भारतीय सेनाप्रमुखको नेपाल भ्रमण र साम्राज्यवादी हस्तक्षेपविरुद्ध नेकपाद्वारा काठमाडौँमा प्रदर्शन

भारतीय सेनाप्रमुखको नेपाल भ्रमण र साम्राज्यवादी हस्तक्षेपविरुद्ध नेकपाद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ : नेपालमाथि भारतीय साम्राज्यवादको हस्तक्षेपकै बीच बुधबार भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणविरुद्ध नेकपाले काठमाडौँमै कालो बेलुन, कालोझन्डा प्रदर्शनसहित कोणसभा र मशाल जुलुस प्रदर्शन गरेको छ ।

प्राप्त जानकारीअनुसार नरवणेको नेपाल भ्रमण र साम्राज्यवादी हस्तक्षेपको विरोध गर्दै नेकपाका विभिन्न जनवर्गीय सङ्गठनहरूले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कालो बेलुन प्रदर्शन गर्नुका साथै कोणसभा र साँझ मशाल जुलुससमेत प्रदर्शन गरेका छन् ।

नेकपामा आबद्ध संयुक्त जवसको आयोजनामा काठमाडौँका विभिन्न स्थानमा कालोझन्डा, कालो बेलुनसहित विरोध प्रदर्शन र कोणसभा आयोजना गर्नुका साथै साँझ मशाल जुलुस प्रदर्शन गरिएको हो ।

काठमाडौँको मध्यबानेश्वरस्थित मिलनचोकमा आयोजित विरोधसभामा नेकपाका नेताहरूका साथै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य सरोजप्रसाद न्यौपाने, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिलन राईलगायतले सम्बोधन गरेका थिए । वक्ताहरूले नेपालको राष्ट्रियताविरुद्ध बोलेका नरवणेलाई केपी वली सरकारले निमन्त्रणा गरेर सम्मान गर्नु नेपालको राष्ट्रियतामाथि गम्भीर घात भएकाले यसको प्रतिरोध गर्नु आवश्यक रहेको बताएका थिए ।

यसैबीच संयुक्त जवसद्वारा आयोजित विरोध कार्यक्रममा नरवणेका साथै भारतीय साम्राज्यवादी अतिक्रमणविरुद्ध कालो बेलुन प्रदर्शन गरिएको थियो ।

अखिल क्रान्तिकारी उपत्यका, काठमाडौँ जिल्ला समिति र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले नरवणेको भ्रमणविरुद्ध काठमाडौँ, ललितपुर र भक्तपुरमा बुधबार साँझ मशालजुलुस प्रदर्शन गरेका छन् ।

नरवणेको भ्रमणविरुद्ध नेकपाले बुधबार देशैभर प्रदर्शन, कोणसभासहितका कार्यक्रम आयोजना गरेको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :