कैलालीको धनगढी कारागारमा साहित्यिक/सांस्कृतिक कार्यक्रम

कैलालीको धनगढी कारागारमा साहित्यिक/सांस्कृतिक कार्यक्रम

काठमाडौँ : कात्तिक २२ गते शनिबार कैलालीको धनगढीस्थित कारागारमा शनिवारीय साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनको समन्वय, नाइके विमल चौधरीको अध्यक्षता, सहनाइके रमेश बटालाको सञ्चालन र नाइके नृत देवकोटाको स्वागत मन्तव्यबाट सुरु भई सञ्चालन भएको साहित्यिक/सांस्कृतिक कार्यक्रममा विभिन्न स्रष्टा एवम् कलाकारहरूले आआफ्ना रचना एवम् कला प्रस्तुत गरेका थिए । कविता, कथा, गीत, मुक्तक, हाइकु, चुट्किला, गजल र नृत्य प्रस्तुत गर्नेहरूमा हास्य कलाकार सुवर्ण श्रेष्ठ, ओमप्रकाश पुन, रमेश बटाला, शिवराज भट्ट, जनक मिजार, छत्रबहादुर खड्का, ऋषिराज जोशी, चन्द्रप्रकाश रिमाल, शङ्कर थापा, गणेश मल्ल, गणेश रोकाया, जयबहादुर धानुक, देवबहादुर विक, वीरेन्द्र विक, सुनिल पार्की, जीवन पर्साललगायत स्रष्टाहरू रहेको समाचारमा जनाइएको छ ।

कारागारभित्रको अत्यासलाग्दो परिवेशलाई रङ्गीन एवम् सङ्गीतमय बनाउने र स्रष्टाहरूका सिर्जनालाई प्रस्फुटित गर्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रमको महत्वका बारेमा नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन, टीकापुर घटनाका बन्दी गङ्गाराम चौधरी र ब्लक नं. ‘बी’ का मूल नाइके जयबहादुर धानुकले प्रकाश पारेका थिए ।

कारागारका कैदीबन्दीहरूले यसप्रकारका रचनात्मक कार्यक्रममार्फत सङ्कलित रचनाहरूको सँगालो बन्दी आवाज निकाल्ने कामलाई पनि अगाडि बढाएको जनाइएको छ ।

यसअघि पनि यस कारागारका कैदीबन्दीहरूले दसैँको अवसरा नौ दिनसम्म विभिन्न रचनात्मक कार्यक्रमहरू खेलकुद, वक्तव्यकला, हाजिरीजबाफ, नृत्य, गायनलगायत प्रतियोगिताहरू सम्पन्न गरेका थिए । प्रतियोगितामा विजेता प्रतियोगीहरूलाई विभिन्न पुरस्कार पनि वितरण गरिएको थियो । तिहारका अवसरमा पनि भैलो, दोहोरी, गौरालगायत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तालिका तयार पारिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :