लुकीलुकी किन भेटे प्रधानमन्त्री वलीले भारतीय गुप्तचर प्रमुखलाई ?

प्रधानमन्त्रीको कुर्सी जोगाउन अर्को गम्भीर राष्ट्रघातको आशङ्का !

लुकीलुकी किन भेटे प्रधानमन्त्री वलीले भारतीय गुप्तचर प्रमुखलाई ?

काठमाडौँ : सरकारी नेकपाका प्रथम अध्यक्ष एवम् प्रधानमन्त्री केपी वलीले विशेष विमान लिएर काठमाडौँ आएका भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुख सामन्तकुमार गोयलसँग बुधबार राती २ घन्टा गोप्य भेटवार्ता गरेपछि उनको भेट र गोप्य छलफलप्रति गम्भीर आशङ्का उत्पन्न भएका छन् । नेपालको राष्ट्रियतामाथि निरन्तर भारतीय र अमेरिकी दुई साम्राज्यवादी मुलुकबाट हस्तक्षेप र षड्यन्त्र भइरहेको, भारतीय दबाबपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा पाठ्यक्रममा समावेश गर्न नदिइएकोे, भारतलाई केन्द्र बनाएर अमेरिकाले राष्ट्रघाती एमसीसी परियोजना लाद्न लागेको, सरकारी नेकपाले उक्त सम्झौता पारित गर्ने निर्णय गरिसकेको, हालै मात्र केपी वलीका गृहमन्त्री रामबहादुर थापाले विद्रोहीलाई निस्तेज पार्ने धम्की दिएको र सरकारी नेकपाभित्रै गम्भीर विवाद चुलिएको समयमा वलीले ‘र’ का प्रमुखलाई गोप्य रूपमा भेट्नु, भेट तथा छलफलका विषय गुमराहामा राख्नु र भेटपछि वलीद्वारा जारी शुभकामना सन्देशमा नेपालको लिम्पियाधुरा क्षेत्र काटिएको नक्सा सार्वजनिक गरिनुलाई अत्यन्त रहस्यमय र देशमाथि गम्भीर षड्यन्त्रका रूपमा लिइएको छ ।

नेपालमाथि इतिहासदेखि नै निरन्तर भौगोलिक, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत अतिक्रमण जारी राखेको भारतले नेपालसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नसमेत आनाकानी गरिरहेको समयमा ‘र’ का प्रमुख गोयल अचानक नेपाल आएर प्रधानमन्त्री वलीलगायत उच्चपदस्थ व्यक्तिहरूलाई भेटेका छन् । गोयलले नेपालमा गरेको गोप्य र रहस्यमय नेपाल भ्रमण र उनले वलीलगायत सरकारी, पूर्वसरकारी पार्टीका नेतासँग गरेको भेटवार्ताका विषयमा गम्भीर बहस आरम्भ भएको छ । स्मरणीय छ, यस्तो विवाद र आशङ्काका बीचमा नेपाल सरकारको निमन्त्रणामा भारतीय स्थल सेनध्यक्ष नेपाल आउने र उनलाई विशेष सम्मान प्रदान गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ ।

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘र’ का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित ७ जनाको टोली बुधबार काठमाडौँ आएको थियो । वलीलगायत सरकारी पार्टीका नेतालाई मन्त्रणा गरी ‘र’ का प्रमुख गोयल बिहीबार बिहानै भारतीय एयरफोर्सको चार्टर विमानबाट फर्किसकेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

वली र ‘र’ का प्रमुखका बीचमा भेटघाट भएलगत्तै प्रधानमन्त्रीबाट जारी सन्देशमा संसद्ले सुधारेर सार्वजनिक गरेको नेपालको नक्साबाट नेपाली भूमि लिम्पियाधुरासहित गायब पारिएको भन्दै यसलाई दुर्घटना मात्र नभनेर षड्यन्त्र नै मान्नुपर्ने तर्क अघि सारिएको छ । ‘र’ का प्रमुखसँगको भेटपछि प्रधानमन्त्री वलीले दसैँको शुभकामनासहित जारी गरेको सन्देशमा प्रयोग गरिएको नेपालको निशानमा लिम्पियाधुरा हटाइएको पुरानो नक्सा छापिएपछि सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यमहरूमा त्यसको व्यापक विरोध भइरहेको छ । सरकारले यसका बारेमा कुनै प्रतिक्रिया जारी नगरेपछि यो दुर्घटनाभन्दा पनि सुनियोजित षड्यन्त्रको प्रतिफल रहेको भन्दै चौतर्फी आलोेचना भएको हो । स्मरणीय छ, तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भारतको भ्रमणबाट फर्किएपछि नेपालका सम्पूर्ण नदीहरू साझा हुन् भन्ने विज्ञप्ति जारी गरेका थिए र त्यसको पनि व्यापक आलोचना भएको थियो ।

यसअघि भारतले नेपाली भूभागसहितको राजनीतिक नक्सा जारी गरेपछि नेपालमा ठूलो आन्दोलन नै भएको थियो । जनदबाब र सङ्घर्षपछि वली सरकार बाध्य भएर लिम्पियाधुरा क्षेत्रसहितको नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सालाई संविधान संशोधन गर्दै सङ्घीय संसद्ले पास गरिसके पनि वली सरकारले पाठ्यक्रममा राख्न नदिएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

यसैबीच नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले नेपालका प्रधानमन्त्री केपी वलीले भारतीय गुप्तचर निकाय ‘र’ का प्रमुख सामन्तकुमार गोयलसँग भेट गर्नुले कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको टिप्पणी गरेका छन् । नेता किरणले विज्ञप्ति निकालेर यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएको टिप्पणी पनि गरेका छन् ।

‘त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेट्ने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभास दिन्छ’, किरणले विज्ञप्तिमा भनेका छन् ।

एता नेपाली काङ्ग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले पनि ‘र’ का प्रमुख गोयलसँगको गोप्य मन्त्रणापछि वलीले जारी गरेको सन्देशमा नेपालको लिम्पियाधुरासहितको नक्साबाट नेपाली भूगोल नभएको नक्सा जारी गरिनु दुर्घटना मात्र नभएको टिप्पणी गरेका छन् ।

स्मरणीय कुरा के छ भने भारत र पाकिस्तानबीच पछिल्लो समयमा कास्मिरलगायत विवाद चर्किएको छ भने चीन र भारतका बीच त सीमाविवादलाई लिएर घम्साघम्सी नै परेको छ ।

एकातिर सीमा समस्याका कारण नेपाल–भारत सम्बन्ध सुमधुर हुन नसकिरहेको र अर्कातिर कोरोना सङ्क्रमणका बिरामीलाई उपचार नगर्ने सरकारी निर्णयविरुद्ध २१ वामपन्थी दल सडक सङ्घर्षमा निस्किएको, यही विषयलाई लिएर विद्रोही नेपाल कम्युनिस्ट पार्टीले यही कात्तिक १५–२० सम्म सङ्घर्षका विशेष कार्यक्रम सार्वजनिक गर्नासाथ ‘र’ का प्रमुखले प्रधानमन्त्री वलीसँग २ देखि ३ घन्टासम्म गोप्य छलफल गर्नुले धेरै किसिमका आशङ्का जन्माएको छ ।

‘र’ प्रमुख गोयलको भ्रमण र भेटवार्तालाई लिएर सत्तारूढ दलकै कतिपय नेताहरूले समेत आपत्ति जनाइसकेका छन् । पूर्व गृह र रक्षामन्त्रीसमेत रहेका सरकारी नेकपाका नेता भीम रावलले त प्रधानमन्त्री केपी वली र भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुख सामन्तकुमार गोयलबीचको भेटलाई आपत्तिजनक र कूटनीतिक मर्यादाविपरीत भएको दाबी नै गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार वली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै रावलले ट्विटमार्फत विरोध गरेका थिए ।

सरकारी निकायबाट भएको राष्ट्रघात, जनघातलगायत हर्कतविरुद्ध कार्यगत एकता गरी सडक सङ्घर्षमा उत्रिएका २१ दल र नेकपालाई लक्षित गरी सरकारले कठोर बन्ने निर्णय गरेसँगै ‘र’ का प्रमुखसँग प्रधानमन्त्रीको गोप्य मन्त्रणा रहस्यमय र षड्यन्त्रपूर्ण भन्दै जनस्तरबाटै व्यापक आलोचना भइरहेको छ । जारी सङ्घर्षले यसको छिनोफानो गर्ने विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :