सिरियाली र लिबियाली जनताको रगतले नुहाएको जो बाइडेनको कालो इतिहास

अमेरिकाको भविष्य थेग्न सक्ला दुर्गन्धित बूढो काँधले ?

सिरियाली र लिबियाली जनताको रगतले नुहाएको जो बाइडेनको कालो इतिहास

एक आडम्बरी र श्वेत जग्गा दलाल डोनाल्ड ट्रम्पको हातबाट साम्राज्यवादी मुलुक अमेरिकाको राष्ट्रपति पद अर्का श्वेत वृद्ध जो बाइडेनले फुत्काएका छन् । पार्टी रिपब्लिक वा डेमोक्र्याट हुनुले कुनै फरक पार्दैन अमेरिकी साम्राज्यवादी शासकहरूका लागि । उनीहरू प्रायः सबैको इतिहास निर्दोष तथा विपन्न देश र जनताको रगतले नुहाएकै हुन्छ र पर्दामा जति सफा देखिन खोजे पनि उनीहरूको विगत एक क्रूर र अपराधी डाँकूको जस्तै रगतका टाटैटाटाहरूले सिँगारिएको हुन्छ । भलै उनीहरू यसलाई प्रजातन्त्रको जामा पहिर्याउँछन् र त्यही जामा विश्व पुँजीबजारमा लगेर बिक्री गर्छन् । तिनका पिछलग्गु पुँजीवादी–साम्राज्यवादी शासकहरू पनि लुरुलुरु त्यही कुख्यात र रगतले लतपितएको प्रजातन्त्रको व्यापार गर्छन् ।

सत्ता र शक्तिको आडमा संसारकै प्राकृतिक सम्पत्ति, स्रोत र साधनहरू कब्जा गरेकाले त्यही शक्तिको आडमा संसारमा दादागिरी मच्चाउनु र युद्ध–हतियारको अवैध व्यापार गर्नु उनीहरूको मुख्य काम हुने गरेको छ । अमेरिकाको जनता शासकहरूका सामुन्ने निरीह छ, एउटा निर्जीव रोबोटजस्तै । एउटा अपराधीको बदला अर्को अपराधीलाई छान्नु उनीहरूको नियतिजस्तै बनिसकेको छ । दुईदलीय तानाशाहीलाई अब्बल प्रजातन्त्र मानिदिएर संसारका सामु शिर निहुर्याउनु उनीहरूको निरस इतिहास बनिसकेको छ ।

समाचार स्रोतहरूका अनुसार यतिबेला पूर्वसत्तासीन दल डेमोक्र्याटिकका उम्मेदवार जो बाइडेनले आफूलाई आवश्यक २ सय ७० इलेक्टोरल मत पुुर्याइसकेका छन् । बाइडेनले २ सय ९० देखि ३ सय ६ मत ल्याउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रक्षेपण गरेका छन् । सात करोडभन्दा बढी अमेरिकीले एउटा कुख्यात तानाशाह र ‘अर्धपागल’ ट्रम्पको स्थानमा विवादैविवादले भरिएको इतिहास बोकेका अर्का कुख्यात ७८ वर्षीय वृद्ध बाइडेनका पक्षमा मत दिएर तावाबाट उम्केको माछो भुङ्ग्रोमा भनेजस्तै खराब विकल्प नै रोजेका छन् ।

जो बाइडेनको इतिहास विवादैविवादमा बितेको छ । यी उनै बाइडेन हुन् जो कुनै समय रङ्गभेद उन्मूलनविरुद्ध अदालतले दिएको आदेशविरुद्ध लडेका थिए । उनलाई अस्थिर अपरिपक्व र अधैर्य पात्र ठान्ने अमेरिकीहरूले यसअघि बाराक ओबामाको समयमा उपराष्ट्रपति बनाएका थिए । त्यही समयमा हो बाइडेन पनि सिरियादेखि लिबियासम्मका निर्दोष जनताको रगतको आहालमा डुबेको ।

ओबामा र बाइडेन कार्यकालमै सिरिया र लिबियामाथि अमेरिकाले लाखौँ टन बमगोला खसालेर लाखौँ सिरियाली/लिबियालीको हत्या गरेको थियो । दसौँ लाख सिरियाली–लिबियाली विस्थापित भए । लाखौँले अनाहक अमेरिकी सनकको मारमा परेर ज्यान गुमाउनुपर्यो । कतिपयले बाराक ओबामा सत्तामा आएपछि केके न हुन्छ भनेर अबिरजात्रा गरेका थिए तर परिणाम उही निस्कियो जुन पहिले नै अनुमान गरिएको थियो– निर्दोष एसियालीहरूको नरसंहार ! ती मुलुक र जनताहरू अझै पनि बाराक ओबामा र जो बाइडेनको उपहारस्वरूप शोकधुन बजाइरहेका छन् जस्तो धुन त्यसअघिका शासकहरू सिनियर बुस वा जुनियर बुसहरूको शासनसत्तामा पनि बजाएका थिए ।

बाइडेन जन्मजात नश्लीय चिन्तन बोकेका पात्र हुन् । बाइडेन १९७० को दशकमा छालाको रङका आधारमा विद्यार्थीलाई स्कुल बसमा राख्ने व्यवस्था खारेज गर्न अदालतले आदेश दिएपछि त्यसको विरोध गरिरहेका दक्षिणी विभाजनकारीहरूका पक्षमै उभिएका थिए । ट्रम्पको शासनमा पनि अश्वेत युवकको श्वेत प्रहरीले घाँटी थिचेर हत्या गरे । यो प्रक्रिया अमेरिकी साम्राज्यवादको इतिहासमा दोहोरिइरहेको छ । यो साम्राज्यवादको महत्वपूर्ण गुण नै हो ।

बाइडेनमाथि महिलामाथि यौनहिंसा गरेको आरोप बारम्बार लाग्ने गरेको छ । सन् २०२० को चुनावी प्रत्रिया सुरु भएपछि पनि उनीमाथि महिला मतदाताहरूमाथि यौन दुुव्र्यवहार गरेको आरोप लागिरह्यो । यसअघि पनि उनीमाथि निर्वाचन अभियानमा बेलायती लेबर पार्टीका नेता निल किन्नकको भाषण बङ्ग्याएर आफ्नै जस्तो बनाई प्रस्तुत गरेको अभियोग लागेको थियो । उनीमाथि तीनवटा डिग्री लिएको भन्दै गलत प्रचार गरेको, कलेजको थेसिस चोरेकोलगायत आरोप पनि लागेका छन् ।

यसरी विवादैविवादको घेरामा परेका एक अस्थिर वृद्ध भेटेको छ यसपालि पनि अमेरिकी समाजले । यसपटक पनि एउटा अहंकारी, स्वेच्छाचारी शासकबाहेक केही पाएको छैन अमेरिकी समाजले र यही साम्राज्यवादी व्यवस्था रहुन्जेल पाउने पनि छैन । विश्वले आशङ्ककाको दृष्टिले हेरिरहेको छ– बाइडेनकालमा फेरि कति सिरियाली र लिबियाली जनताको रगत बग्ने हो !

एजेन्सीहरूको सूचना र स्रोतका आधारमा रातो खबरको टिप्पणी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :