अखिल क्रान्तिकारी नवलपरासीद्वारा विरोध प्रदर्शन

अखिल क्रान्तिकारी नवलपरासीद्वारा विरोध प्रदर्शन

काठमाडौँ : अखिल क्रान्तिकारी नवलपरासीले विरोध प्रदर्शन गरेको छ । नेपालको राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप र सम्झना कामीलगायत देशभर भएका बलात्कारपछिको हत्याविरुद्ध क्रान्तिकारीले प्रदर्शन गरेको हो ।

देशमा सामाजिक दलाल पुँजीवादले सत्ता सञ्चालन गरेको र यो सत्ताले जनताको कुनै पनि अधिकार सुनिश्चित नगर्ने, उल्टै जनताको अधिकार खोसी मोजमस्ती गरिरहेका संसद्वादी दलका नेताहरू गफ मात्र गर्ने र जनतालाई भ्रम उत्पन्न गर्ने काम गरेको अखिल क्रान्तिकारी नवलपरासीका संयोजक सुशील परियारले बताए ।

कार्यक्रममा उनले सरकार कमजोर भएका कारण विदेशी साम्राज्यवादी शक्तिहरूले हाम्रो राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप गर्दै आएको र केपी वली सरकार सम्पूर्ण रूपमा असफल भएको बताएका थिए । समाजमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, विभेदलगायत घटना दिनप्रतिदिन बढ्दै जानुको मुख्य कारण दलाल पुँजीवादी राज्यव्यवस्था र सरकार रहेको उनको भनाइ थियो । समाजमा हुने हत्या, हिंसा, अन्याय, अत्याचार, विभेदलगायत घटनाहरूको अन्त्य एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी सत्ताले मात्र गर्नसक्ने परियारले बताए ।

उक्त कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला सहसचिव सुवास शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :