नेकपा काठमाडौँद्वारा सरकारविरुद्ध विरोध प्रदर्शन

नेकपा काठमाडौँद्वारा सरकारविरुद्ध विरोध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा विरोध जुलुस निकालेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार देशभर कोरोना उपचारमा सरकारले गैरजिम्मेवार बनेको, भारतीय सेनाध्यक्ष भ्रमणले राष्ट्रियतामाथि आँच पुगेको र सीमा अतिक्रमणको विरोधमा विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिबन्धलाई छल्दै नेकपा काठमाडौँको आयोजनामा बालाजुमा दिउँसै विरोध प्रदर्शन गरिएको छ । पार्टीका जिल्ला सेक्रेटरी पवनको नेतृत्वमा भएको विरोध प्रदर्शनमा स्थानीय समर्थक र शुभचिन्तकको पनि सहभागी रहेको नेकपा काठमाडौँले जनाएको छ ।

सहभागीहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले जनतालाई निःशुल्क उपचारको व्यवस्था गर, भ्रष्टाचारीलाई कारवाही गर, कालापानीबाट भारतीय सेना फिर्ता गर, भारतीय साम्राज्यवाद मुर्दावाद, भारतीय सेनाध्यक्षलाई नेपाली सेनाका मानार्थ उपाधि खारेज गर, राज्यआतंक बन्द गर, गिरफ्तार नेता कार्यकर्ता रिहा गर जस्ता नारा लगाएका थिए ।

नेकपाका महासचिव विप्लवले कात्तिक ५ गते एक विज्ञप्ति जारी गरेर सरकारविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेका थिए । आम नागरिकको निःशुल्क स्वास्थ्य जाँच र उपचार, कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर्न र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै कात्तिक १५ गते देशभर कोणसभा, १७ गते पर्चा वितरण र २० गते देशव्यापी विरोध जुलुस निकाल्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :