जब सबैका आँखाबाट हर्षका आँसु खसिरहे

तीन लालको भूमिमा भ्यु टावर तथा सांस्कृतिक केन्द्रको तयारी

जब सबैका आँखाबाट हर्षका आँसु खसिरहे

सानीमदौ सिर्जनानगरबासीका लागि २०७७ साल भदौ १३ गते शनिबारको बिहान अत्यन्त खुसी लिएर आयो । १५ वर्षअघिदेखि आफूले गरेको प्रतिबद्धता र देखेको सपना पूरा हुनै लाग्दा ५२ वर्षीया माल्बु चापागाईं र ५४ वर्षीय नेत्रहरि चापागाईंका आँखाबाट हर्षका आँसु खसिरहेका थिए । भ्यु टावर र सांस्कृतिक केन्द्र निर्माणस्थलमा आफैँले कोदालो र गैँचीले खनेको खाल्टोमा राखिएको शिला पुज्न हातमा अबिर, फूल र अछेता बोकेकी माल्बु चापागाईं कहिले अरूले सुन्ने गरी र कहिले आफैँले मात्र बुझ्ने गरी गुनगुनाइरहनुभएको थियो, ‘हाम्रो सपना आज पूरा हुनु रहेछ…। हामीले अब माथि जाने बाटो बनायौँ । हाम्रा सन्तानको पनि बाटो खुल्यो ।’

लेखक : अशाेक सुवेदी

पितापुर्खादेखि चर्ची आएको खरपाखो अग्रज र स्रष्टाहरूको सम्मानमा निर्माण हुने भ्यु टावर र सांस्कृतिक केन्द्रका लागि अर्पण गर्न पाउँदा उहाँहरूको मुहारमा छचल्किएको खुसी वर्णन गर्ने शब्द त्यहाँ कसैसँग थिएन । भ्यु टावर तथा सांस्कृतिक केन्द्र शिलान्यास कार्यक्रममा साथ दिइरहनुभएको थियो– जग्गादाता नेत्रहरि चापागाईं र माल्बु चापागाईंका साथै स्थानीय बौद्धिकहरू दामोदर सुवेदी, लालबहादुर चापागाईं, तीर्थ सुवेदी, ऋषिराज सुवेदी, दीपक सुवेदी, दीपक दाहाल, विनोद सुवेदी, इन्द्र चापागाईं, रत्न विक–दम्पती, पवन विकलगायतले । सबैको मुहार उज्यालो थियो । कतिपय व्यक्ति आउने क्रम जारी थियो । केही मानिस भने आउने वाचा बाँधेर पनि आएका थिएनन् । गाउँमा भ्यु टावर र सांस्कृतिक केन्द्र निर्माण हुने खबर गाउँमा एकै छिनमा सनसनी भएर फैलियो ।

हो, झन्डै १५ वर्षपहिला गाउँको घरमा एकपाथे ठेकीमा मही पार्दै गरेकी साइँली भाउजू माल्बुलाई मैले सोधेको थिएँ– भाउजू, ढिकाडाँडाको माथिल्लो भाग तपाईंहरूले चर्चिंदै आउनुभएको छ, होइन त ?

हो बाबु, किन र ?

हाम्री समवयी र ममतामयी आमा जूनमायाकी प्रिय बनेर दुःखसुख साटेकी साइँली भाउजूले मही पार्दापार्दैको मदानी टक्क रोकेर ठेकीमा घुर्रो थमाउँदै सोध्नुभएको थियो– किन सोध्नुभयो बाबु ?

त्यो डाँडामा केही नयाँ निर्माण गर्ने विचार छ भाउजू । घरसल्लाह मिलेमा मलाई कुनै राम्रो काम गर्न दिनुहुन्छ कि भनेर सोधेको । कुनै नयाँ निर्माण नभएसम्म तपाईंहरूले नै उपयोग गर्नुभए भइहाल्छ ।

हुन्छ नि बाबु । त्यो दुई भारी खर पनि नपलाउने पाखोमा तपाईं पुर्खाको नाउँमा राम्रो काम गर्नुहुन्छ भने नयाँ काम गर्नका लागि हामी किन बाधक बनौँला र ? दाजुसँग सल्लाह गरेर टुङ्गो दिउँला ।

केही दिनपछिको भेटमा साइँला दाजु नेत्रहरिले पनि भन्नुभएको थियो– भइहाल्छ नि बाबु । त्यो डाँडोमा हामीले खासै उब्जनी पनि लिएका छैनौँ । बढीमा त्यही एक–दुई भारी खर काट्ने हो । राम्रो कामका लागि त्यो पाखो काममा आउँछ भने किन नदिनु ?

हरेक वर्ष भेट हुँदा म दाजु–भाउजू दुवैजनालाई सोध्ने गर्थें– दाजु–भाउजू, निर्णय त बदल्नुभएको छैन नि ?

उहाँहरू भन्नुहुन्थ्यो– नबोल्नु बोलिसकेपछि बोली बदल्ने कुरा पनि हुन्छ र ? बोलेपछि सक्किगो नि !

करिब एक दशकअघि ममतामयी आमा जूनमाया सुवेदीको हातबाट नयाँ घरको भग्नावशेषमा सङ्ग्रहालय भवन शिलान्यास गर्ने समयमा पनि उहाँहरू दुवैजनाले आफूहरू आफ्नो बोलीवचनमा अडिग रहेको बताउनुभएको थियो । मलाई धेरै खुसी लाग्यो । कति इमानदार छन् हाम्रो गाउँका अधिकांश मान्छे ! कति पवित्र छ उहाँहरूको हृदय !

गतसालबाट म नियमितजस्तै गाउँतिरै बस्दै आएको छु । केही सपना छन् मनमा । ममतामयी आमाको हातबाट शिलान्यास गरिएको नयाँ घरस्थित हामी जन्मिएको घरको भग्नावशेषमा बाजे चन्द्रलालकै पालाको शैलीमा हित–जून युद्ध–कला सङ्ग्रहालय २ निर्माणाधीन छ । बेसीमा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान प्राङ्गणमा स्मृति भवन, सङ्ग्रहालय भवन, सालिक र स्मृति स्तम्भ छ । पुस्तकालय र आवास पनि बन्दैछ ।

प्रतिष्ठानको निमन्त्रणामा हरेक वर्ष चैत २४–२६ मा सिर्जनानगर आउने स्रष्टाहरूले गरेको चर्चा र प्रशंसा सुन्दा स्रष्टा र अग्रजहरूको सम्मान र स्मृतिमा अर्को एउटा नयाँ निर्माण गर्न पाए हुने थियो भन्ने लागिरहेकै थियो । अग्रज, सहिद र स्रष्टाहरूको सम्मानमा दृश्यावलोकन स्तम्भ (भ्यु टावर) र सांस्कृतिक केन्द्र निर्माण गर्न पाए कति राम्रो हुन्थ्यो होला नि ! मनमनै कुरा खेलाउँदै थिएँ ।

पितापुर्खादेखि चर्ची आएको खरपाखो अग्रज र स्रष्टाहरूको सम्मानमा निर्माण हुने भ्यु टावर र सांस्कृतिक केन्द्रका लागि अर्पण गर्न पाउँदा उहाँहरूको मुहारमा छचल्किएको खुसी वर्णन गर्ने शब्द त्यहाँ कसैसँग थिएन ।

हुनत नयाँघरस्थित डाँडाबारीदेखि ढिकाडाँडासम्म सम्याएर विशाल उद्यान र खेल मैदान बनाउने मेरो १५ वर्षअघिदेखिको सपना अङ्कुराउनासाथ कतिपय पात्रहरुको असहयोगका कारण मुर्झाउन बाध्य भएको घटनाले हृदय पोलिरहन्थ्यो । तर पनि यो पछिल्लो सपना भने अलि मूर्तीकृत होला कि भन्ने लागिरहेको थियो ।

यस वर्ष पनि साइँला दाजु र साइँली भाउजूलाई भेट्नासाथ सोधिहालेँ– यसपटकचाहिँ साँच्चै जग्गा दिनुपर्छ है दाजु–भाउजू ? यसपटक त शिलान्यास नै गर्ने हो ।

भइहाल्छ नि, किन नहुनु ? उत्तिकै सहजतापूर्वक दाजु र भाउजू दुवैजनाले भन्नुभएको थियो ।

‘यसो साँझबिहान मिलाएर घरमा आउनु, दाजु र भतिजहरूसँग पनि आफूले गर्न लागेको कामका बारेमा कुरा गर्नु । खै आउँदै आउनुहुन्न’, भाउजू भेट्ने बित्तिक्कै भनिहाल्नुहुन्थ्यो ।

भाउजूको वचन काट्न नसकेर १–२ पल्ट साँझ–बिहान पारेर घरमा पनि गएँ । खेतीकिसानी गर्ने मान्छेलाई कि त बिहान ओछ्यानमै भेट्न पुग्नुपर्ने कि त बास बस्ने बेलामा । दिनभर खेती गरेर थाकेर आएको मानिसलाई बारम्बार एउटै कुरा दोहोर्याइरहँदा झिँझो लाग्छ होला– मनमनै सोच्थेँ ।

एक साँझ भतिज ऋषिलाई साथमा लिएर पुगेको थिएँ दाजु–भाउजूलाई भेट्न । अलि मसिनिएर योजनासहितका कुरा सुनाएपछि भतिज लक्ष्मण धेरै नै प्रभावित बने । त्यसपछि उनी भेट्नासाथ अङ्कल, भ्यु टावर र मन्दिरको निर्माण कहिलेदेखि सुरु हुन्छ ? भनेर सोधिहाल्थे ।

केही प्राविधिक काम मिलाउनुपर्छ बाबु अनि त सुरु भइहाल्छ नि– म जबाफ दिन्थेँ ।

लालपुर्जा बैङ्कमा राखेर ऋण लिएको छ– जग्गाको नक्सा हेर्ने क्रममा दाजु र भाउजूले सुनाउनुभएको थियो । अब त्यो पनि बिस्तारै मिलाउनुपर्छ– दाजुले भन्नुभएको थियो ।

यसैको परिणाम थियो भदौ १३ गतेको शिलान्यास कार्यक्रम । कुनै तामझाम नगरीकनै जग्गादाता र विकासप्रेमी स्थानीयलाई तत्काल निम्ता गरेर कार्यक्रम सम्पन्न गरिएको थियो ।

२०४५ सालमा भूकम्प आउनुअघिसम्म तत्कालीन सानीमदौ गाउँको सिरान अत्यन्त चहलपहलपूर्ण थियो । ०४५ सालमा भूकम्प आएर घरहरू ढल्नु र रामेछाप डाँडाबाट मन्थलीमा जिल्ला सदरमुकाम सर्नु एकैपटक भयो । खेतीपाती बेसीमा भएकाले प्रायः यस स्थानका बासिन्दा दिनभर बेसीमा खेतीपातीका लागि झर्ने र बेलुका धान–चामल, घाँस, पानी, गाईबस्तु लिएर उकालो लाग्ने गर्थे । यो टारैटारहरूले भरिएको बस्ती हो । बेसीका ठूल्टार (सापमारे), बिरालीटार, डिहीटार, उपल्लोटार, माझाटार, सानीटार, डिही, खाँदबारी र बोदनेमध्ये यस गाउँको बीचमा रहेको माझाटार र उपल्लोटारमा ठूलो बस्ती बसिसकेको छ । पुछारमा पूर्व–उत्तर घ्याप्चेबाट उद्गम भएर पश्चिमतर्फ मन्थलीको पुछार तामाकोसीमा मिसिने रनजोर खोला यहाँका किसानहरूको मुख्य प्राणपखेरु हो । यही रनजोर खोलाको उत्तरतर्फ सिरानी हालेर सुतेझैँ यो बस्ती बसेको छ ।

टारहरूले नपुगेर अब क्रमशः हिजोसम्म खेती हुने खेतहरू पनि घडेरी बनेर घर बन्ने क्रम बढेको छ । करिब पाँच सय वर्षपहिले गोरखाको धावातान्द्राङबाट काठमाडौँका मल्ल राजाहरूलाई ६०० मोरु तिरेर बिर्ता लिई यहाँ आएका सुवेदीहरूले यहाँको बस्ती बसाएको मानिन्छ । सुवेदीहरूले सुवेटार निर्माण गर्नुअघि र पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रमसम्म यहाँ किराँत राज्यको प्रभाव रहेको मानिन्छ ।

रनजोरको उत्तरतर्फ देखिने यो गाउँ कम्तीमा पनि पाँच सय वर्षअघि निर्माण भएको हो । सुवेदी, चापागाईं, बुढाथोकी, काफ्ले, भुजेल र विश्वकर्माहरूको पुरानो थातथलो यो गाउँ १५ वर्षयता सिर्जनानगर बनेको छ । अहिले यो सदरमुकामको मात्र नभएर जिल्लाकै आकर्षणको केन्द्र बन्दै आएको छ ।

यो गाउँको सिरान अथवा टाकुरामा छ नयाँ घर, ढिकाडाँडा क्षेत्र । यहाँबाट दुर्बिन नलगाईकन खाली आँखाले हेर्दा पनि पूर्वतिर पुरानागाउँको पल्लो भेग, सोलीथुम्का, ठूलीमदौ, त्यसभन्दा पूर्व सालु–देउराली र पूर्वबाट क्रमशः दक्षिण, पश्चिम र उत्तरतर्फ सुनारपानी, हिलेपानी, रामेछाप डाँडो, भँगेरी, बाबियाखर्क, महादेवस्थान, भलुवाजोर, मच्छेडाँडी, कुँडहर, मन्थली, तामाकोसी, बेनी, सिन्धुलीको खुर्कोटदेखि पश्चिम–उत्तरका मुल्कोट, झाँगाझोली, दुम्जा–साँधीसम्म र काभ्रेको पूर्वी भाग, मन्थलीकै मुगीटार–रजगाउँ (राजागाउँ) फाँट, पकरबास, भटौली, मडीमुहान हुँदै सदरमुकाम मन्थली, गाउँकै फुस्रामाटा, सिरुवानीडाँडा, काफ्लेटार, लाहुरेबारी, देवीथान, ठाडीखोला, दालिङ्गे, मन्डरे, सल्ट्यार (सालटार), तारेभिर, पल्लाकालापानी हुँदै पुनः सोलीथुम्कासम्मका भूभाग देखिन्छ ।

नेपालका प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठ, नेकपाका संस्थापक/महासचिव पुष्पलालको जन्मथलो भँगेरीदेखि जनयुद्धमा शाहीसेनाद्वारा हत्या गरिएका सालुका सात सहिद र एकीकृत जनक्रान्तिका सहिद रामकुमार श्रेष्ठको जन्मथलो सालुपाटी पनि यहाँबाट छर्लङ्गै देखिन्छ । यसै गाउँको उत्तरतर्फ कठजोरमा नेपालका प्रथम सांस्कृतिक/साहित्यिक सहिद मकैको खेती पुस्तकका लेखक कृष्णलाल अधिकारीको जन्म भएको थियो । राजनीतिक रूपले यो निरङ्कुश पञ्चायती कालमा वामपन्थी र प्रजातन्त्रवादी नेताहरू भूमिगत बस्ने ठाउँ पनि हो । यो गाउँमा पञ्चायतकालमा ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, दीनानाथ शर्मा, चित्रबहादुर केसी, कमल चौलागाईंदेखि पछिल्लो समय २०७२ सालमा नेकपाका महासचिव विप्लवसम्म आएर जनताको घरबस्तीमा बसेका छन् । पथिक, अटल, नैनकला, माइला लामा, रेशम चौलागाईं ‘गोपाल’ लगायत यहाँ सयौँ माक्र्सवादी/प्रगतिवादी, प्रगतिशील स्रष्टा/संस्कृतिकर्मीले आआफ्ना सिर्जना रचना र वाचन गरिसकेका छन् । वरिष्ठ अधिकारकर्मी तथा महिलानेत्री/स्रष्टा शान्ता श्रेष्ठदेखि झपेन्द्रराज वैद्य, चित्रकार/स्रष्टा लव प्रधान ‘मित्र’, प्रा. राजेन्द्र सुवेदी, नरेन्द्रजङ्ग पिटर, लोककृष्ण भट्टराई, डा. रामप्रसाद ज्ञवाली, प्राडा सुरेन्द्र केसी, सरला रेग्मी, आरबी भण्डारी, खुसीराम पाख्रिन, प्राडा जगदीशचन्द्र भण्डारी, विश्वम्भर लामिछाने, नेकपाका युवा नेता एवम् अखिल क्रान्तिकारीका तत्कालीन अध्यक्ष पूर्णबहादुर सिंह, जनयुद्धकालीन संस्कृतिकर्मी उषा सिंह, रमण थामी, स्रष्टाहरू डीआर पौडेल, डा. भगवानचन्द्र ज्ञवाली, अग्निराज पौडेल ‘अराप’, मूर्तिकार नरेन्द्र भण्डारी, विमल श्रेष्ठ, मङ्गोलपुत्र, क्षितिज, प्रसिद्धा शर्मा, रसुवाली कवि, चन्द्रा थानी (हालसालै निधन), निभा शाह, शोभा दुलाल, श्यामबहादुर भावुक, प्रोल्लास सिन्धुलीय, पम्फा श्रेष्ठ, राधा खतिवडा, हिमलाल पराजुली, रसुवाली कवि, नरेश श्रेष्ठ, मधुसूदन पाण्डेय, ईश्वरचन्द्र ज्ञवाली, खेम थपलिया, लेखनाथ न्यौपाने, हीरामणि दुःखी, रमण थामी, मधु कार्की, मोहनलाल घिसिङ, रक्तिम र सामना परिवारका कलाकारलगायत सयौँ स्रष्टा/संस्कृतिकर्मीले यहाँको माटोको स्पर्श गरिसकेका छन् । यो माटो र यहाँको इतिहासलाई लाई साक्षी राखेर सिर्जना गरिसकेका छन् । त्यसैले यो भूमि अब अपरिचित छैन ।

विगत १५ वर्षदेखि सिर्जनानगर स्रष्टामय बन्दै आएको छ । हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको निमन्त्रणामा हरेक वर्ष चैत २४ देखि २६ गतेसम्म सिर्जनानगरस्थित प्रतिष्ठानको कार्यक्रममा देशका विभिन्न भूभागबाट भँगेरी हुँदै यहाँ आएका विभिन्न विधाका स्रष्टा–संस्कृतिकर्मी/कलाकारहरूले यस गाउँका बारेमा धेरै कलम र रङ–कुची चलाइसकेका छन् । मैले रोजेको बाटो, नयाँ बस्ती, नयाँ समयका नयाँ मान्छेहरू, गाउँको रङ फेरिएको छ, नौलो बिहानी, सिर्जनाभूमि, लालभूमिको यात्रा, लालबस्ती, आमा, रामेछाप जिल्लाका साहित्यकार र कवि हितप्रसाद उपाध्याय, ममतामयी आमा जूनमाया सुवेदी, रामप्रसादको सिसमहल, खाँदबारी, जालसाजी र सङ्घर्ष, लालबस्ती (वृत्तचित्र) लगायत पुस्तक, पत्रिका र श्रव्यदृश्यहरूमा ती सामग्री अध्ययन गर्न पाइन्छ । स्थानीय किसानहरुले सामन्तहरुका विरुद्ध निरन्तर लडेको गौरवशाली इतिहास पनि ताजै छ यो भूमिको ।

भ्यु टावर र सांस्कृतिक केन्द्र शिलान्यास कार्यक्रम सम्पन्न हुनासाथ स्थानीय व्यवसायी दीपकबहादुर सुवेदीले निर्माणका लागि लाग्ने करिब दुई लाख रुपैयाँबराबरको सम्पूर्ण बालुवाको जिम्मा लिने उद्घोष गर्नुभयो । अखिल नेपाल ललितकला सङ्घका अध्यक्ष अग्निराज पौडेल ‘अराप’ ले भ्यु टावर तथा सांस्कृतिक केन्द्रका भित्ताहरूमा सजाइने चित्रहरू तयार पार्नका लागि कलाकारहरूको समूह नै सिर्जनानगर लिएर आउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता उज्ज्वल सुवेदीले त्यहाँ लाग्ने रड/छडको जिम्मेवारी लिने उद्घोष गर्नुभयो । उहाँले अरू व्यवसायीहरूलाई पनि सामाजिक काममा सहयोग गर्ने वातावरण मिलाइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेसका स्थानीय नेता पूर्णबहादुर सुवेदीले आफ्नो सम्पर्कमा रहेका व्यवसायीहरूलाई सक्दो सहयोग गर्न लगाउने वचन दिनुभयो । त्यस्तै स्थानीय काष्ठकलाकर्मी रत्न विक, पवन/प्रदीप विकले फर्निचरका लागि सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पवन विकले निर्माणका लागि आवश्यक सम्पूर्ण पानी र पाइपको व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । वातावरण संरक्षण समूहका निर्देशक मिलन तामाङले वरिपरि उद्यान, फलफूल, बोटबिरुवा र पानी ट्याङ्कीका लागि पहल गर्ने आश्वासन दिनुभयो ।

नेपालका प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठ, नेकपाका संस्थापक/महासचिव पुष्पलालको जन्मथलो भँगेरीदेखि जनयुद्धमा शाहीसेनाद्वारा हत्या गरिएका सालुका सात सहिद र एकीकृत जनक्रान्तिका सहिद रामकुमार श्रेष्ठको जन्मथलो सालुपाटी पनि यहाँबाट छर्लङ्गै देखिन्छ । यसै गाउँको उत्तरतर्फ कठजोरमा नेपालका प्रथम सांस्कृतिक/साहित्यिक सहिद मकैको खेती पुस्तकका लेखक कृष्णलाल अधिकारीको जन्म भएको थियो । राजनीतिक रूपले यो निरङ्कुश पञ्चायती कालमा वामपन्थी र प्रजातन्त्रवादी नेताहरू भूमिगत बस्ने ठाउँ पनि हो ।

त्यस्तै कसैले नक्सा निर्माण गरिदिने, कसैले गिट्टी, कसैले सिमेन्ट र रडको जिम्मा लिने उद्घोष गरेका छन् । मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतदेखि लिएर प्रदेश सांसद शान्ति पौडेल, वडाध्यक्ष नारायणदास श्रेष्ठसम्मले भ्यु टावर र सांस्कृतिक केन्द्र निर्माणका लागि उत्सुकता र प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भ्यु टावर र सांस्कृतिक केन्द्र अग्रज र स्रष्टाहरूको सम्मानमा निर्माण गरिने सुनेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभामा संसदीय दलका नेता दीनानाथ शर्माले आफ्ना तर्फबाट सकेसम्म पहल गर्ने आश्वासन दिनुभएको छ ।

भ्यु टावर र सांस्कृतिक केन्द्र बहुद्देश्यीय हुने परिकल्पना गरिएको छ । ६ तलासम्म निर्माण हुने उक्त टावर र सांस्कृतिक केन्द्रका हरेक तलामा शाकाहारी–मांसाहारी भोजनालय, रेस्टुरेन्ट, अध्ययनकक्ष, शयनकक्ष, कार्यालय, सांस्कृतिक सम्पदाहरूको सङ्ग्रह तथा अवलोकनको व्यवस्था मिलाउने उद्देश्य राखिएको छ । प्राङ्गणमा पिकनिक स्पट पनि निर्माण गर्ने लक्ष्य छ । सांस्कृतिक आस्थाका केन्द्रहरू निर्माण हुने हुनाले मनोरञ्जनका लागि पनि पर्याप्त अवसर हुने अपेक्षा राखिएको छ ।

खुर्कोटस्थित सहिद आजाद जन्मथल हुँदै भँगेरीस्थित पुष्पलाल–गङ्गालाल जन्मस्थलमा निर्मित सालिक अवलोकन गर्दै भ्यु टावर र सांस्कृतिक केन्द्रमा आउने पाहुनाहरूले समय कसरी बिताउने होला भनेर चिन्ता गर्नुपर्ने अवस्था रहनेछैन । सिर्जनानगरस्थित हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानमा रहेको हित–जून सालिक, हित–जून युद्ध–कला सङ्ग्रहालय १ र २, हित–जून पुस्तकालयमा केही समय बिताएर भ्यु टावर उक्लिँदा रात परिहालेमा वा रात बिताउन मन लागेमा प्रतिष्ठानले निर्माण गरेको आवासगृहमा बस्ने वातावरण छ ।

जिल्ला सदरमुकाम रहेको नगरपालिकाको वडा नं. १ मै भ्यु टावर र सांस्कृतिक केन्द्र बन्ने भएकाले यो जिल्लाको महत्वपूर्ण पर्यटकीय क्षेत्र पनि बन्नेछ । उचाइमा भएकाले गर्मीले उकुसमुकुस भएका पर्यटकहरूले पनि यस क्षेत्रमा पुगेपछि शीतल र स्वच्छ प्राकृतिक हावामा रमाउँदै र मयुर–मिर्गहरूका नृत्य–गतिविधि हेर्दै समय कटाउन सक्नेछन् । मनोरञ्जनस्थल, पर्यटन क्षेत्र र सिर्जनास्थलको अभावमा छट्पटाएका सिर्जनानगर तथा मन्थली क्षेत्रका युवाहरू भ्यु टावर र सांस्कृतिक केन्द्र निर्माणपछि यस क्षेत्रकै कायापलट हुने बताउँछन् ।

लामो समय काठमाडौँ बसेर कोरोना कहरपछि गाउँ फर्किएका स्थानीय युवा तीर्थ सुवेदी आजसम्म गाउँमा खासै विकास नभए पनि भ्यु टावर र सांस्कृतिक केन्द्र निर्माणपछि गाउँमा विकासको लहर आरम्भ हुने बताउँछन् । त्यस्तै काठमाडौँबाट गाउँ आइपुगेका इन्जिनियर टेकराज सुवेदी यो बुउद्देश्यीय योजना सम्पन्न भएपछि आकर्षणको केन्द्र बन्ने धारणा राख्छन् । स्थानीय युवा रमेश चापागाईं र गणेश चापागाईं एक स्वरमा भन्छन्– आजसम्म कसैले यस किसिमको अवधारणा ल्याउन सकेको थिएन । भ्यु टावर र सांस्कृतिक केन्द्र निर्माणपछि यस क्षेत्रका युवाहरूले सिर्जना र समय बिताउने ठाउँ खोज्दै भाैँतारिनु पर्दैन । अर्का युवा सङ्गीत काफ्ले भन्छन्– यो अत्यन्त सकारात्मक काम हो । यसले यहाँका सबैको ध्यानाकर्षण गराउँछ र गाउँको विकासमा पनि ठूलो सहयोग पुर्याउँछ । अर्का युवा पवन विक भन्छन्– भ्यु टावर र सांस्कृतिक केन्द्र निर्माणको परिचर्चाले सिङ्गो गाउँमा ठूलो उत्साह र तरङ्ग ल्याइदिएको छ । केही स्थानीय ठालू र मुखियाहरूले आफ्नो स्वाभिमानमा ठेस पुगेको महसुस गरेका होलान् तर यो ठाउँका लागि दीर्घकालीन योजना हो । झन्डै सत्तरीको वयमा हिँड्दै गरेका स्थानीय लालबहादुर चापागाईं होऊन् वा ५५ वर्ष पार गरेका दामोदर सुवेदी सबैको भनाइ छ– काम केही कठिन भए पनि दीर्घकालीन महत्वको छ । साधन र स्रोत जुटाएर छिटो निर्माण सुरु गर्न सम्बन्धित क्षेत्रलाई घचघच्याउनुपर्छ ।

भ्यु टावर र सांस्कृतिक केन्द्र निर्माणपछि कृष्णलाल–गङ्गालाल र पुष्पलाल (तीन लाल) को जन्मथलोका रुपमा स्थापित यो ठाउँमा देशभरका स्रष्टा, संस्कृतिकर्मी, पत्रकार, बौद्धिक र अध्येताहरुको उल्लेख्य उपस्थिति र महत्वपूर्ण सिर्जना बन्नेमा कसैको पनि दुईमत देखिँदैन तर बाधक छ त यहाँको विकासविरोधी जिम्मली र मुखिया प्रवृत्ति । आफू सिन्कोसम्म नभाँच्ने र अरु र अरुले गरेका राम्रा कुरा स्वकार्न पनि नसक्ने प्रवृत्ति रहेसम्म कुनै पनि स्थानको विकास र उन्नतिमा बाधा परिरहने यस क्षेत्रका सम्पूर्ण विकासप्रेमीहरूको मत छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :