कोरोना प्रकोपको छायामा अमेरिकाको राष्ट्रपति निर्वाचन

ट्रम्प र बाइडन जसले जिते पनि साम्राज्यवादी कहर उस्तै

कोरोना प्रकोपको छायामा अमेरिकाको राष्ट्रपति निर्वाचन

काठमाडौँ : विश्वकै साम्राज्यवादी र उत्पीडक पुँजीवादी मुलुकहरूको प्रतिनिधित्व गर्दै आएको मुलुक अमेरिकामा आज राती हुने राष्ट्रपतीय चुनावले विगतमा जस्तो मानिसको ध्यान तान्न सकेको छैन । वर्तमान राष्ट्रपतिसमेत रहेका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति एवम् डेमोक्र्याट उम्मेदवार जो बाइडनबीच राष्ट्रपति पदमा प्रतिस्पर्धा हुन लागेको छ ।

आफूलाई संसारकै एक नम्बर प्रजातान्त्रिक मुलुक भनाउने अमेरिकामा दुईदलीय तानाशाही चलिरहेको छ । संसारलाई ध्वस्त पार्ने र अमेरिकालाई सधैँ साम्राज्यवादको नायक बनाइराख्ने विषयमा यी दुई पार्टीबीच कुनै मतभिन्नता नरहेकाले पनि कुन पार्टी सत्तामा आउँदा के फरक हुन्छ भन्नेमा मानिसको खासै चासो रहँदैन । मात्र स्वार्थसमूहहरूबीच छलफल र बहस हुन्छ ।

संसारलाई नै तहसनहस पार्ने र विशेषगरी पुँजीवादी साम्राज्यवादी मुलुकहरूको धज्जी उडाउने गरी प्रकोप मच्चाएको कोरोना भाइरसको असरका कारण पनि यसपटकको अमेरिकी चुनावले खासै बजार लिएको देखिँदैन ।

अमेरिका यतिबेलासम्म पनि विश्वमै कोरोना महामारीले सबैभन्दा बढी प्रभावित मुलुक हो । साम्राज्यवादी दम्भ र चरम पुँजीवादी/व्यक्तिवादी शासनसत्ताका कारण अमेरिकामा अढाइ लाख मानिस कोरोना भाइरस सङ्क्रमणबाट मरिसकेका छन् भने दलाल, पुँजीपति र साम्राज्यवादीहरूको स्वार्थका कारण डोनाल्ड ट्रम्पले मुलुकमा लकडाउन गर्न नमान्दा अझै धेरै मानिसको हताहती हुने सम्भावना कायमै छ । विश्लेषकहरूले कोरोनाले पुँजीवादलाई पूर्ण रूपमा असफल घोषित गरिदिएको र वैज्ञानिक समाजवाद एक मात्र विकल्पका रूपमा रहेको भन्ने विश्लेषण गरेपछि अमेरिकी चुनाव खासै महत्वका रूपमा अघि आएको देखिँदैन ।

दुई पार्टीबीच सतहमा आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बिमा, कोरोना नियन्त्रणलगायत जेजस्ता विषयमा बहस हुने गरेको बताइए पनि अन्तर्य र केन्द्रमा भने संसारकै प्राकृतिक स्रोत र साधनको दोहन, विनास र हतियार व्यापार नै हुने गरेको छ । दुई पार्टीका जुन पात्र सत्तामा आए पनि उनीहरूले गर्ने भनेको उत्पीडित राष्ट्र, वर्ग, समुदायमाथि शोषण, दोहन, युद्ध–व्यापार र पुँजीको केन्द्रीकरण नै हो ।

अमेरिकीहरूको कुल जनसङ्ख्या ३२ करोड छ । त्यहाँ १८ वर्ष पूरा भएका बालिगको सङ्ख्या २४ करोड छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :