बाजुरा जेलमा नेकपा नेता निडरको श्रद्धाञ्जलीसभा

बाजुरा जेलमा नेकपा नेता निडरको श्रद्धाञ्जलीसभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले बाजुरा जेलभित्रै भव्य श्रद्धाञ्जलीसभा आयोजना गरेका छन् । असोज २९ गते उपचारका क्रममा धनगढी अस्पतालमा ६७ वर्षको उमेरमा असामयिक निधन भएका कम्युनिस्ट पार्टी बझाङका संस्थापक सदस्य केदारसैंस्यु गाउँपालिका वडा ४ सैंस्युका धनबहादुर मल्ल ‘निडर’ को स्मृतिमा बाजुरा जिल्ला कारागारमा रहेका नेकपाका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ सहितका नेता–कार्यकर्ताले बिहीबार श्रद्धाञ्जलीसभा आयोजना गरेका हुन् । नेता निडर पछिल्लो समयसम्म विद्रोही नेकपामा आबद्ध थिए ।

श्रद्धाञ्जलीसभाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ ले शोक मन्तव्य राख्दै नेता निडर निरन्तर माक्र्सवाद, लेनिनवाद, माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्दै आएका र विचार र सिद्धान्तबाट विचलित भएका प्रचण्ड–बाबुरामलाई छोडेर विद्रोही नेकपामा आबद्ध भएको स्मरण गरे । उनले आस्था र विश्वासका आधारमा आफ्नो जीवनको अन्तिम घडीसम्म पनि निडर सही विचारलाई त्याग्नु हुँदैन र अन्याय–अत्याचार अन्त्य गरी समानतामूलक समाज निर्माण गर्न निरन्तर क्रान्ति गरिराख्नुपर्छ भन्ने मान्यता राख्ने एक सच्चा कम्युनिस्ट नेता रहेको बताए ।

नेता आदर्शले भने, ‘२०५२ सालमा संसदीय व्यवस्थाका विरुद्ध बन्दुक उठाएका प्रचण्ड नै अहिले आएर त्यही संसदीय व्यवस्थामा आत्मसमर्पण गरी घुँडा टेके । तत्कालीन समयमा पार्टीमा कुनै छलफल र सल्लाह नगरी एकलौटी रूपमा जनसत्ता, जनमुक्ति सेना, हतियार, पार्टीको सरचना सबै ध्वस्त बनाए । अहिले आएर प्रचण्डले केपी वलीलाई पार्टीमा छलफल नै नगरी एकलौटी रूपमा पार्टी र सत्ता चलाए भन्न सुहाउँछ ?’

नेता आदर्शले प्रचण्डले विगतमा पार्टीका जिम्मेवार कुनै पनि नेतालाई नसोधी पार्टी विसर्जन गरेको स्पष्ट पारे । उनले यो व्यवस्थामा जुन नेता सत्तामा गए पनि संसदीय व्यवस्थाको नियम–कानुनलाई मान्नैपर्ने हुँदा यस किसिमका आरोप–प्रत्यारोप संसदीय व्यवस्थाका विशेषता र भागबन्डा नमिल्दाका घुर्की–धम्की र क्षणिक असन्तुष्टिहरू मत्र भएको बताए । ‘यो व्यवस्थामा राष्ट्रपति, प्रधानमन्त्री जो जे भए पनि एकलौटी रूपमा कसैलाई नसोधी मनोमानी गर्ने, राष्ट्रघात गर्ने, जनघात गर्ने र जनतालाई धोका दिनेबाहेक अरू केही पनि हुँदैन’, आदर्शले भने ।

नेता आदर्शले वर्तमान वली सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग विगत जनयुद्धको समयको सहकार्य स्मरण गर्दै हेमन्तप्रकाश ओली ‘सुदर्शन’, चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, भरत बम ‘रणवीर’, अनिल शर्मा, ओमप्रकाश पुन, माइला लामालगायत नेकपाका नेता–कार्यकर्तादेखि आफूहरूलाई लगाइएको मुद्दामा पनि तिनै जनयुद्धका सहकर्मी रामबहादुर थापा ‘बादल’ ले नै बिग्रेका खोस्टा पेस्तोल, राइफलका गोली राखेर नक्कली सहीछाप गराउँदै झुट्टा मुद्दा लगाएर अनावश्यक दुःख दिइरहेको बताए ।

उनले भने, ‘यो सबै हुनुमा प्रचण्ड–बादल विचारमा विचलन भएर हो । बादल प्रचण्डलाई लालगद्दार भन्थे तर उनी आज कुन गद्दार भएर यही व्यवस्थामा फर्किए, त्यो कुरा उनले अहिलेसम्म खुलाएका छैनन् ।’

नेकपा नेता आदर्शले वर्तमान गृहमन्त्री रामबहादुर थापा, तत्कालीन आईजीपी सर्वेन्द्र खनाल, बाजुराका तत्कालीन डीएसपी उद्धवसिंह भाटलगायतको मिलोमतोमा १६ जनालाई आफ्नै बिग्रेका खोस्टा पेस्तोल र राइफलका गोली भिराएर नक्कली सहीछाप गराई झूट्टा मुद्दा लगाएर दुःख दिएको र भ्रष्ट संसदीय व्यवस्थालाई नै मलजल गरेको बताए । यतिसम्म बदमासी गर्ने र सच्चा क्रान्तिकारीलाई फसाउन प्रपन्च रच्ने प्रहरी प्रशासन, नेतृत्व र यो व्यवस्थालाई जनताले कुनै पनि हालतमा विश्वास नगर्ने र यसको भग्नावशेषमा वैज्ञानिक समाजवाद स्थापना भएरै छोड्ने धारणा पनि उनले राखे ।

एक अर्को फरक प्रसङ्गमा उनले नेपालका सबै कारागारमा रहेका कैदीबन्दीको अवस्था दयनीय रहेको पनि बताए । ‘कैदीबन्दीहरूले दैनिक ६० रुपैयाँ र ७ सय ग्राम चामलको भरमा बिहान–बेलुकाको छाक टार्न कसरी सक्छन् ? महँगी बढेको बढ्यै छ । यसमा कसैको ध्यान गएको देखिन्न । कैदीबन्दीहरू भोकै बस्ने ? कैदीबन्दीहरूका विषयमा को बोलिदिने ? कसले आवाज उठाइदिने ?’, नेता आदर्शले प्रश्न गरे ।

कैदीबन्दीहरूले कारागारभित्र भएका यस्ता समस्याका विषयमा कुरा उठाउन नसक्नु र कैदीबन्दीको समस्या राज्यले थाहा पाएर पनि नपाएजस्तै गर्नु दुर्भाग्य भएको आदर्शले बताए । उनले यस विषयमा सबैको ध्यान जान जरुरी भएको र कैदीबन्दीलाई तत्काल दैनिक पेटभरि खानाको व्यवस्था गर्न मागसमेत गरे ।

‘कम्युनिस्टको नाम लिएर कम्युनिस्टकै बदनाम गर्ने, संसदीय व्यवस्थाको भरणपोषण गर्ने र क्रान्तिकारीहरूलाई दमन गर्ने भ्रष्ट व्यवस्थाको घोर विरोध गर्दछौँ । यिनीहरूलाई तत्काल जनताले कारबाही गर्नुपर्ने मागसमेत राख्दछौँ’, नेता आदर्शले भने ।

नेता आदर्शको प्रमुख आतिथ्यमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा गोरखराज गिरी, ध्रुवबहादुर थापा, निरप रावत र राजेश शाहीले पनि अतिथिका रूपमा नेता निडरको आदर्श र कैदीबन्दीले भोगेको जेलको अवस्थाका बारेमा मन्तव्य राखेका थिए ।

धर्मराज सुनारको अध्यक्षता र डम्बरबहादुर सुनारको सञ्चालनमा सम्पन्न कार्यक्रममा कारागारमा रहेका सबै कैदीबन्दी कार्यक्रममा सहभागी भएका थिए । सबै कैदीबन्दीले कार्यक्रममा ऐक्यबद्धता जनाएको पनि कारागारबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :