भारतीय सुरक्षा प्रमुखको नेपाल भ्रमणविरुद्ध नेकपाद्वारा देशव्यापी विरोध प्रदर्शन

भारतीय सुरक्षा प्रमुखको नेपाल भ्रमणविरुद्ध नेकपाद्वारा देशव्यापी विरोध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले बुधबार भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको विरोध गर्दै देशभर प्रदर्शन गरेका समाचारहरू प्राप्त भएका छन् ।

यसै क्रममा नेकपाको सहायक सङ्गठन युवा सङ्गठन कालिकोटले ‘नरवणे नेपाल प्रवेश निषेध छ, भारतीय सेना प्रमुख नरवणे मुर्दावाद’ भन्ने नारा लगाउँदै कालो ब्यानर र कालो झन्डा देखाएर विरोधर्याली र कोणसभा सम्पन्न गरेको छ ।

विरोध कार्यक्रमको सञ्चालन तथा अध्यक्षता युवा सङ्गठन नेपाल कालीकोटका अध्यक्ष आत्मा क्षेत्रीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि करणले राष्ट्रियताको रक्षा चाहने सम्पूर्ण युवा शक्ति एकजुट भएर राष्ट्रलाई बचाउन आग्रह गरे ।

अध्यक्ष क्षेत्रीले नेपालको शक्तिशाली मोर्चाका रूपमा रहेको नेपाली सेनाले भारतीय सेनापतिलाई मानार्थ मान्नुपर्ने कुनै अर्थ नरहेको र भारतले नेपालको सिमाना अतिक्रमण गरी नेपाल र नेपालीमाथि गरेको हस्तक्षेप सहन नसकिने बताए । उनले नेपालमाथि भारतले अतिक्रमण गर्न खोजे युवा सङ्गठन हतियार उठाउन बाध्य हुने बताए ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले पूर्वी जिल्लाहरूमा भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणविरुद्ध प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारीले पूर्वका मोरङ, सुनसरी, इलामलगायत जिल्लामा प्रदर्शन गरेको जनाइएको छ ।

सुनसरीका धरान, इटहरी, मोरङका लक्ष्मीमार्ग, उर्लाबारी, इलामको सदरमुकाम इलामबजारलगायत स्थानमा प्रदर्शन गरिएको जानकारी सङ्गठनका मेची–कोसी संयोजक पुष्प न्यौपानेले दिएका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा थाप्न नेपाल आएका नरवणेले गत जेठमा आयोजित कार्यक्रममा काली नदीपारि बाट मानसरोवर जाने सडक निर्माण गरिएको र उक्त भूमि भारतको रहेको अभिव्यक्ति दिएका थिए ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी मकवानपुर जिल्ला समितिले पनि भारतीय सेनाध्यक्ष नरवणे नेपाल आएको विराेधमा बुधबार साँझ विरोध स्वरूप मसाल जुलुस सहित कोणसभा कार्यक्रम सम्पन्न गरेको जनाइएको छ ।

मनहरी गाउँपालिका वडा नं. ३ काे कार्यालय अगाडि अनिलले र मनहरी १ मा रविनले नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :