कठैबरा तिमी !

कविता

कठैबरा तिमी !

गुन्द्रुक र ढिँडो खाएर पालेको थिएँ
कठैबरा ! मर्छन् कि भनेर
परिवर्तनको यात्रामा हिँडेका छन् ती
कठैबरा ! केही गर्छन् कि त भनेर

नाना काटी टालेकै थिएँ, पेट काटी पालेकै थिएँ
दुःख–कष्ट मुटुभरि राखी
कठैबरा ! खुनपसिना फालेकै थिएँ

हड्डी र छाला बनेर उसको त्यो महान् यात्रामा
कठैबरा ! राखेको थिएँ सानो सपना आफ्नो पनि

दुःख, पीडा अबहुँदैन रे ? कोही पनि अब रुँदैनन् रे !
नयाँ मुलुक र नयाँ व्यवस्था आउँछ रे
सबलाई समाजवाद हुँदै साम्यवादमा पुर्याउँछ रे ?

वर्गीय विभेदको अन्त्य हुन्छ रे, सुख र समृद्धिले छुन्छ रे
जनअधिकार समान हुन्छ रे, देशमा स्वाधीनताले छुन्छ रे

भ्रष्ट, दलाल, सामन्ती गुन्डा
फटाहा र कालोबजारी रहँदैन भन्छन्
आज तिनै देख्छु म चारैतिर
कठैबरा ! कसले, कति, कसलाई लुट्ने भनी गन्छन्

के यसैका लागि तिमी हिँडेका थियौ ?
के पैसाकै लागि तिमीले
यत्रो सपना मनमा बुनेका थियौ ?
के यही व्यवस्थामा रमाउन र
यही व्यवस्थामा कमाउन
लुट्ने भनी हिँडेको रैछौ
तिमी लाजमर्दो परचक्रीलाई
क्रान्ति र कम्युनिस्टको झन्डा समाउन
सब हामी हेरिरहेका छौँ
तिमीले दिएको यो उपहार
सबै फिर्ता गर्नेछौँ एक दिन
तिमीले बनाएको त्यो संसार
रात भएपछि दिन हुन्छ
अन्यायका विरुद्ध न्याय हुन्छ
तिमीले धोका दिएर के भो त !
समय र परिवर्तनले नयाँ सपना र मान्छे चुन्छ ।
अधुरो क्रान्ति पूरा गर्ने क्रान्ति अवश्य सफल हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :