वलीको ‘कर्णाली कू’ असफल भएपछि दाहाल–वली सम्बन्ध फेरि बिग्रियो

वलीको ‘कर्णाली कू’ असफल भएपछि दाहाल–वली सम्बन्ध फेरि बिग्रियो

काठमाडौँ : सरकारी नेकपाका प्रथम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी वलीको पुष्पकमल दाहालको कोटाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाएर आफ्ना विश्वासपात्र यमलाल कँडेललाई मुख्यमन्त्री बनाउन अविश्वास प्रस्ताव नाउँको ‘कू’ प्रयास असफल भएपछि फेरि पनि दाहाल र वलीबीचको सम्बन्ध चिसिएर संवादहीनता अर्थात् बोलचाल बन्दको अवस्थामा पुगेको छ । कर्णालीमा वलीको कू प्रयासलाई दाहाल र माधव नेपाल पक्ष मिलेर भागशान्ति जनयनेपाल गरी तुहाइदिएका थिए । सत्ता र पार्टीका सबै क्षेत्रमा मनलागी गरिरहेको वली पक्ष यतिबेला घाइते बघिनीजस्तो बनेर यो पराजयको पीडाको बदला लिन दाहाल–नेपाल समूहविरुद्ध अर्को गम्भीर योजना निर्माण गरिरहेको स्रोतहरू बताउँछन् ।

कर्णालीको असफल कू तत्कालका लागि टरे पनि वली पक्षले अविश्वास प्रस्ताव फिर्ता नभएको सन्देश दिएर दाहाल र नेपाल पक्षका विरुद्ध घाँटीमा तरबार तेस्र्याइरहेको छ भने दाहाल–नेपाल पक्ष कर्णालीमा मुस्किलले वलीको कू प्रयास विफल पारे पनि अन्यत्र योभन्दा ठूलो कू हुने आशङ्कामा पिल्सिइरहेको छ । कर्णाली कू असफल भएपछि यसलाई सामान्य बनाउन केपी वलीले दाहाललाई बालुवाटार बोलाएको र दाहालले नआउने जबाफ पठाएको सार्वजनिक भएपछि दुई समूहबीच केही दिनअघिसम्म पार्टीफुटनजिक पुगेर भर्खरै टालिएको अविश्वास र षड्यन्त्रको खाडल अझै बढेर फुटतर्फ अग्रसर भइरहेको विश्लेषकहरू बताउँछन् । वलीले त दाहालले अर्को पार्टी सञ्चालन गरिरहेको सङ्गीन आरोप नै लगाएका छन् । यो आरोप मात्र नभएर वास्तवमा वली र दाहाल दुवै समूहका लागि सत्य हो । सरकारी नेकपा बाहिर देखिँदा एउटा पार्टीजस्तो लागे पनि गुट–समूहहरूको महासङ्घ बनेको छ । केही गुटहरूको नेतृत्व वलीले र केही गुटहरूको नेतृत्व दाहाल–नेपालले गर्दै आएका छन् ।

यसैबीच कर्णाली मात्र नभएर एक, तीन र पाँच नम्बर प्रदेशमा पनि गुटहरूबीच भित्रभित्रै षड्यन्त्रका तानाबानाहरू बुन्न रोकिएको छैन । केही दिनअघि प्रदेश सरकारका देखिएको विवाद मिलाउन भन्दै काठमाडौँ आएका कर्णालीका सरकारी पार्टीका नेताहरू आआफ्ना गुटका नेताहरूको घरमा धाइरहेका देखिन्छन् । कर्णालीको विवाद स्थायी रूपमा मिलाउन भन्दै प्रधानमन्त्री वलीले द्वितीय अध्यक्ष दाहाललाई शनिबार बालुवाटार बोलाएका थिए तर दाहालले वलीलाई ‘तपाईं आफैँ छलफल गर्नोस्, म आउँदिनँ’ भनेर चरम असन्तुष्टि प्रकट गरेको स्रोतहरूले जनाएका छन् ।

दाहाल कोटाका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध वली पक्षले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेपछि सरकारी नेकपा फेरि तलदेखि नै चरम गुटबन्दी चर्किएर फुटतर्फ उन्मुख भएको थियो । षड्यन्त्र, गुटबन्दी र एकले अर्को पक्षलाई सिध्याउने खेलका बीच चलिरहेको सरकारी नेकपाको विवाद अन्ततः फुट, विभाजन र समाप्तितर्फ अघि बढिरहेको विश्लेषकहरूको मत छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :