन्त्रवादी भनाउँदै आएको अमेरिकामा चुनावी परिणामलाई लिएर ठूलो विवाद देखिँदै गएको छ । पैसा, पद र राज्यशक्तिको चरम दुरुपयोग हुने पुँजीवादी/साम्राज्यवादी निर्वाचनमा सत्तासीन जग्गा दलाल ट्रम्प पराजयनजिकै पुगेपछि निर्वाचनमा धाँधली भएको भन्दै मुद्दा हालेर जग हँसाइरहेका छन् । वास्तवमा यो ट्रम्पको मात्र नभएर पुँजीवादकै असली रूप हो । संसारभरकै पुँजीवादी मुलुकहरूमा यसप्रकारको भद्दा प्रहसन भइरहन्छ र दुनियाँले त्यसलाई ठूलो र सम्पन्न देशको राजनीतिका रूपमा हेर्नुपर्ने विवशता छ ।

अमेरिकामा बुधबार सम्पन्न राष्ट्रपतीय चुनावको मतगणना अन्तिम अवस्थामा पुगेको छ । राष्ट्रपतिको चुनाव जित्नका लागि आवश्यक पर्ने २७० इलेक्टोरल मतमध्ये बाइडेन ६ मतले मात्रै पछि रहँदा ट्रम्प भने मतगणना रोक्न माग गर्दै अदालत पुगेका छन् । पछिल्लो मत परिणामअनुसार राष्ट्रपतिका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले २६४ र रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले २१४ मात्र इलेक्टोरल मत ल्याएको समाचार एजेन्सीहरूले जनाएका छन् । जितनजिक पुगेका बाइडनले आफू जित्नेमा ढुक्क रहेको र यो जित आफ्ना मतदाताको मात्र नभएर सबैको भएको दाबी पनि गरेका छन् । उनले भनेका छन्, ‘हामीबाट कसैले पनि हाम्रो प्रजातन्त्र खोस्न सक्नेछैन ।’ तर अमेरिकामा विद्यमान दुईदलीय तानाशाहीमा जुन पार्टीको उम्मेदवारले जिते पनि दुनियाँलाई दमन–शोषण गर्ने, युद्ध भड्काउने, हतियार व्यापार गर्ने र प्राकृतिक सम्पत्ति दोहन गर्ने नीति भने फरक पर्दैन ।

पराजयको मुखैमा पुगेका बहालवाला राष्ट्रपति ट्रम्पले मिसिगन, पेन्सिल्भेनिया र जर्जियामा हुलाकबाट भएका मतदानमा ‘धाँधली’ भएको भन्दै अदालतमा मुद्दा हालेका छन् । ट्रम्पले राष्ट्रपतीय निर्वाचनको मतगणना तत्काल स्थगित गर्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका हुन् ट्रम्प जिताऊ अभियानका तर्फबाट मिसिगन राज्यको मतगणना स्थगित गर्न आदेश माग गर्दै मुद्दा दायर गरिएको छ । पेन्सिलभेनिया राज्यको मत गणना चलिरहँदा त्यहाँ पनि स्थगित गर्न माग गर्दै अदालत जाने तयारी भएको ट्रम्पको अभियानले जनाएको छ । कुनै निर्वाचन क्षेत्रमा पराजित बन्दै गएका भए बाइडेनले पनि यस्तै आरोप लगाउँदै मुद्दा हाल्नेमा सन्देह छैन ।

चुनाव परिणामअनुसार अघिल्लो निर्वाचनमा ट्रम्पले जितेका राज्यहरूमध्ये विसकन्सनमा बाइडेन विजयी भएका छन् । मिचिगन राज्यमा ९५ प्रतिशतभन्दा बढी गणना भइसक्दा बाइडेन एक प्रतिशत मतले अगाडि देखिएपछि ट्रम्पका तर्फबाट मतगणना स्थगित गर्न मुद्दा दायर भएको छ । उनले मतगणना पारदर्शी नभएको आरोप पनि लगाएका छन् ।

पराजित भइसकेको विसकन्सिनमा पनि ट्रम्पले मत गणनाको माग राखेका छन् । पेन्सिलभेनियामा ट्रम्पले नै अग्रता लिए पनि बाइडेनले ट्रम्पलाई भेट्टाउन लागेपछि ट्रम्पको चुनाव प्रचार समूह मतगणना रोक्न माग गर्दै अदालत जान लागेको हो । ट्रम्पको अभियानका जस्टिन क्लार्कले डेमोक्र्याटहरूले रिपब्लिकनहरूको मतमा अनियमितता गरेको दाबी गरे ।

कोरोना भाइरसको सङ्क्रमणले सबैभन्दा बढी थलिएको अमेरिकामा यसपटकको राष्ट्रपतीय चुनावी सरगर्मी पहिलेभन्दा घटेको विश्लेषकहरूको मत छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :